✍️ नवराज न्यौपाने ‘मौन’

– ‘एसएलसी परीक्षामा नेपालीमा कति नम्बर आएको थियो ?’
– ‘सतसाठ्ठी’
– ‘अनि, अङ्ग्रेजीमा नि ?
– ‘बहत्तर।’
– ‘त्यसो भए भाषाका विषय पढ्नु पर्ने त !’
– ‘मलाई इन्जिनियरिङ पढ्न मन लाग्यो ।’
– ‘स्कोर कति थियो ?’
– ‘दुईसय दस।’
– ‘अचेल के गर्दै हुनुहुन्छ नि ?’
– ‘पत्रपत्रिका र पुस्तकको सम्पादन गर्छु। अनि साहित्य पनि लेख्छु।’
– ‘घरको डिजाइन गर्ने,नक्शा बनाउने र सुपरभिजन गर्ने नगरेर किन यस्तो काम गर्नुभा त ?’
– ‘सत्ताईस वर्ष त गरियो नि ! अब कति गर्नु र हजुर ?’
– ‘लेखेर र सम्पादन गरेर के पाइन्छ ?’
– ‘अलिअलि नाम कमाइन्छ।’
– ‘नाम कमाउने काम होइन, दाम कमाउने काम पो गर्नुपर्छ नि लाटा !’
– ‘स्वान्त सुखाय लेखिरहेछु, जीवन र जगत देखिरहेछु ।’

– ‘भो भो, डाइलग मार्नु पर्दैन। प्राविधिक काम गर्ने भए म मिलाइदिन्छु तर दिनहुँ आठ घन्टा फिल्डमा खटिनु पर्छ नि ’
– ‘भो अब ल्यापटपमा गर्ने काम मात्र गर्छु ।’
– ‘किताब निकालेर बेचे पो दाम आउँछ, फुटकर रचनाले त न नाम न दाम।’
– ‘सोच्दैछु हजुर।’
– ‘ल, म लाग्छु, कुनै दिन क्याफेमा कफी खाएर गफिनु पर्छ है ।’

बिदा भएर ऊ बाटो लाग्यो । अहिले अमेरिका पो पुगेछ । म चाहिँ नेपालभित्र घुमिरहेछु ।

उता चुनावमा उठेका उम्मेदवारहरु शहरमा बसेका र विदेशमा रहेका आफ्ना समर्थकहरुलाई भोट हाल्न गाउँमा आउनु है भनेर फोन गरिरहेछन् । म चाहिँ नेट अफ गरेर मज्जाले लेखिरहेछु ।

शुभ–रात्री !

प्रतिक्रिया

सम्बन्धित खवर