एक दशकदेखि भगवान पाउँ, स्वयम्भूमा बसोबास गर्दै आएका डा. शम्भु कुमार दाहालको स्थायी ठेगाना नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं. ८ जिलिङ हो । साहित्यमा डा.शम्भु कुमारले परिचित हुन चाहाने दाहल मूलतः गीति विधामा कलम चलाउछन् । कविता विधामा पी.एच्.डी. गरेका उनी चलचित्रको गीत लेखनमा सक्रिय छन् ।
साहित्यमा मौलिकता उनको विद्यावारिधिको विषय पनि हो। उनको सबैखाले गीतहरू लोक, आधुनिक, गजल, राष्ट्रिय गीतहरू रेकर्डिङ र म्युजिक भिडियो बनिसकेका छन् । हाल गीत, गजल र मुक्तकको कृषि प्रकाशनको तयारीमा रहेका सर्जक दाहालसँग मनु विद्रोहीले सेतोमाटोका लागि गरेको कुराकानी यस्तो छः
साहित्य यात्रा कहिले देखि सुरु गर्नुभयो ?
मूल विषय नेपाली लिएर पढ्ने विचार मलाई स्नातक तहदेखि आयो । मैले नुवाकोट आदर्श बहुमुखी कलेजबाट स्नातक गर्दैगर्दा नेपाली मूल विषय लिएर अध्ययन गरेँ । दश जोड २ कक्षामा म व्यावस्थापनको विद्यार्थी थिएँ । मानविकीतर्फ संकाय परिवर्तन गरेपछि मूल विषय नेपाली रोजेँ । कलेजमा हुने साहित्यिक कार्यक्रम, लेखरचना प्रकाशनतिर सक्रियता बढ्यो ।
यसरी नै साहित्यकर्ममा जुट्दै गएँ । क्याम्पसको मूखपत्र नुवाकोट आवाजमा ‘अमर प्रेम’ शीर्षकको कथा प्रकाशन भयो । यो नै पहिलो साहित्यिक लेख थियो । लेख छापिदा साह्रै खुशी लागेको थियो । चिनजानका आफन्त, साथीभाइहरूबाट चर्चापरिचर्चा हुँदा खुशी लाग्दथ्यो । यो नै मेरो साहित्य लेखन इतिहास थियो । यसपछि निरन्तर लेख रचनाहरू पत्रपत्रिका, पुस्तकहरूमा प्रकाशन हुन थाले ।
कुन विधाबाट साहित्यमा प्रवेश गर्नुभयो ?
सुरुको लेखन इतिहास त मेरो कथाबाट सुरु भएको सन्दर्भ माथि नै उठान गरिसकेँ । जब म कलेजमा मूल विषय नेपाली लिएर अध्ययन गर्न थालेँ, तव लेखनलाई निरन्तरता दिइरहेँ । जीवन भोगाइका तितामिठा अनुभूतिहरूलाई कागजमा कोरिरहेँ । कति प्रकाशन भए पनि, कति त कापीमा नै सीमित छन् । मूलतः लयात्मक कविता गीति विधा रुचिको विषय बन्दै गयो ।
लयात्मक पद्य पङ्क्तितर्फ बढी झुकाव छ । गीति साहित्यलाई बढी अपनाउँदै आएको छु । फुटकर रचना प्रकाशनमा त सबै छन्; कथा, कविता, गजल, मुक्तक, निबन्ध, नाटक सबै लेखेको छु । पछिल्लो समय भने गीततर्फ बढी झुकाव बढ्यो । गजल र मुक्तक पनि रुचिका विधा भए । यसरी गीत, गजल र मुक्तकमा बढी लेखन कार्यअगाडि बढेको छ ।
साहित्यमा लाग्ने प्रेरणा कहाँबाट मिल्यो ?
म नुवाकोटे व्यक्ति हुँ । हुन त अहिले स्वयम्भू भगवानपाउमा घरबस्ती गरेर बसेको एक दशक पार गरिसकेको छ तर पनि नुवाकोटको माटोले मलाई साहित्यतर्फ अगाडि लम्काइदियो । म सुरुमा व्यवस्थापनको विद्यार्थी, स्नातकमा नेपाली मूल विषय लिएर पढेँ । यसपछि फेरि मैले कक्षा ११ र १२ का मूल विषय नेपाली उत्तीर्ण गर्न प-यो; त्यो पनि गरेँ ।
मेरो घर साविक जिलिङ गा.वि.स. वडा नं. ४ हाल बेलकोटगढी नगरपालिका वडा नं. ८ बाहुनडाँडामा पर्छ । त्यहाँ अग्रज गुरुहरू, दाज्ुहरू खुव कविता लेख्ने पढ्ने गर्छन् । यसले पनि मलाई साहित्यमा लाग्ने पे्ररणा प्रदान गरेकै मान्नुपर्छ । कलेजमा हुने कार्यक्रमहरूमा हामी धेरै ग्रामीण परिवेशका साथीहरू कवितामार्फत क्रान्ति, चेत र विद्रोहका आवाजहरू जनतासामु पु¥याउँथ्यौँ । तालीको गडगडाहटले थप ऊर्जा प्रदान भएको आभास हुन्थ्यो । यही नै मेरो साहित्यमा लाग्ने पृष्ठभूमि बन्यो ।
भनिन्छ, साहित्य समाजको दर्पण हो । यही दर्पणबाट समाजलाई चियाउँदै भए गरेका कामकारबाही, विकृति, विसङ्गतिमाथि औँला उठाउँदै लेखिरहन मन लाग्न थाल्यो । माटो, परिवेशअनुरुपको व्यवस्था, कार्यप्रणालीको माग गर्दै लेख्न थालेँ । यो यात्रा यहाँसम्म आउँदै गर्दा पछिल्लो समय भने गीत गजलमा बढी समय खर्चिएको छु । साथै मुक्तकमा पनि ।
प्रकाशित कृतिहरू के के छन् ?
कुन सर्जक, कवि, गीतकार, विद्वानलाई कृति प्रकाशन गर्ने चाहना हुदैँन होला र ? सबैमा यो हुन्छ नै । अव सवाल उठ्छ, कृतिको व्यावसायिकतातर्फ । बजारमा प्रकाशकले पनि व्यावसायिक माहोल बुझेर सर्जकका कृतिहरू प्रकाशन गरिदिने हो । पाठ्यपुस्तक, गाइडहरू धेरै विद्यार्थीका मागअनुरुप लेखकहरूले काम पाउँछन् । मैले यसतर्फ हात हालेको छैन ।
मेरो पीएच्. डी. शोधप्रबन्ध प्रकाशन गर्न प-यो भनेर बारम्बार प्रकाशकले भन्दा पनि मैले दिएको छैन किनभने त्यसबाट झिनो अंशमात्र स्रस्टाले पाउने अरु सबै वयावसायीले खाने रहेछन् । मेरो एक दशकभन्दा लामो साहित्य यात्रामा जीवन भोगाइका, समय र परिस्थितिले जन्माएका जीवन्त अनुभूतिहरू सब सम्हालएिका छन्; ती केवल कम्प्युटरमा सुरक्षित मात्र छन् । मैले टाइप गरेर राखेको छु; विभिन्न विधामा, जस्तै गीत, गजल, मुक्तक, नाटक, कथा, निबन्ध र एक गीति उपन्यासका रुपमा छन् । अव दिन आउँछ, एकपटक अवश्य पाठकमाझ पु-याउनेछु ।
आजसम्म कसैसँग छापिदिने प्रस्ताव राखेको पनि छैन । त्यही भएर होला, कम्प्युटमा टाइपमात्रै भए होला । कृति सार्वजनिकीकरणका सवालमा लेख, रचनाहरू, गीत, गजल, मुक्तक, अनुसन्धानात्मक आलेख कतै माग भए उपलव्ध गराउँदै आएको छु । गीति विधामा भने २० वटा जती गीतहरू रेकर्डिङ भएका छन् । लोक, आधुनिक, राष्ट्रिय, तीज सबै प्रकारका गीतहरू अडियो तथा भिडियोमा युट्युवमार्फत आएका छन् ।
प्रकाशनको तयारीमा रहेका कृतिहरूका नाम भन्न मिल्छ ?
मेरो छिट्टै बजारमा आउने पुस्तकहरू तीनवटा छन् । यसमा म आर्थिक व्यवस्थापनमा छु । त्यस्ता सहृदयी, साथीभाइ, प्रकाशक, विज्ञापनदाताहरू पनि नभएका होइनन् । अरुले मात्रै गरिदेलान् भनेर म बसेको पनि छैन ।
मेरो पनि लगानी अवश्य रहनेछ । लोक, आधुनिक, राष्ट्रिय, बाल, नारीवादी, अध्यात्म, दर्शन, नीतिपरक, समसामयिक गीतहरू १००० वटा जति भएको, सबै खाले मनोद्वेगले सजिएको ८०० वटा जति गजलहरू र १२०० वटा जति मुक्तक सङ्गालोका पुस्तकहरू बजारमा आउनेक्रममा छन् । एउटा उपन्यास अझै केही समयपछि नै प्रकाशन गर्ने सोचमा छु । लगभग १३÷१४ सय पृष्ठको हुनेछ; समय केही बढी नै लाग्नेछ ।
तपाईँको विचारमा साहित्य के हो ?
साहित्य के हो भन्ने सैद्धान्तिक परिचर्चामा जाने हो भने त यो स्तम्भले नभ्याउला; पुस्तकाकार कृति नै तयार हुन्छ । अव यसको व्यवहारिक प्रयोजनतर्फ केही उल्लेख गर्नु सान्दर्भिक होला । साहित्य समाजको भाषा, रहनसहन, रीतिरिवाज, संस्कृति सबै हो । हरेक समुदायले जे बोल्छन्, लेख्छन्, विचारहरू आदानप्रदान गर्छन् यी सबै सामाजिक घटनाहरू साहित्यबाट अछुतो रहन सक्दैन । यसैले साहित्यलाई समाजको दर्पण हो भन्ने गरिन्छ । मूलतः भाषाले साहित्यलाई जन्माउँछ । हरेक भाषाको साहित्य हुन्छ ।
अहिले सीमित भूगोलको भाषिकादेखि लिएर विश्वभर यसको प्रभाव परेको छ । हामीले धेरै कुराहरू अरुको साहित्यबाट पनि ग्रहण गर्न थालेका छौँ । सनातन वैदिक हिन्दु संस्कृत वाङ्मयबाट बिकास भएको सभ्यता अहिले विश्वभर प्रचार भएको छ । आदर्श साहित्यलाई ग्रहण गर्दै केही झिनामसिना कुराहरूमा आलोचना गरिएको हाम्रो पूर्वीय साहित्य विश्वकै इतिहास हो । अङ्ग्रेजी साहित्यको प्रभाव अहिले हामीले धेरै खेपिरहेका छौँ । हामीमा आफ्नो भाषा साहित्यको माया अलि कम हुन थालेको हो कि ? यसतर्फ युवा किशोरकिशोरीहरूको ध्यान जाओस् । नेपाल बहुभाषिक मुलुक भएकोले सबै भाषा लिपि बाँचोस्; जातीयपन र नेपाली हुनाको भाषिक गौरव बाँचोस् । यसरी हरेक भाषासम्प्रदायको जीवन्त तस्बिर नै साहित्य हो ।
असल राजनीति गरे समाजको हित हुन्छ । व्यावसाय गरे अर्थ उपार्जन हुन्छ । खेती गरे अन्न उब्जनी हुन्छ । विभिन्न सरकारी वा प्राइभेट सेवामा लागे रोजगारी र समाजलाई सेवा पनि हुन्छ तर गीत, कविता, गजल, मुक्तकजस्ता विधामा कलम चलाएर, समय बिताएरचाहिँ के पाइन्छ त ?
हरेक कुरामा प्रभाव ठुलो रहन्छ । जो जुन विषयमा गहिरिएर लाग्दछ, त्यसभित्रको रस उसले बढी चाखेको अवश्य हुन्छ । हो, किसानलाई खेतीको रस, व्यापारीलाई पैसाको रस, जागिरेलाई सेवा पैसाको रस, नेतालाई समाजसेवाको रसमा भिजेर त ती क्षेत्रमा व्यक्तिहरू लीन भए ।
अव कलमकर्मीहरूका कुरा गरौँ, सिर्जना अमर रहन्छ । भौतिक चिज विलय अवश्य छ तर सर्जकका कृतिहरू मर्दैनन् । एउटा राम्रो लोकप्रिय रचनाले नामको प्रसिद्धि बटुलिदिन्छ । व्यक्ति मरेर गए पनि उसको नाम पालापूर्खाले सम्झिरहन्छन् । देबकोटा, नारायण गोपाल, अमर गुरुङ, गोपाल योञ्जनहरू छैनन् तर हामीले भुलेका त छैनौँ नि । हो, सर्जकले यो चाहन्छ । यसैको पछि लागिरहन्छ; साधना गरिरहन्छ । होला ऊ सफल कति समयपछि, तर दिन अवश्य सबैको आउँछ । नभए पनि उसले गरेका कामहरू रहन्छन् ।
अमर हुनैपर्छ भनेर लाग्नेले केही अवश्य गर्दछ । समाज र राष्ट्रलाई केही दिएर जान चाहन्छ । आखिर छोडेर जानै नै हो, यो सारा श्रीसम्पत्ति, जहान, परिवारसँगै लैजान पाइदैन । भौतिक सुखसम्पत्तिभन्दा कृतिलाई महान् ठान्दछन्, साहित्यकर्मीहरू, सर्जक, कलाकारहरू । म पनि यही यात्राको एउटा भूईँमान्छे । यसैमा सुख सन्तोष देखिरहेको छु । सारा आकांक्षाहरू त सबका कहाँ पूरा भएका छन् र ? जे गरेँ, गर्दैछु, यसैमा रमाउँदै असल कर्ममा रमाउन सकूँ भन्ने चाहना हो । मान्छेले अहित हुने कामकुरामा नलागी जे गर्दा आफूले आत्मसंतुष्टी पाउँछ, त्यही कर्ममा जुट्नु राम्रो हुन्छ । मलाई यही गीत, सङ्गीत र सिर्जनामा नै मनले शान्ति दिएको छ त्यसैले रहे नाम रहला नभए पनि काम त रहन्छ नै भनेर लागेको छु ।
नेपालमा कविहरू धेरै छन्, गीत कविताहरूभन्दा कथा उपन्यासका किताबहरू धेरै बिक्री हुने गर्दछ भन्छन्, किन होला ?
हरेकक आफ्नो रुचि हुन्छ । कसैलाई कविता मन पर्छ; कसैलाई गीत गजलहरू मन पर्छ; कसैलाई मुक्तक मन पर्छ; कसैलाई कथा, घटना, उपन्यासहरू मन पर्दछ । यो व्यक्ति विशेष गुण र चाहना हो । अहिले धेरैले कविता लेख्छन्, वाचन गर्छन्, कविप्रतिभा भनेर मञ्चमा उद्घोष हुन्छ । यसरी कविता विधामा धेरै लागेको सन्दर्भ सही हो तर कवितामा नै जीवनको कर्म देख्ने देवकोटा, लेखनाथ, भानुहरू ज्यादै कम छन् । फुटकर रचनामा रमाउनेहरू धेरै छन् यो यथार्थ हो । यसमा पनि गर्व गर्नुपर्दछ कि, धेरैको मन लोभिएको छ लयात्मक कविता विधामा । राम्रो लय भए त्यही कविता गीत भइगयो । श्रुतिमाधुर्यताको कविता न गीत हो ।
अव सवाल रह्यो, कविताका पुस्तकभन्दा कथा उपन्यास किन बढी बजारमा बिक्दछ ? मान्छेलाई घटनाले धेरै डो¥याउँछ । मनमस्तिष्क घटनाले उथलपुथल बनाउँछ । त्यही भएर कहानी, फिल्महरू धेरै चल्छन् । कविताहरू बिम्बात्मक हुन्छन्; प्रतिकहरू धेरै समायोजन गरिन्छ । कविकौशलता यसमा प्रशस्त देखिने लेखनशैलीहरू पर्दछन् । गीत कविताहरू आलङ्कारिक भएनन् भने त्यो सामान्यस्तरमा रहन्छन् । यसरी कविकौशल बुझ्न सक्ने, शाव्दिक ज्ञान धेरै भएका, बिम्ब अलङ्कारहरू ठम्याउने पाठकको खाँचो कवितामा पर्दछ ।
कविता पढेर पनि अर्थ बुझिएन भने के काम ? त्यसैले कविता बिधामा विशेष दखल भएका स्रष्टा पाठकहरूको खाँचो छ, यसतर्फ । हाम्रो समाजमा अहिले पनि नेपाली भाषाका धेरै शब्द अर्थ बुझ्ने पाठकको खाँचो छ । कथा उपन्यासमा शब्द छनौट सामान्य हुने साधारण साक्षर पाठककले पनि पढेर बुझ्ने भएकोले धेरैले कथा उपन्यास पढ्न रोजेका हुन् । यसतर्फ सामान्य बुझाइमा बौद्विक चातुर्यताको जरुरत पर्दैन । फेरि घटनाप्रधान हुने भएकोले पढिरहन मन लाग्ने भयो ।
नेपालमा धेरै गीतकारहरू छन्, फेरि तपाईँले पनि किन गीति विधामा नै बढी कलम चलाउन चाहनुभयो ?
साहित्य अथाह ज्ञानको भण्डार हो । संसारमा कति साहित्यकर्मीहरु छन् तर पनि थप कमल चलिरहेकै छ । नेपालको सन्दर्भमा भन्दा गीतकारहरू नभएका होइनन्, धेरै छन् । मलाई मन पर्ने गीतकारहरू क्षेत्रप्रताप अधिकारी, यादव खरेल, बुद्धवीर लामा, दिनेश अधिकारी आदि र पछिल्लो समयकी शितल कादम्बिनी र अरु पनि जसले हिट गीत रचना गरे, सबै मन पर्छन् ।
अव रह्यो अरु भएर पनि किन गीततर्फ कलम चलाउनु भयो ? गीति साहित्य मार्फत राम्रा गीतहरू रचना गरेर कालजयी गीत मेरो पनि हुन् भन्ने हेतुले नै मैले यो क्षेत्रमा कलम चलाइरहेको छु । मभित्र पनि केही छ, म पनि अग्रज गीतकारहरूका जस्तै कालजयी गीत रचनामा सक्षम छु भन्ने आत्मविश्वासका साथ म पनि यो क्षेत्रमा हामफालेको अवश्य हो ।
मसँग बाल, युवा, बृद्ध, नारी, अशक्त, कथित् उपेक्षित वर्ग, धनी, गरिव, अन्धविश्वास, जातीयता, विकृतिविसङ्गती, मायाप्रेम, दुःख सुख, दर्शन, नीति, चेतना, अध्यात्म सबै मानवीय सम्वेदना प्रकट हुने गीतहरू मैले पनि लेखेर राखेको, लेख्न सक्ने क्षमता भएर नै ओजप्रर्ण गीत दिन सक्ने आत्मविश्वासका साथ यो क्षेत्रलाई रोजेको छु ।
कथा उपन्यास लेखेको भए बिक्थ्यो, पैसा आउँथ्यो तर यसलाई छोडेर किन गीत गजल लेखनतिर लाग्नुभयो ?
म साङ्गीतिकता र श्रुतिमाधुर्यतमा रमाउन चाहने व्यक्ति हुँ । मलाई सङ्गीत असाध्यै मन पर्दछ । हुन त सङ्गीत मन नपराउने त पागल नै हो भन्छन् । पागलहरूले पनि सङ्गीत सुन्दै हिडेको देखिन्छ । सबैको आफ्नै रुचिको क्षेत्र हुन्छ । मलाई राम्रो गीत लेखूँ, त्यो गीत कालजयी होस् । कर्णप्रिय गजल भावले ओतप्रोत भएको वाहवाह आउने, सबैले प्रशंसा गर्ने रचना पस्किन सकूँ भन्ने अटूट चाहना छ ।
पद, प्रतिष्ठा, पैसाभन्दा जनताको मुखमा झुण्डिने गीत गजल दिन सकूँ, जीवनको यही ठुलो उपलब्धि ठान्दछु । कामले नाम रहोस् भन्ने ठुलो तृष्णाले प्यास जगाइरहेको छ । हुन त कथा उपन्यासमा पनि कमल चलिरहेकै छ तर पनि बढी गीती विधामा नै रमाउन मन लाग्दछ । यसैले गीत गजल लेखन रेकर्डिङमा विशेष दिलचस्पी छ ।
गीतकारले आफैँले गीत लेख्यो, लगानी ग-यो, गीत रेकर्डिङ, म्युजिक भिडियोदेखि युट्युवसम्म आफैँले खर्च गरेर गीत बनाउँछन् । गायकले स्टेज पाउँछन्, कमाउँछन् । देशविदेश र महोत्सवहरूमा भ्याइनभ्याइ उनीहरूकै हुन्छ तर, गीतकार सधैँ पर्दापछाडि छायाँमा हुन्छन् नि ?
तपाईँले उठान गर्नुभएको प्रश्न जायज छ । धेरै नै लगानीकर्ताहरू गीतकार नै छन् ।
हिट गीत दिइसकेपछि त गीतकारलाई पनि खोज्दै गीत माग्दै आउनेहरू पनि हुन्छन् । नवोदित गीतकारका समस्या त यही हो तर जनताले रुचाए भने अहिले रोयल्टी पाउने व्यवस्था पनि छ । करोड दर्शकहरू पुगे भने गीतले राम्रै कमाई गर्दछ । यसैले गीत जनताको मुखमा झुण्डिन सक्छ कि सक्दैन भन्ने दुरदर्शिता गीतकारले ठम्याउन सक्नुपर्दछ । यसमा सङ्गीत र गायन पक्ष अति राम्रो हुन आवश्यक छ । म्यजिक भिडियो र कलाकारको हात पनि महत्वपूर्ण छ । यसरी एएटा गीत हिट हुँदा सबै हिट हुन्छन् । सबैको व्यावसायिक जीवन सफल हुन्छ ।
अति सोचेर, धेरै छलफल गरेर, कम्पोजर, गायक, कलाकार, निर्देशक सबैमा सहकार्य राम्रो गर्न सके गीत अवश्य चल्दछ । लगानी गर्न डराउनु पर्दैन । रोयल्टीले पनि गीतको व्यावसायिकता थप्दछ । यहाँ त पैसा हुनेले जस्तो पनि गीत बनाउने, शोखको रुपमा लिने, दीर्घकालीन सोच नराख्ने, सस्तो लोकप्रियता (भाइरल) हुन खोज्ने प्रवृत्तिले नेपाली गीतसङ्गीत अलि लगानी डुब्छ कि भन्ने डरमा परेको हो । गीतकारबाट गीतको सृष्टि हुन्छ; गीतले आफैँ सङ्गीत बोकेर आउँछ; साङ्गीतिक चेतना भए अझ राम्रो गीत जन्म हुन्छ । गीतकारले पनि सङ्गीत सिक्न जरुरी ठान्दछु, म त ।
तपाईँको पनि २० वटा जति गीतहरू रेकर्डिङ भइसके । कतै लगानी गर्न गाह्रो, लगानी डुबेको, ठगी भएको समस्ष्या भोग्नु भएको छ ? गीतकार पनि चर्चित हुन के गर्नुपर्ला ?
मेरो लगभग गीतीयात्रा १० वर्ष पुरानो भइसक्यो । मैले यो क्षेत्रलाई रोजेको दिनदेखि धेरै नै उतावचढावहरू आइसके । सुरुमा अनविज्ञता हुनु स्वभाविकै हो । गीत कापीमा लेख्ने र त्यसलाई रेकर्डिङमा लाने फरक प्राविधिक पाटोहरू हुन् । गीत युट्युवसम्म पु¥याउन धेरै नै चरणहरू पार गर्नुपर्दछ । सुरुमा नजान्दा नबुझ्दा विचौरियाहरूले ठग्न खोज्ने रहेछन् ।
म त्यस्ताहरूलाई सङ्गीतका नाममा कलङ्करुपी भाइरुसहरू हुन्, भोकमरीहरू भन्दछु । मलाई सुरुको एउटा गीत रेकर्डिङ हुँदा यो समस्या आयो, केही पैसा ठगे । पछि त आफैँले सब बुझ्दै गइयो अनि सब कुरा, विधि प्रक्रिया थाहा भयो, कुनै समस्या परेन । मैले माथि नै भनिसकेँ कि लगानी डुब्दैन, पहिले नै सब कुरा व्यवस्थित गरेर अघि बढे । राम्रो शव्द, मिठो सङ्गीत, कर्णप्रिय स्वर, जीवन्त कलाकारिता भए गीत चल्छ । यसबाट गीतकारदेखि सबैजना हिट पनि हुन्छन्, दुईमत नै छैन । लगानी गर्न डराउनै पर्दैन, उठ्छ, युट्युव रोयल्टीबाट ।
साहित्य र सङ्गीतमा लागेर जीविकोपार्जन गर्न सकिने अवस्था छ कि छैन ? राज्यबाट के कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?
साहित्य र सङ्गीत राज्यका अभिन्न अङ्ग हुन् । जुन देश समृद्ध छ, त्यहाँको कला साहित्यले विश्वमा ठुलै प्रभाव छोडेको छ । उदाहरणका लागि भारत, अमेरिका, बेलायत आदि । यहाँको साहित्य सङ्गीतले विश्वलाई आकर्षण गरेको छ । यसैले राज्य जीम्मेवार हुनुपर्दछ, यस क्षेत्रमा भन्दछु म । हाम्रो देशको सवालमा साहित्य र सङ्गीतमा लागेर मनग्य सम्पत्ति कमाएका धनाढ्यहरू पाउन सकिदैन तर सम्भावना नभएको भन्न भने म चाहन्न । देवकोटाजस्ता प्रतिभाहरू जन्मियून् ।
यहाँका सर्जकहरूका पनि विश्वविख्यात् पुस्तकहरू हून्, धेरै भाषाहरूमा अनुदित् हून्, नोवेल पुरस्कारका भागिदार बनून्, अनि के जीविकोपार्जन हुँदैन ? यसको तात्पर्य गुणस्तर अन्तराष्ट्रिस्तरसम्म छाओस् न । पाठकमाझ लोकप्रियता बटुले मनग्य आम्दानी भइहाल्छ नि, नेपाली परिवेशमा नै पनि ।
अब रह्यो, सङ्गीतका कुरा । नारायण गोपालका गीतहरू कालजयी भएजस्तै हिट गीत दिने चेष्टाको खाँचो छ, यहाँ । जथाभावी गीत बनाएर पैसा छ भन्दैमा लापर्वाही गरेपछि के गुणस्तर ? के जनचाहना ? यसतर्फ सोचेर काम गरे नेपाली स्रोताहरू धेरै छन्, नेपाली गीतसङ्गीतलाई रुचाउने, माया गर्ने । यसतर्फ सोचेर, छानेर, लोकभावना बुझेर काम गरे सङ्गीतमा कोही असफल हुँदैन ।
राज्यले उचित अवसर सम्मान दिदै साहित्यकार सङ्गीतकर्मीहरूलाई सेवा सुविधा, अधिकारको सदुपयोग गराउन आवश्यक छ । निरीह भएर बाँच्न पर्ने अवस्था नआओस् । कलाकार स्रस्टाहरू यो देशका गहना हुन् भनेर उनीहरुको समस्या हल गरिदिन राज्य लाग्नु पर्दछ । उनीहरूका कामको उच्च मूल्याङ्कन हुन पनि अत्यावश्यक छ ।
सामाजिक सञ्जालहरूमा चर्चाले उचाइमा पुगेका पुस्तकहरू पढ्दा त्यतिकै उत्कृष्ट र स्तरीयता पाउनु भएको छ त ?
समयअनुसार केही पुस्तकहरूले अहिले सामाजिक सञ्जालहरूमा चर्चा बटुलेका छन् । ती पुस्तकहरू कति हदसम्म चर्चामा रहन्छन् र अनि कहिले चर्चा सेलाउदै जान्छ, त्यसको आँकलन गर्न जरुरी हुन्छ । सस्तो लोकप्रियता बटुली ओझेलमा पर्ने कृतिलाई त म कृति नै मान्दिन । त्यो त व्यक्ति भाइरल हुन चालेको चालवाजी भन्दछु । कृतिले दीर्घकालीन असर छोड्न सक्यो भने मात्रै उच्च गुणस्तर छ भन्न मिल्छ । होइन भने पानीका फोकाजस्ता पुस्तकहरूका के गणना गर्नु, के मूल्याङ्कन र समीक्षा ?
