नयाँ दिल्ली / जी–२० नयाँ दिल्ली घोषणपत्र जारी भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा पत्रमा सबै देशहरू सहमत भएको जानकारी दिँदै घोषण पत्र स्वीकृत भएको जानकारी दिएका हुन् ।

मोदीले भने, “हाम्रो टोलीको कडा परिश्रम र तपाईंहरू सबैको सहयोगले नयाँ दिल्ली जी–२० नेताहरूको घोषणामा सहमति भएको छ यो घोषणापत्र पनि स्वीकृत होस् भन्ने मेरो प्रस्ताव छ। म यो घोषणापत्र स्वीकृत गरेको घोषणा गर्दछु।” सो अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले जी–२० का सबै सदस्यहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

जी–२० का भारतीय शेर्पा अमिताभ कान्तले सोसल मिडिया प्लेटफर्म ‘एक्स’मा नयाँ दिल्ली घोषणापत्रमा उल्लेख गरिएका कुराहरू साझा गरे। उनले नयाँ दिल्ली घोषणापत्र ‘बलियो, दीर्घकालीन, सन्तुलित र समावेशी वृद्धि, दिगो विकास लक्ष्यमा प्रगतिलाई गति दिने, दीर्घकालीन भविष्यको लागि हरियो विकास सम्झौता र २१ औँ शताब्दीको लागि बहुपक्षीय सङ्गठनहरू’ लगायतका विषयमा रहेको जानकारी दिए ।

युक्रेनको युद्धका विषयमा के भनियो ? 

त्यस्तै, जी–२० नेताहरूको शिखर सम्मेलनको घोषणाले युक्रेनमा जारी युद्धको सन्दर्भमा बालीमा भएको छलफललाई दोहोर्‍याएको छ।  नयाँ दिल्ली घोषणामा भनिएको छ, “युक्रेनको युद्धका सम्बन्धमा बालीमा भएको छलफललाई दोहोर्‍याउँदै हामीले संयुक्त राष्ट्र सुरक्षा परिषद् र संयुक्त राष्ट्र संघको महासभाको प्रस्तावहरूमा हाम्रो राष्ट्रिय अडान दोहोर्‍यायौँ र सबै देशहरूले संयुक्त राष्ट्रसँग सहकार्य गर्नुपर्छ भन्ने कुरामा जोड दिएका छौँ।”

संयुक्त राष्ट्रको बडापत्र अनुसार, सबै राज्यहरूले क्षेत्रीय अखण्डता र सार्वभौमसत्ता वा अन्य कुनै पनि राज्यको राजनीतिक स्वतन्त्रता विरुद्ध क्षेत्रीय अधिग्रहण वा बल प्रयोगको धम्कीबाट टाढा रहनुपर्छ। आणविक हतियारको प्रयोग वा प्रयोगको धम्की अस्वीकार्य छ।’

सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी भएका थियो ।

सम्मेलन आजसम्म चल्नेछ । सम्मेलनको पहिलो दिन २० देशका नेताहरू एउटै मञ्चमा थिए । जी-२० मा अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका आबद्ध रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर