✍️ सूर्यप्रसाद लाकोजू

“ए कमाल रिक्सा खाली छ ?” मैले पछाडिबाट बोलाएँ कमाललाई ।
“छ हजुर ।” उसले जवाफ फर्कायो ।
“सिमेन्ट दुई बोरा घरमा पु-याउनुप-यो भाइ ।”
“हुन्छ दाइ, कहाँबाट लानु पर्ने हो ?”
“समीर साहुको पसलबाट हो भाइ ।”

उसको रिक्सा मानिस बोक्ने होइन । सामान बोक्ने हो । त्यसो त बसपार्कमा लाइनै सामान बोक्नका लागि रिक्साहरू राखिएका हुन्छन् । मलाई भने कुनै सामान घर लानु प-यो की कमाल भाइकै सम्झना आउँछ । कमाल भाइले ममाथि के कमाल ग-यो थाहा छैन । तर उसको रिक्सामा सामान लान मनपर्छ मलाई । सामान लैजान कहिल्यै मोलमोलाई गर्दैन ऊ । दुई बोरा सिमेन्ट लोड गरेर घरसम्म पु-याएपछि मैले सोधेँ । “कति पैसा चाहियो भाइ ?” मेरो प्रश्नको उसले सहजै उत्तर दियो, “हेरेर दिनुस् न दाइ ।” “हेरेर भन्या कति ? यति चाहियो भन न ।” सधैँ झैँ मैले भनेँ । ऊ चुप लाग्यो । मैले सयको र पचासको एउटा नोट हातमा थमाउँदै भनेँ, “पुग्छ ?” मुसुक्क हाँसेर उसले भन्यो, “पुग्छ दाइ ।”

कमाल भाइ यताको होइन । डाँडापारिबाट यता कामकै लागि झरेको थियो । विगत दुई वर्षदेखि सामान ओसार पसार गर्नुप¥यो भने उसलाई सम्झने गरेको छु मैले । सुरुमा त उसका बारेमा केही थाहा थिएन । पछि भने कमाल भाइका बारेमा धेरै कुरा थाहा पाएपछि ऊप्रति स्नेहको कहिल्यै नसुक्ने मूल फुटेको छ मनमा । सबैले उसलाई कमाल भाइ भन्छन् । तर उसको आमाबाले राखेको नाम भने प्रह्लाद हो । यो नाम यता आएपछि पाएको हो उसले । तिमीले यहाँ आएर के कमाल देखायौ र यहाँका मानिस तिमीलाई कमाल भनेर बोलाउँछन् भन्दै कहिलेकाहीँ जिस्क्याउने गरेको छु मैले उसलाई ।

हरेक विहान सूर्यदेव पूर्वबाट उज्यालो छर्दै आउँछन् । संसारभर आलोकित बन्दै आफ्नो दरिलो उपस्थिति जनाउँछन् । तर उसको मनको अन्धकार नाश गर्ने सूर्य भने मैले अहिलेसम्म झुल्किएको देखिन । उसको मनभित्रसम्म पस्ने सूर्य सायद आएको छैन जीवनमा । भनिन्छ मान्छेको मनको प्रतिबिम्ब मानिसको मुहार हो । तर उसको मनमा छाएको अँध्योरो उसको मुहारमा मैले कहिल्यै देखिन । मनमा जतिसुकै ताप भए पनि उसको अनुहार भने हँसिलो ।

कमालको परिवारमा अहिले दुईजना मात्र छन् । ऊ र उसको भाइ प्रमेश । ऊ १३ वर्षको छँदा उसको भाइ ११ वर्षको थियो । अघिल्लो दिन हल्का पानी परेको थियो । त्यसैले भोलिपल्ट उनीहरूका बाआमा बारीमा मकै छर्दै थिए । अचानक सुख्खा पहिरो आयो । त्यही पहिरोले लग्यो दुबैलाई । उनीहरू टुहुरो भए । पहिरोले आमाबासँगै उनीहरूले खनिखोस्री गरी खाने बारी पनि लग्यो ।

भोको पेट बाँचिन्न । संसारमा बाँच्नका लागि खानै पर्छ । त्यसैले ती दुई दाजुभाइ यता आएका थिए । बजारभित्र भुइँतलामा डेरा छ उसको । त्यहीँ बस्छन् दुई भाइ । कोठा चिसो र अलिक अँध्यारो छ । तर उनीहरूलाई केही फरक परेको छैन । दुबै जना दिनभर कोठामा हुँदैनन् । भाइ स्कुल जान्छ, ऊ काममा ।

कमाल भाइसँग पहिलो भेट यतै बसपार्कतिर भएको हो, कामकै सिलसिलामा । त्यसपछि केही काम प-यो भने उसैलाई भन्ने गरेको छु । अहिले त उसँग सानो मोबाइल पनि छ । उसलाई भेट्न बसपार्क पुग्नु पर्दैन मलाई । फोनबाटै बोलाउने गर्छु । उसँगको पहिलो भेटपछि हामी माझ अलि खुल्न थाल्यो । एकपल्टको भेटमा उसलाई मैले सोधेँ, “तिमी आफू काम गरेर भाइलाई पढाउँदै छौ । तिमीलाई पढ्न मन छैन ?” मेरो प्रश्न सुनेर कमाल भाइ अलि गम्भीर बन्यो ।

लामो सुस्केरा हाल्दै विस्तारै बोल्यो, “किन मन नलाग्नु साहुजी । आमाबाको सपना त दुबैलाई पढाएर ठूलो मान्छे बनाउने थियो नि, तर के गर्ने दैवको लीला……। मैले पढ्न नपाए नि भाइलाई पढाउने र ठूलो मान्छे बनाउने इच्छा छ । मैले कमाइन भने बिहान बेलुका मुखमा माड लाग्दैन । फेरि भाइलाई पढाउन पनि प¥यो ।” मेरी श्रीमतीले चिया ल्याइदिइन् । मैले भने, “चिया खाऊ । ” अप्ठ्यारो मान्दै उसले भन्यो “पर्दैन साहुजी ।” उसको अप्ठ्यारोपनलाई कम गर्ने प्रयास गर्दै भनेँ मैले, “अप्ठ्यारो मान्नु पर्दैन खाऊ ।” उसले विस्तारै चियाको कप आफूतिर तान्यो अनि चियाको सुर्को लिन थाल्यो । मैले फेरि सोधेँ, “अनि यो रिक्सा आफ्नै हो की ?”

“होइन, साहुको हो ।”
“ साहुलाई कति तिर्नुपर्छ?”
“दिनको पाँच सय साहुले लिन्छ ।”
“अनि दिनभरमा त्यति पैसा कमाउन सकिएन भने नि ।”

“तैपनि तिर्नुपर्छ, साहु मान्दैन । आज कमाइ भएन भन्यो भने बढी कमाइ हुँदा मलाई बढी बुझाएको छस्? भन्नुहुन्छ । त्यही भएर जहिले पनि पाँच सय नै बुझाउने गरेको छु ।”

कमालको कुरा सुनेर एकछिन त साहु देखेर रिस पनि उठ्यो । तर उसको सङ्घर्ष काल्पनिक कथाको कुनै पात्रको जस्तै लाग्छ मलाई । आमाबा नभएका दुई टुहुरा । जेठो दिनभर रिक्सामा दौडन्छ । भाइलाई ठूलो मान्छे बनाउन स्कुल पठाउँछ । त्यो भाइका लागि बाआमा दुबैको स्नेह दिएको छ कमालले । बाआमा नहुनुको पीडा कमाललाई थाहा छ । त्यसैले पनि भाइका लागि जस्तोसुकै सङ्घर्षमा होमिन पनि पछि पर्दैन ऊ ।

आफ्नो पेट पाल्न र भाइ पढाउन आएको उसले यहाँको सडकमा आफ्नो रिक्सा दौडाएको पनि लामो समय वित्यो । यहाँका हरेक सडक, गल्लीका बारेमा थाहा छ उसलाई । सामान बोक्दा भने, भने जतिको ज्याला दिँदैनन् कमाललाई । सय रुपियाँ दिन्छु भनेर सामान बोकाएर पचास रुपियाँ मात्र थमाउने पनि कयौँ छन् । रिक्साको भाडा साहुलाई बुझाएपछि खान, डेराको भाडा तिर्न, भाइको पढाइ खर्च सबै बचेको पैसाबाट पु¥याउनुपर्छ उसले ।

एक दिन बिहान सबेरै मैले कमाल भाइलाई फोन गरेर भनेँ, “भाइ, गङ्गा साहुको पसलबाट दुई बोरा चामल लिएर आउनु है । पैसा दिइसकेको छु । म फोन गरिदिन्छु ।” उताबाट आवाज आयो, “हस् ।” केही समयपछि चामलका दुई बोरासहित कमाल र उसको एकजना साथी आइपुग्यो । मसँग कहिल्यै यति पैसा चाहियो नभन्ने उसलाई मैले दुईसय रुपियाँ दिएँ । उसले पचासको नोट मलाई फर्काउन खोज्यो । मैले पर्दैन तिमी नै राख भनेँ । उसले बिदा माग्दै भन्यो, “गएँ हजुर ।” मैले उसलाई रोक्दै भनेँ, “तिमी एकछिन पर्ख । तिमीसँग मेरो एउटा काम छ ।” यति भनेपछि उसले साथी चाहिँलाई जान इशारा ग¥यो । उसँगै आएको साथीले रिक्सा डोह¥याउँदै लग्यो । बिहानको समय थियो । सदाझैँ मेरी श्रीमतीले चिया ल्याइन् । चिया पिउँदै थियौँ हामी । एकै छिनपछि मैले उसलाई भनेँ, “तिम्रो आफ्नै रिक्सा भयो भने त साहुलाई ज्याला दिनु पर्दैनथ्यो नि है ।” मतिर हेर्दै उसले भन्यो, “हो नि हजुर ।”

“तिमीले आफूले कमाएको पैसाबाट एउटा रिक्सा किनेको भए हुन्थ्यो नि ।” मेरो सुझाउ सुनेर मसिनो स्वरमा बोल्यो, “हुन त हुन्थ्यो नि हजुर । तर कमाएको पैसाले साहुलाई दिन र खानलाई ठिक्क छ । अनि भाइलाई कापी, कलम भन । त्यही त हो नि ।” उसको यो अवस्थाबाट म अनभिज्ञ भने थिइन ।

उसको भाइ बिरामी पर्दा औषधि किन्ने पैसा नभएर मसँग सापट मागेर लगेको थियो उसले । पछि फिर्ता पनि गरेको थियो । बसाइकै क्रममा मैले उसलाई भनेँ, “आज म तिमीलाई दुईटा उपहार दिनेछु भाइ । तिमी लिन्छौ होइन्?” उसले आफ्नो अनुहारको उज्यालो रङ्ग मतिर छर्दै भन्यो, “म यहाँ आएको यतिका वर्ष वित्यो । हजुरले सबैको भलो सोच्नु हुन्छ । कुभलो कसैको गरेको थाहा छैन । तपाइँ जस्तो मान्छेले जे दिनुभए नि आशीर्वाद सम्झेर लिन्छु ।”

“ल, तिम्रोलागि मैले नयाँ रिक्सा ल्याइदिएको छु ।”

“अनि….. पैसा …साहुजी……….।” आश्चर्य मिश्रित उसको बोलि निस्कियो ।

“पैसा, भाडा, ज्याला केही चाहिँदैन कमाल । मेरा मातापिताको स्मृतिमा तिमीलाई दिएको उपहार हो यो । अब साहुलाई भाडा तिर्नुपर्छ भन्ने पीर पनि हट्यो ।” उसको खुशी अकासिएको कुरा उसको अनुहारले बताइरहेको थियो । मलाई धन्यवादको स्वरमा उसले भन्यो, “हजुरको यो गुन केही गरेर पनि म तिर्न सक्दिन । तपाईको सदा जय होस् ।”

“कुरा पनि खुब जान्ने भएछौ भाइ । राम्रोसँग काम गरेर भाइलाई पढाऊ अनि ठूलो मान्छे बनाऊ, यति भए पुग्छ मलाई ।” उसलाई मैले अर्को सरप्राइज गिफ्ट दिनु थियो । त्यसैले मैले उसलाई भनँे, “अर्को उपहार झन् तिम्रो लागि ठूलो छ ।” मेरो कुरा सुनेर उज्यालो उसको अनुहार झन् उज्यालो भयो ।

उसलाई मैले भने, “भाइ, तिम्रो भाइ प्रमेशको लागि मैले अनाथालयमा कुरा गरेको थिएँ । तिमीहरूको कुरा सुनेर त्यहाँको सरले तिम्रो भाइलाई लिएर आउनु भन्नुभएको छ । अबदेखि तिम्रो भाइ उतै बसेर पढ्छ । भाइलाई एसइइसम्म पढाइदिन्छन् ।” अघिसम्म उज्यालिएको अनुहारमा एकाएक कालो बादलले ढाकेजस्तो भयो उसको अनुहार । अचानक के भयो उसलाई? छक्क पर्दै मैले सोधेँ, “ किन, के भो कमाल तिमीलाई? किन मुख निन्याउरो बनाएको भाइ ?”

“हजुरहरूको हामीमाथि ठूलो गुन छ । हामी आमाबुबाको मायाबाट सानैमा विमुख हुनुप-यो । यता आउँदा हजुर जस्तो देउता भेटेर हाम्रो जीवन सहज बन्यो । तर भाइँसँग छुट्टिएर कसरी बसौँ ?”

“केही समय त हो । उसको जिन्दगी नि बन्छ । तिमीलाई पनि यता आफ्नो बारेमा मात्र सोचे पुग्यो ।”

“हामीले सानैमा आमाबा गुमायौँ । बाआमाको मायाबाट हामी दुबै भाइ विमुख भयौँ । जिन्दगीको यो यात्रामा हामी दुईभाइ एकअर्काको भरमा छौँ । हामी सानैदेखि सँगै बस्यौँ, खेल्यौँ, हुर्कियौँ । एकअर्कासँग हामी कहिल्यै अलग भएका छैनौँ । भाइसँग छुट्टिएर म बस्न सक्दिन हजुर । भाइसँग टाढा रहेर हरेक दिन मरेर जिउन सक्दिन म । केही गरी म बस्न सके पनि भाइ मविना बस्दैन साहुजी ।”
“तिमीहरूलाई छुट्याउन खोजेको होइन मैले…..।”

बीचैमा उसले बोल्यो, “हजुरहरूको आशीर्वाद भए म भाइलाई यतै आफूसँगै राखेर राम्रोसँग पढाउन सक्छु । के हजुरलाई मेरो बोलीमाथि विश्वास लाग्दैन?” “लाग्छ, किन नलाग्नु ।” मैले उसलाई आश्वस्त पार्न खोजेँ ।

म रिसाउला भन्ने पनि ठूलो डर छ उसलाई । त्यसैले उसले भन्यो, “हजुर रिसाउनु त भएको छैन नि ?”
“छैन, किन रिसाउनु तिमीसँग ।”

“यति भए पुग्छ मलाई । आफूले देउता जस्तै सोचेको मान्छे नरिसाए पुग्छ मलाई । त्यसमाथि भाइ आफ्नै साथमा भएपछि मेरो संसार सुन्दर बन्छ । हजुरको आशीर्वाद र भाइको साथ भए जुनसुकै चुनौतीसँग पौँठेजोरी खेल्ने आँट पलाउँछ मनभरि ।”

“धत ! मान्छेलाई नि देउता भन्छन्? ठिक छ । राम्रोसँग काम गर्नू । भाइलाई पढाउनु । केही परे आउनु ।” मैले यति भनेपछि ऊ जुरुक्क उठ्यो । नमस्ते गर्दै नयाँ रिक्सा लिएर अगाडि बढ्यो । मैले आँखाबाट ओझेल नहुन्जेल उसलाई हेरिरहेँ । उसले जिन्दगीमा ठूलो पाठ सिकाएर गयो । मानिस बाँच्नका लागि भौतिक सुविधा मात्र पर्याप्त छैन । सफलता पैसाको जगमा मात्र ठडिँदैन । कति ठूलो उसको सोचाइ ! मान्छेको उमेरभन्दा ठूलो छ उसको विचार, सगरमाथाजस्तै । उसको अगाडि मेरो विचार भने होचो बन्दै गएको अनुभूत भयो मलाई ।

प्रतिक्रिया

सम्बन्धित खवर