अहिले छ भरे छैन के अर्थ त्यस्ता पुस्तकहरूका ? चर्चामा रहेका प्रायः सबैजसो पुस्तकहरू म पनि पढ्दछु । एउटा स्रस्टाले आफ्नो बुद्धिले लेखेको अर्को फरक बुद्धिको व्यक्तिले यस्तो भइदिएको भए राम्रो हुन्थ्यो जस्तो त हरेक पुस्तकमा लाग्दछ नै तैपनि पुस्तकले ओकलेका विषयवस्तुहरू र तत्कालीन परिवेशलाई हेरेर कतिले मन जितेका पनि छन् त कति अलि अपुरो जस्तो पाएको छु मैले पाठकीय सोचमा । हुन त संसारमा पूर्ण केही पनि छैन ।
साहित्य समाजको ऐना मानिन्छ । कस्ता कस्ता विषयमा जोड दिने हो भने समाज परिवर्तनका लागि सहयोग पुग्ला ?
साहित्य समाजको ऐना भएकोले सर्वप्रथम ऐना नै सफा हुन प-यो, जहाँ हामी आफ्नो अनुहार हेर्दछौँ, आफ्नो यथार्थ धरातल नियाल्दछौँ र अग्रगमनको मार्ग पछ्याउँछौँ । यो ऐना प्रेरणादायी हुन पर्दछ । यसले स्पष्ट मार्गदर्शनको खाका कोर्न सकेको हुन पनि पर्दछ ।
ऐनामा कालो दाग लत्पतिएका दुश्चरित्रहरू सल्बलाएका नहून् । साहित्यरुपी ऐना देखेर न्यायप्रेमीहरू रमाऊन्, सर्वसाधारणहरूका हित होस्, खराव भ्रष्टहरू थर्कमान हून् । यसमा व्यक्ति प्रतिभा उच्च, बौद्धिक चातुर्यताले पूर्ण, वजनदार कृतिले अवश्य पनि समाज परिवर्तनको खाका कोर्दछ ।
अन्त्यमा प्रश्नमा केही छुटपुट र तपाईँलाई भन्न मन लागेको कुरा केही छ कि ?
मलाई आम नागरिकमाझ पुग्न दिने अवसर प्रदाग गर्नुभयो यसको लागि साधुवाद । म एक सङ्घर्षशील साहित्यकर्मीलाई जुन अवसर दिनुभयो, यति धेरै प्रशनहरूमार्फत् मैले जानेका भोगेका कुराहरू यहाँको लोकप्रिय अनलाइन मिडियामार्फत व्यक्त गर्न पाउँदा हर्षित् छु । आगामी दिनहरूमा पनि यस्तै समसामयिक विषयहरूमाझ प्रस्तुत् हुने नै छु ।
चाहे जेसुकै क्षेत्रमा होस्, यथार्थ प्रस्तुती र मूल्याङ्कन गर्न पनि लेखनशिल्प वाक्शिल्प आवश्यक छ । हरेकले आफूलाई समीक्षा गर्न, विगत, वर्तमान र भविष्यको स्पष्ट दिशाबोध गर्न, विद्यार्थीले उत्कृष्ट लेख्न, नेताले ठिक्क बोल्न, पत्रकारले प्रभावकारी समाचार सम्प्रेषण गर्न, प्राध्यापकले स्तरीय अध्यापन गराउँन, कलाकारले कला देखाउँन, वैज्ञानिकले प्रयोग आविस्कार सफल बनाउँन केही न केही लेखन अभिलेख तयारविना सम्भव छैन । यही हो साहित्य सिर्जना । यसले स्पष्ट मार्ग पहिल्याउँन भरपूर सहयोग गर्दछ ।
अझ सर्जक तथा वौद्धिक समुदायलाई यो अचूक औषधी नै हो । शाब्दिक ज्ञान, प्रस्तुती, विज्ञता, साधनाले यो यात्रामा पछाडि फर्किनु पर्दैन । निरन्तर साधनाले बुद्धि बढ्छ, लेखनशिल्पमा निखारता ल्याउँछ । लेख्न नजान्ने लेखक बन्छ, बोल्न नजान्ने नेता, परामर्शदाता बन्छ, मूर्ख विद्वान बन्छ । हो, यही नै साहित्य; विचारको सफल सम्प्रेषण हो ।
प्रतिक्रिया
-
४
