– सूर्यप्रसाद लाकोजू
तिहार समस्त नेपालीहरूको दोस्रो महान चाड हो । यो चाड नेपालको मौलिक चाड हो । यो जाड समस्त नेपालीहरूले आ–आफ्नै तरिकाले मनाउँदै आएका छन् । यहाँका नेवारहरू यो पर्वलाई स्वन्ति नखः भन्ने गर्दछन् । तिहार पर्व फूलको पर्व पनि हो । नेपाल भाषामा त्यसैले यस पर्वलाई स्वन्ति नखः भन्ने गरिन्छ । फूललाई नेपाल भाषामा स्वाँ भनिन्छ । फूल धेरै हुने समयमा मनाइने चाड भएकोले यस पर्वलाई स्वाँः न्ति नखः भनिएको हुन सक्छ । त्यही स्वाँः न्ति नखः पछि अपभ्रंस भएर स्वन्ति नखः हुन गएको हुन सक्दछ । हुन त छिमेकी राष्ट्र भारतमा पनि यही समयमा त्यौहार भनेर मान्ने चलन रहेको छ । तर उनीहरूले मान्ने त्यौहार र हामीले मान्ने तिहारबीच अन्तर छ । तिहारमा बाल्ने पालाचा, मखमली, सयपत्री जस्ता फूलको प्रयोग, सेलरोटी, भाइटीका आदिको चलन नेपाली समाजमा पाइएको छ । यमपञ्चक अर्थात् पाँचदिनसम्म मनाइने यो पर्वको आफ्नै विशेषता रहेको छ । यमपञ्चकको पाँच दिन यमराज आफ्नी बहिनी यमुनासँग बस्ने भएकोले यमपञ्चकको पाँच दिनमा स्वर्गारोहण हुने मानिसले नरक भोग गर्न नपर्ने धार्मिक मान्यता रहेको छ ।
यमपञ्चकको पहिलो दिन अन्यत्र कागलाई देवता मानेर पूजा गर्दछन् । नेपाली समाजमा कागलाई सन्देशबाहक पक्षी मान्ने पुरानो चलन छ । त्यस्तै कागले कुनै पनि घट्नाको पूर्व सूचना दिन्छ भन्ने मान्यता पनि रहेको छ । धार्मिक मान्यताअनुसार कागलाई यमराजको सन्देश सुनाउने पक्षी पनि मान्ने गरिन्छ । यसले बालीनालीमा लाग्ने हानिकारक कीरा, फट्याङ्ग्राहरू खाइदिने उपयोगी चरा पनि मानिन्छ । वास्तवमा मानव सभ्यताको विकाससँगै मानव जीवनका लागि उपयोगी जनावर, पंक्षिलाई समेत पूजा गर्दै आएको देखिन्छ । मानिसका लागि उपयोगी भएकै कारण कागलाई तिहारको पहिलो दिन पूजा गर्ने चलन चलेको हुनुपर्छ । यस दिन कागलाई अन्य दिनको तुलनामा मनपर्ने मीठा खानेकुरा खुवाउने चलन छ ।
यमपञ्चकको दोस्रो दिन कुकुरको पूजा गर्ने प्रचलन छ । यो दिनलाई नरक चतुर्दशी पनि भन्ने गरिन्छ । कागजस्तै कुकुर पनि मानिसको लागि उपयोगी जनावर हो । कुकुर मानिसजस्तै समाजमा मिलेर बस्न सक्ने प्राणी हो । कुकुर मानिससँग सजिलै मिलेर बस्न सक्ने प्राणी हो । कुकुरको चरित्र स्वामिभक्त हुनु हो । कुकुर इमान्दार प्राणी हो । कुकुरले विभिन्न किसिमले मानिसको सुरक्षा गर्दछ । अपराधिहरू पक्राउ गर्ने काममा समेत कुकुरको प्रगोग हुने गर्दछ । कुकुरलाई पनि यमदूतको रूपमा लिइने चलन छ । प्राकृतिक प्रकोपको पूर्व सूचना पनि कुकुरले दिने गर्दछ । त्यसैले यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने गरिन्छ ।
यमपञ्चकको तेस्रो दिन अर्थात् औँशीको दिन गाईलाई लक्ष्मीको रूपमा पूजा गर्ने चलन छ । गाईको पूजा गर्ने तिहारको यस दिनलाई गाईतिहार पनि भन्ने गरिन्छ । यस दिन बिहान सबेरै उठेर नुहाई शुद्ध भई गाईको पूजा गरी घरमा बनाइएका विभिन्न परिकार गाईलाई खुवाउने चलन रहेको छ । हिन्दू धर्ममा गाईलाई गौ माता भन्ने गरिन्छ । हाम्रो समाजले गाईलाई पशुधन मानेको छ । गाईलाई पवित्र मानेकै कारण घरशुद्ध गर्नका लागि गाईको गोबरले घर लिप्ने, पोत्ने गरिन्छ । आफन्तको स्वर्गारोहणपश्चात् शुद्ध बन्न गौमुत्रको सेवन गर्ने चलन रहेको छ । गाईले हामीलाई आमाले जस्तै दुध दिने भएकोले पनि हाम्रो समाजमा गाईको ठूलो महङ्खव रहेको छ । यति मात्रै होइन, गाई मरेपछि पनि हाम्रालागि उपयोगी प्राणी हो । हामीले प्रयोग गर्ने टाँक, छालाका सामानहरू गाईको हाड र छालाबाट बनेका हुन्छन् । यसरी जिउँदो हुँदा मात्र होइन मरेपछि पनि काम लाग्ने जनावर हो गाई । आजको दिन गाईलाई लक्ष्मीको रूपमा पुज्ने प्रचलन छ ।
आजकै साँझ घरघरमा लक्ष्मी भिœयाउने काम हुन्छ । घरमा लिपपोत गरी, शुद्ध बनाई साँझमा देवीलक्ष्मीलाई घरमा भित्र्याउने चलन यहाँ छ । यस दिनको साँझपख घरको पूजाकोठामा लक्ष्मीको प्रतिमा स्थापना गरी देवी लक्ष्मीको आराधना गरिन्छ । लक्ष्मीलाई धनधान्यकी देवी मानिन्छ । सुख, सम्पत्ति र ऐश्वर्यको अभिबृद्धिको कामनासहित लक्ष्मीको पूजा, अर्चना गर्ने गरिन्छ । यस दिन दराज, सेफ आदिको पूजा गर्ने प्रचलन रहेको छ ।
नेवार समुदायमा नयाँ डालोमा राखिएको धानमाथि पाथीमा राखिएको नयाँ धानको चामल राखेर त्यसमाथि देवी लक्ष्मीको प्रतिमा राखेर विधिपूर्वक पूजा गर्ने चलन रहेको छ । त्यस दिन घरमा भएका पुराना मुद्राहरू, ढकतराजुको पनि लक्ष्मीपूजा स्थलमा राखेर पूजा गर्ने चलन छ । सो दिन देवी लक्ष्मीलाई मन पर्ने फूल, मिठाई, भोगटे, बिमिरो, अन्य फलफूल राखेर पूजा गरिन्छ । दसैँको नवमीका दिन दसैँघरमा काटेको बोका वा हाँस वा कुखुराको सुकाइराखेको मासुको छुयाला बनाएर देवी लक्ष्मीलाई समय्बजी चढाउने चलन छ । सोही छुयाला र अन्य परिकारसहित प्रसादको रूपमा समय्बजी खाने परम्परा नेवार समुदायमा रहेको छ । आजको रातलाई सुखरात्री भनिन्छ । आजको रात लक्ष्मीलाई खुशी पार्न घरभरि दीयो बाल्ने चलन रहेको छ । आजकै दिन कुमारी केटीहरू घरघर गई भैलो खेल्ने गर्दछन् ।
तिहारको चौथो दिन गोवर्धन पूजा गरी मनाइने चलन छ । आजका दिन आँगनमा गाइको गोबरले लिपपोत गरी गाईकै गोबरबाट पर्वत जस्तै बनाइ पूजा गर्ने चलन छ । यसका बारेमा पनि रोचक धार्मिक आख्यान छ । द्वापरयुगमा गोकुलमा मुसलधारे पानी परेपछि त्यहाँका बासिन्दाहरूलाई पानीबाट जोगाउन श्रीकृष्णले एउटा औंलाले गोवर्धन पर्वत उचालेका थिए । उक्त पर्वत उचालेपछि सोही पर्वतको ओत लागेर पानीबाट बचेको पौराणीक कथा रहेको छ । सोही समयदेखि गोवर्धन पर्वतको पूजा गर्ने परम्परा बसेको मान्यता छ । आजकै दिन गोरुको पनि पूजा गर्ने चलन छ । आजको दिन साँझमा देउसी खेल्ने चलन यहाँ पनि रहेको छ ।
तिहारको चौथो दिन नेपालले जनताकोतर्फबाट नयाँ सम्बत पाएको दिन हो । शङ्खधर साख्वाले गरिब जनतालाई ऋणबाट मुक्त गरेपछि नयाँ सम्बत चलाएका थिए । यही उत्सव नेपालभर मनाउने चलन रहेको छ । बिहान सबेरै घाम झुल्कनु पूर्व नेवार समुदायमा नसंचा हालेगु कार्यक्रम हुन्छ । यो कार्यक्रम बिहान सबेरै नगर परिक्रमा गरेर सम्पन्न हुन्छ । कार्यक्रममा विशेष सन्देश बोकेको गीत गाउँने गरिन्छ । यस कार्यक्रममा गाइने गीतको सानो अँशः
दँ दँ नेपामी लिखा हाल लिबात्
आजु आपा तापा नि द्यना च्वने गात रे ।
अर्थात् नेपालीहरू उठ अन्तिम पल्ट कुखुरा बासिसकेको छ । लक्ष्य अझै टाढा छ । सुत्न पुग्यो । मादलको तालमा यस्तो गीत गाउँदै बजार परिक्रमा गर्दै सबैलाई नयाँ वर्षदेखि नौलो उत्सव, नयाँ जोस र जाँगरका साथ कर्म गर्दै कर्मवादी बन्न प्रोत्साहित गर्ने चलन छ । यो कार्यको नेतृत्व विभिन्न स्थानीय क्लबहरूले गर्दै आएका छन् ।
आजका दिन विशेष गरेर नेवार समुदायका मानिसहरू न्हु दँ या भिन्तुना अर्थात् नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने गर्दछन् । मोटर साइकल र्याली पनि स्थानीय संघसंस्थाहरूबाट हुँदै आएको छ । पछिल्लो समयमा आएर आजको दिन सांस्कृतिक र्याली गर्ने चलन पनि चलेको देखिन्छ ।
आज नेवार समुदायका मानिसहरूका लागि अत्यन्त ठूलो पर्व हो । आजका दिन बेलुका यो समुदायमा म्हःपूजा गर्ने परम्परा छ । कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने यो पर्वको आफ्नै विशेषता रहेको छ । म्हःपूजा नेवार समुदायमा हिन्दू र बौद्ध दुबै समुदायले मनाउने गर्दछन् ।म्हःपूजा नेपाल भाषाको शब्द हो । म्हः भनेको शरीर र पूजा भनेको पुज्ने काम भन्ने हुन्छ । यसरी म्हःपूजालाई अथ्र्याउँदा आफ्नो शरीरको पूजा भन्ने हुन्छ । कसै कसैले म्हःपूजालाई आत्मपूजाको रूपमा पनि लिएका छन् । मानिसभित्र रहेको आत्मा अमर छ, अविनासी छ । मानिसको देह मरेपनि आत्मा कहिल्यै मर्दैन भन्ने धार्मिक मान्यता रहेको छ । म्हःपूजा भनेको पनि त्यही अमर आत्माको पूजा हो भन्ने विचार पनि रहेको छ । मानिस स्वयम् आफूमा ब्रह्माण्ड हो । त्यसैले मानिस स्वयम्ले आफ्नो पूजा गर्दा ब्रह्माण्डको पूजा हुने विश्वास पनि गरिन्छ ।
म्हःपूजा गर्ने समयमा सर्वप्रथम पूर्वतिर फर्कने गरी गाईको गोबरले शुद्ध बनाई लिप्ने गरिन्छ । त्यसपछि लिपेको स्थानमा परिवारको सङ्ख्या अनुसार चामलको पिठोबाट मण्डप बनाइन्छ । परिवारको सङ्ख्या बाहेक तलतिर र माथितिर थप दुईओटा मण्डप लेखिन्छ । यी दुईओटा मण्डपमध्ये माथिल्लो मण्डप कुलदेवताका लागि र तल्लो मण्डप यमराजको लागि लेखिने गर्दछ भन्ने जनभनाई रहेको छ । कसै कसैले गाग्री, नाङ्लो, कुचो आदिका लागि पनि मण्डप बनाउने गर्दछन् । यसरी बनाइएका मण्डपलाई फूल, सिन्दुर, धूप, जजंका आदिले सजाउने गरिन्छ । धूप राख्नका लागि चामलको पिठोबाट बनाइएका मानिसका आकृतिहरूलाई लहरै उभ्याइन्छ । यसरी मण्डप बनाई सकिएपछि परिवारका सबै सदस्यहरू लहरै पलेटी कसेर बस्ने गर्दछन् । यसरी बसेपछि घरको मुलीले शुरुमा सुकुन्दाको पूजा गर्ने चलन छ । त्यसपछि ज्यना लप्टे अर्थात् एक प्रकारको पातमा पूजा गर्ने चलन रहेको छ । त्यसपछि मण्डपमा पूजा गरिन्छ । मण्डपमा कपडाबाट बनेको लामो इता(बत्ती) बालिन्छ । यो करिब एक हात लामो हुन्छ । यसलाई स्थानीय नेपाल भाषामा खेलुइत भन्ने गरिन्छ । बलेको खेलुइतलाई मण्डपको मध्यभागमा राखिन्छ । यो बत्तीलाई निभ्न दिनुहुन्न भन्ने मान्यता रहेको हुन्छ । त्यसैले आ–आफ्नो मण्डपमा रहेको बत्ती आफैले मिलाउने गरिन्छ । यो इता बालेपछि फूल, अक्षेता, ल्वँःचा मारी, अमला, ओखर, ताँय् (धानको फूल), फलफूलका टुक्राहरू लगायतका सामग्रीहरूबाट घरको मुली महिलाले तीनपल्ट माना, करुवा, पाथीबाट आ–आफ्नो चलनअनुसार विशेष प्रकारले परिवारका सदस्यहरूको दायाँ र बायाँ घुँडा, दायाँ र बायाँ काँधमा छुवाएपछि टाउकोमा समर्पण गर्ने अर्थात् चढाएर पूजा गर्ने चलन रहेको छ । त्यसपछि सगुन दिने काम हुन्छ । आजको दिन नेवारहरूले तीन किसिमको सगुन ग्रहण गर्दछन् । दही सगुन, अण्डा सगुन र बिमिरो लगायत फलफूलको सगुन । यसरी सगुन लिँदा शुरुमा बालिएको लामो बत्ती निभ्नु हुन्न भन्ने धार्मिक मान्यता रहेको छ । त्यसैले सो बत्ती लामो राखिएको हो भन्ने भनाइ रहेको छ । खें सगँ अर्थात् अण्डाको सगुन लिंदा अण्डासँगै माछा, मासु, बारा, रक्सी राखिएको हुन्छ । यी पाँच थरीलाई पञ्चतत्वको रूपमा लिइन्छ । यहाँ अण्डाको अर्थ, वायु, माछा जल, बारा आकास र मासु पृथ्वी अनि रक्सी तेजको प्रतीकको रूपमा ग्रहण गर्ने चलन छ । सगुन लिंदा पुरूषहरूले दायाँ हातमा माछामासु र बायाँ हातले रक्सी ग्रहण गर्ने चलन छ भने महिलाहरूले त्यसको ठिक उल्टो दायाँ हातले रक्सी र बायाँ हातले माछामासु ग्रहण गर्ने चलन रहेको छ ।
सगुनको कार्यक्रम सकिएपछि दही सगुन भन्दै घरको मूली महिलाले दहीचिउरा हत्केलामा राखिदिने गरिन्छ । त्यसपछि बिमिरो, भोगते लगायतका फलफूलहरू र त्यसमाथि राखिएका जजंका अर्थात् यज्ञोपवित परिवारका सबैले ग्रहण गर्ने चलन रहेको छ । अन्तमा एउटा बिमिरालाई तलदेखि माथिसम्म गुल्ट्याइने गरिन्छ । त्यही बिमिरो काटेर दहीमा चोपी प्रसाद खाने चलन रहेको छ । म्हःपूजाको कर्म सकिएपछि परिवारका सबै जना मिलेर विविध परिकारसहित भोज खाने चलन रहेको छ ।
म्हःपूजा वास्तवमा आफूभित्र रहेको चेतनाको पूजा हो । ईश्वर मानवभित्र रहेको हुन्छ । आफूभित्र रहेको ईश्वरको पूजा गरेर आफ्नो उद्धारका लागि आफै अघि सर्नुपर्ने सन्देश म्हःपूजाले बोकेको छ । यो चलनले आफ्नो महङ्खव दर्साउँछ । म्हःपूजाबाट जीवनमा नयाँ उत्साह र उमङ्ग थपिने, जीवनमा आइपर्ने चुनौतीहरूसँग लड्न सक्ने शक्ति मिल्ने जनविश्वास रहेको छ ।
यमपञ्चकको पाँचौं दिन नेपालीहरू माझ भाइटीकाको रौनक छाएको हुन्छ । नेपाल भाषामा आजको दिनलाई किजापूजा भनिन्छ । आजका दिन दाजुभाइलाई दिदीबहिनीहरूले विशेष आदरका साथ सप्तरङ्गी टीका लगाई पूजा गर्ने चलन रहेको छ । बिहे गरेर गएका चेलीहरूसमेत माइत आई आफ्ना दाजुभाइको आरोग्य जीवन, सुस्वास्थ्य, प्रगतिको कामना गर्दै पूजा गर्ने चलन छ । पूजा सकिएपछि मखमली फूलको माला लगाइदिने, मिठाई, फलफूल सगुनको रूपमा दिने गरिन्छ । आफूलाई पूजा गर्ने दिदीबहिनीलाई पनि दाजुभाइले टीका लगाई दक्षिणा, उपहार दिने परम्परा रहेको छ । नेवार समुदायमा कतै कतै दाजुभाइलाई दिदीबहिनीहरूले पूजा गरिसकेपछि दाजुभाईले दिदीबहिनीको पनि पूजा गर्ने चलन छ ।
भाइटीकाको दिन आ–आफ्नो चलनअनुसार पूजा गर्ने गरिन्छ । आजका दिन मखमली फूल जस्तै कहिल्यै नओइलाओस् भन्ने कामना दिदीबहिनीहरूले गर्दछन् । त्यस्तै मण्डप बनाउँदा लगाएको तेल नसुकुन्जेल कुनै रोग नलागोस्, आपतविपत नपरोस् भन्ने कामनासहित दाजुभाइको पूजा गर्ने चलन रहेको छ ।
नेवार समुदायमा भने म्हः पूजा गरेकै विधिअनुसार किजापूजा गर्ने चलन छ । पूजा सकिएपछि अण्डासगुन दिने काम हुन्छ । अनि फलफूल, मिठाई, मखमलीको माला, जजंकासहितको थाली ग्रहण गर्ने काम हुन्छ । त्यसपछि चेलीलाई पनि दक्षिणा, उपहार आदि प्रदान गर्ने चलन छ । नवविवाहित चेलीले पहिलो वर्ष त न्हुगु कूः भनेर भाइटीकामा आउँदा विशेष प्रकारका खानेकुरा, फलफूलसहित आउने चलन छ । माइती पक्षले पनि भाइटीकामा ल्याएको न्हुगु कूःको बदलामा यःमरी पूर्णेको अवसरमा लिः कूः पठाउनुपर्छ ।
तिहार उज्यालोको पर्व हो । यो फूलैफूलको पर्व पनि हो । वास्तवमा यो पर्वले मानिसका अतिरिक्त अन्य प्राणीहरूको अस्तित्वलाई पनि स्वीकार गरेको देखिन्छ । पंक्षिमा काग, जनावरमा कुकुर, गाईलाई पूजा गर्नुले यही कुराको सङ्केट गर्दछ । दाजुभाइ र दिदीबहिनी बीचको पवित्र प्रेमलाई पनि यो पर्वले बोकेको देखिन्छ ।
***
प्रतिक्रिया
-
४