✍️ एस.पि. असफल

 

मुक्तक – एक

एक दिन शिखरमा पाइला टेकिन्छ भनिदिएँ,
कसको कत्तिको दम छ ? देखिन्छ भनिदिएँ,
तिमी त आफ्नै बयान गर्छौ सतहमा तैरिएर ,
वजनदार वस्तु गहिराइमा भेटिन्छ भनिदिएँ ।

मुक्तक – दुई

आफ्नै देशमा काम गर्दा विरक्ति कहाँबाट आउँछ ?
खाडीमा कयौं घण्टा खटिने शक्ति कहाँबाट आउँछ ?
सन्तानलाई बिदेशी भाषा पढाउनेले जवाफ दिनुहोस् ,
अनि युवा पिढीँको मनमा देशभक्ति कहाँबाट आउँछ ?

मुक्तक – तीन

समय र परिस्थितिसँगै यो मन बद्लियो भन्दै ,
मेरो सहनशीलताले अब जवाफ दियो भन्दै ,
प्रेमिका छन्जेल आफ्नै हातले रक्सी पिलाउनेले,
बिहेपछि आज छोडपत्र मागिन् रक्सी पियो भन्दै ।

मुक्तक – चार

आपसमा झगडा गर्नुपर्छ यार बेला बेलामा,
कसै कसैको होला भनी उद्धार बेला बेलामा ,
नचाहे पनि अनौठा हर्कत गर्न मन लाग्छ अचेल ,
युटुवे पत्रकारलाई दिन रोजगार बेला बेलामा

मुत्तक – पाँच

कसैले धन,कसैले मन दिई भुलाएको भेटियो,
पर्ख तिम्रै हुँ भन्दै कयौंलाई झुलाएको भेटियो,
छोडपत्र भएको भोलिपल्टै ‘सामाजिक सञ्जालमा’
अविवाहित हुँ भन्दै विज्ञापन खुलाएको भेटियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर