– प्रज्वल पुकार

धेरै दिन भो अनवरत झरी परिरहेछ
चुहिने निरन्तर चुहिरहेको छ

बिहान उठ्दा छानो चुहेर
निथ्रुक्क भिजाइदिन्छ नानीहरुका सपनालाई

बजारमा चामलको मूल्य ढाडिन्छ
बोराबाट वजन चुहिन्छ

राजधानीको ढाँड परेको खप्पर रसाउछ
र पूंजी बजारको खोल्सीबाट
समाजवादको तग्दिर चुहिन्छ

अनिकालको आन्दोलनमा होमिएकी नर मायाको
कलासाबाट चित्कारको मुर्दावाद चुहिन्छ
पिडुलाबाट क्रान्तिको रगत चुहिन्छ

गणतन्त्रको भारी खेप्न गएको वीर बहादुरको
पसिनाको जुलुसबाट बिचार चिन्तन दर्शन र सत्ता चुहिन्छ
र अनवरत बर्षिरहेको झरीको भाषणबाट
स्वयम् वीर बहादुरको मृत्यु चुहिन्छ

यो झरीको मष्तिक्समा
मर्दा सायद नेपाली मरेन
दुख्दा सायद मेरो देश दुखेन
र त घाटमा पार्टीको बहीखाता लिएर बहुदलिय ब्यबस्था पुग्दा
आर्यघाटको आँखा चुहिन्छ

हिजो आज भोलि
झरी परेको छ अनवरत परिरहन्छ
चुहुदा पुराना छानाहरु मात्र चुहिएका छैनन्
सर्बोपरी ब्यवस्थाको छातीबाट
अधिकारको स्वर्ण अक्षरहरु पनि चुहिरहेकाछन्

बग्दा जिर्ण समयको टाहारी खेत मात्र बग्दैन
संबिधानको बाध फुटेर
धर्तीका पाठेघरको मलिलो माटो पनि बगिरहेछ

अचम्म छ
रात भरी दूध चुसेर आमा संग सुतेको नानीले
बिहान काँचो रगतको बान्ता गर्यो
हैन आमा
तिम्रो शरीरमा चाहिँ फेरि कहाँबाट रगत चुहिरहेछ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर