काठमाडौँ / नेपाल बक्सिङ सङ्घको आयोजनामा एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट शुरु भएको छ । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आजदेखि सो छनोट शुरु भएको हो ।

पहिलो दिन जुनियरतर्फ पुरुष ५७ किलोमा नक्साल बक्सिङ क्लबका भूमिक थापाले ललितपुरका विशाल श्रेष्ठलाई हराउँदै फाइनलमा प्रवेश गरे ।

युथतर्फ पुरुष ५४ किलोमा झापाका प्रविण बयल्कोटीले धरानका सिंहबहादुर लिम्बू तथा बोसीगाउँका सुलभ मालीले झापाका रोहन मलिकलाई पराजित गर्दै फाइनलका लागि स्थान बनाए ।

यस्तै युथतर्फ पुरुष ६० किलोमा इन्द्रबहादुर सुनारले रोज थापा मगरलाई पराजित गरे ।

यसैगरी युथतर्फ महिला ४८ किलोमा नक्साल बक्सिङ क्लबकी तेजीमाया गुरुङले झापाकी अनुष्का कुनाललाई पराजित गर्दै फाइनलमा प्रवेश गरिन् ।

जुनियरतर्फ पुरुष ५० किलोमा कास्कीका मानबहादुर हमालले ललितपुरका सुजल थापालाई, ५४ किलोमा बक्समान्डुका छिरिङ शेर्पाले रामेछापका आर्यन गहतराजलाई तथा ७५ किलोमा ललितपुरका सुदेन गिरीले मेघदूतका अतुल्य भण्डारीलाई पराजित गरे ।

यस्तै जुनियरतर्फ महिला ५० किलोमा मकवानपुरकी रोशनी घलानले झापाकी अनिशा खवास तथा ५४ किलोमा रामेछापकी स्वस्तिका तिवारीले मकवानपुरकी विनिता मोक्तानलाई पराजित गरिन् ।

प्रतियोगितामा २६ पुरुष तथा नौ महिला खेलाडीको सहभागिता रहेको छ । पुरुषतर्फ युथमा ६ तथा जुनियरतर्फ चार विधामा खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ ।

महिलातर्फ युथ र जुनियरतर्फ दुई दुई विधामा खेलाडी एकापसमा भिड्ने छन् । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेका अनुसार प्रदर्शनका आधारमा खेलाडी छनोट गरिने छ ।

एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगिता आगामी भदौ १ गतेदेखि युनाइटेड अरब इमिरेटस्को दुबईमा हुने प्रशिक्षक डम्मरदत्त भट्टले जानकारी दिए । प्रतियोगिता मंगलबारसम्म चल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर