कर्णाली दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ ।
अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैँ बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पखाइँमा छन्, यहाँका पर्यटकीयस्थल ।
नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष पदमबहादुर शाही मौसमका दृष्टिले पनि कर्णाली प्रदेशको यात्रा धेरै उपयुक्त रहेको बताउनुहुन्छ । “दसैँ बिदाको उपयोग, उपयुक्त हावापानी जस्ता कारण घुमफिरमा समय छुट्यउन सकिन्छ,” उनी भन्छन्, “कर्णाली यस्तो प्रदेश हो, जहाँ अन्यत्र नभएका विशेषता यहाँ छन्, जसले पर्यटकको ध्यान आकर्षित गरेको पाइन्छ ।”
निजी गाडीमा यात्रा गर्नेका लागि पर्यटकीयस्थल अवलोकनमा झन् सहज छ । नौलो विषयवस्तुको अध्ययन÷अवलोकन आम मानिसको रुचि हो ।
कर्णालीमा यस्तै नौला–नौला दृश्य देख्न पाइन्छ । पर्यटन व्यवसायीसमेत रहनुभएका महासङ्घका प्रदेश अध्यक्ष शाही पछिल्ला वर्षयता कर्णाली पर्यटकका लागि एक पटक होइन, बारम्बार आउनुपर्ने क्षेत्रका रुपमा विकास हुँदै गएको बताउछन् ।
चाडपर्वले झन पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उहाँको विश्वास छ । रत्न राजमार्ग बाँकेको कोहलपुरबाट सुरु भए पनि कर्णाली प्रवेश भने सुर्खेत–बर्दिया सीमा क्षेत्र बबईबाट हुन्छ । बबईमा राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सनको सुरुङको निकास र विद्युत् गृह बन्दैछ ।
विकासको लोभ लाग्दो संरचनाले गर्दा यो आयोजनाले धेरैको ध्यानाकर्षण गरेको पाइन्छ । रत्न राजमार्गका यात्रुले बबईमा रोकिएर यहाँको विकास हेरेर अघि बढ्ने गर्दछन् ।
वीरेन्द्रनगरमा काँक्रेविहार, बुलबुले ताल, घण्टाघर, सहिद पार्क पर्यटकीयस्थल हुन् । बिहानीपख देउती बज्यै मन्दिरमा दर्शनार्थीको भीड लाग्दछ । देउती बज्यै प्रदेशकै मुख्य धार्मिक शक्तिपीठमध्ये एक हो ।
काँक्रेविहारको ढुङ्गैढुङ्गाको अनौठो कलात्मक शैलीले पर्यटकलाई मुग्ध पार्दछ । रारा, जुम्ला, हुम्ला, दैलेख जाने पर्यटकका लागि सुर्खेतका यी स्थान रोजाइँमा पर्दछन् ।
सुर्खेत चेम्बर अफ कर्मशका अध्यक्ष चिन्तामणि शर्मा कर्णाली आउने पर्यटकका लागि सुर्खेत ‘ट्रान्जिट प्वाइन्ट’ भएको बताउछन् ।
“प्रदेश राजधानी भएकाले यहाँको पर्यटकीयस्थलमा चहलपहल बढी छ’’, उनी भन्छन्, “दसँैंले गर्दा पनि आजभोलि होटल पनि भरिभराउ छन्, पर्यटकीयस्थलमा भीडभाड बढी देख्न सकिन्छ ।”
पर्यटकको आवागमन बढेसँगै सुर्खेतमा स्तरीय होटल थपिँदै गएका छन् । वीरेन्द्रनगरबाट दैलेखतर्फ अघि बढ्दा सुर्खेतको गोठीकाँडा, सिद्धपाइला र रातानाङ्ला स्थान बाटोमा पर्दछन् ।
ती स्थानबाट सुर्खेत उपत्यकाको सुन्दर दृश्य देखिन्छ । दैलेखको गुराँसेमा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाइएको छ । यात्रुहरुको रोजाइँ ‘भ्यू टावर’ पनि बन्ने गरेको छ ।
गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसी आफैँमा अग्लो स्थानमा रहेको गुराँसेको चिसो वातावरण र त्यसमाथि भ्यू टावरले पर्यटकलाई आनन्दित गराएको बताउछन् ।
कर्णाली राजमार्ग र दैलेख–सुर्खेत सडक खण्डका यात्रुका लागि गुराँसे खाना–खाजा खाने ठाउँ पनि हो । “खाजा खाने समयमै भ्यू टावरका साथै गुराँसेको अवलोकन गर्न पाउँछौंँ,” अध्यक्ष बिसी भन्छन्, “यहाँ उत्पादित अर्गानिक खानेकुरा कर्णालीका यात्रु र पर्यटकले कहिल्यै भुल्दैनन् ।”
पञ्चकोसी क्षेत्र, कोतगढी, पञ्चदेवल, बेलासपुर मन्दिर मध्यपहाडी जिल्ला दैलेखका मुख्य पर्यटकीयस्थल हुन् । पानीमाथि आगाको ज्वाला बलिरहेको दृश्य हेर्न पञ्चकोसी क्षेत्रका शिरस्थान र नाभिस्थानमा पर्यटकको भीड लाग्ने गर्दछ ।
ऐतिहासिक क्षेत्र दुल्लू बाइसे चौबिसे शासनकालमा छुट्टै राज्य थियो । दरबारको भग्नावेश, पटाङ्गिनी, कीर्तिखम्ब, नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेख, धर्मगद्धी, बालेश्वर यहाँका मुख्य आकर्षण हुन् ।
पञ्चकोसी दर्शन गरे जीवनमा पुण्य मिल्छ भन्ने जनविश्वासका कारण कोटिला, शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका घुमेर फर्किने गरिन्छ । दुल्लू नगरपालिकाका पूर्व प्रमुख घनश्याम भण्डारी पञ्चकोसी दर्शन गर्ने पर्यटकका लागि दुल्लू आउनै पर्ने स्थान भएको बताउछन् ।
“पञ्चकोसीको गरिमा त वर्णन गरी साध्यै छैन्, दुल्लू सङ्ग्राहालय बनाएका छौंँ, पुराना राजकाजसँग सम्बन्धित ऐतिहासिक तथ्यदेखि प्राकृतिक सम्पदाले दुल्लू सुन्दर नगरी छ” उनी भन्छन्, “दुल्लू आउने पर्यटकलाई दैलेख बजारसम्म जोड्ने प्रयास गरिरहेका छौंँ, विभिन्न जातिको उत्पत्ति थलोको प्रचारप्रसार, प्रवद्र्धनको काम भइरहेको छ।” पूर्व नगर प्रमुख भण्डारीका अनुसार दैलेख जिल्लालाई विभिन्न ३६ जातजातिको उत्पत्ति थलोका रुपमा दाबी गरिँदै आएको छ ।
कर्णाली राजमार्ग हुँदै कालीकोटको सदरमुकाम मान्म र पिली क्षेत्र अवलोकन गर्न सकिन्छ । पिली युद्ध पर्यटनले चर्चामा छ । त्यहाँ युद्ध स्मारक बनाइएको छ । राजमार्गबाट देखिने कर्णालीका सुन्दर बस्ती पर्यटकका लागि थप आर्कषण हुन् ।
जुम्ला खलङ्गास्थित प्रसिद्ध चन्दननाथ मन्दिर, सिञ्जा उपत्यका, तातोपानी, पातारासी हिमाल यहाँका गन्तव्यमा पर्छन् । तातोपानीमा नुहाए स्वास्थ्यलाभ हुने जनविश्वासले मुलुकका विभिन्न स्थानबाट मानिसहरु त्यहाँ पुग्छन् ।
विश्वकै अग्लो स्थानमा हुने धान खेती, मार्सी चामल, सिमी र स्याउले जुम्ला उत्तिकै प्रख्यात छ । सिञ्जा खस भाषाको उद्गम स्थल हो । नेपाली भाषाको अध्येताका लागि यो आउनै पर्ने गन्तव्य हो ।
जुम्लाको सिञ्जा उपत्यका हुँदै मुगु सदरमुकाम गमगढी पुग्न सकिन्छ । गमगढीबाट हिँडेर वा गाडीमा रारासम्म पुग्न सकिन्छ । यो नेपालकै ठूलो ताल हो । यहाँ पाइने स्नो–ट्राउट प्रजातिको माछा अन्यत्र कहीँ पाइँदैन ।
मौसम खुलेमा तालको पानीमा देखिने सप्तरंगले आगुन्तकलाई मोहित पार्दछ । सुर्खेतदेखि करिब डेढ दिनको बस यात्रा वा सुर्खेत–नेपालगञ्जबाट सिधैँ मुगुको ताल्चा विमानस्थल पुगेर दुई
