✍️ सूर्य लाकोजू

अरूको प्रगति हुँदा ईर्ष्याको हुरी चलाउनेहरू,
आनन्द लिंदै विषको अन्न मुरी फलाउनेहरू ।
अवश्य ढल्नेछ एकदिन ती घण्टाकर्ण जस्तै,
अरूको स्वाभिमानमाथि छुरी चलाउनेहरू ।

नाइनाइ भन्दाभन्दै केही दिन्छु भन्यौ तिमीले,
तिम्रालागि सुख ऐश्वर्य किन्छु भन्यौ तिमीले ।
दिन चाहीं केही दिएनौ मात्र लिने ध्याउन्न,
पित्तलको बदलामा सुन लिन्छु भन्यौ तिमीले ।

तिम्रा लागि हाँसीहाँसी काँडामा नि टेकिदिन्छु,
हुरी आए तिम्रो सामु पहाड बनी छेकिदिन्छु ।
भनेर हेर एकपटक मेरो नजिक आई तिमी,
जीवनभरको माया पनि तिमै्र नाममा लेखिदिन्छु ।

वचन जस्तै कर्म पनि मीठो भए जाती हुन्थ्यो,
भनेको वचन पुरा गर्दा तिम्रो छाती चौडा हुन्थ्यो ।
ठूलो कुरा बोल्नु मात्र होइन साथी आजकल ।
बोलेको पुरा गर्या भए जीवन फूलपाति हुन्थ्यो ।

भो नउप्काऊ बसिसकेका घाउका खाटाहरू,
पर्खंदैछन् तिमीलाई नै खेतबारीका पाटाहरू ।
गल्ती हुन्छन् मान्छेबाटै सुधार्ने नि मान्छे नै हो,
फर्केर आऊ सम्झंदै बिर्सिएका ती बाटाहरू ।

 

प्रतिक्रिया

सम्बन्धित खवर