धनुषा / उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाइटोलकी ३० वर्षीया सुत्केरी बेगम खातुन चार दिनदेखि अस्पतालकै शय्यामा थिइन् ।
सामान्य मजदुरी गरेर दैनिकी जुटाउने श्रीमान् मोहम्मद समिर नदाफले पैसाको जोहो गर्न गरिएको प्रयास विफल भएपछि शुक्रबार बाध्य भएर मिडियामा गुहार माग्न पुगिन् ।
यो समाचार सार्वजनिक भयो । मिडियामार्फत जानकारी पाएर प्रधानमन्त्रीपत्नी राधिका शाक्यले तत्कालै चासो देखाइन् ।
असहाय, असक्त, अभिभावकविहीन तथा बेसहाराको सारथी बन्दै आएकी शाक्यले व्यक्तिगतरूपमा खर्च व्यहोर्ने आश्वासन दिएर स्थानीय प्रहरीमार्फत पहल गरेकी थिइन् ।
त्यसपछि बेगम घर फर्किन सफल भएकी हुन्। “अनलाइमा पढेको र खोजी गर्दा कुरा सत्य भएको पत्ता लागेपछि तत्कालै समस्या समाधानका लागि पहल गर्न लगाएको शाक्यले सुनाइन् ।
प्राप्त जानकारीअनुसार अस्पताल प्रशासनले नै बाँकी रकम मिनाहा गरिदिएर उनलाई घर पठाइएको हो ।
श्रीमती र बच्चा स्याहार्दै गर्दा आज टेलिफोन कुराकानीमा समिरले भने, “मेरो खुशी कति छ भन्ने कुरा कसरी भनौँ, सबैको सहयोगले सुत्केरी ल्याउन पाएँ उहाँहरूलाई धन्यवाद भन्छु ।”
पहिले पैसा माग्ने अस्पताल प्रशासनले समेत अब पैसा पर्दैन जानुस् भनेपछि शुक्रबार जुम्ल्याहा बच्चा र श्रीमतीसहित घर फर्किएको सुनाउने मोहम्मदलाई कसले पैसा तिर्यो भन्नेबारेमा ज्ञान छैन । “पैसा सबै भइसक्यो, तपाईँ जानुस् भन्नुभयो, अनि घर हिँडेको”, उनले कुराकानीका क्रममा थपे ।
सुत्केरी बेथा लागेपछि गएको असार १७ गते बेगम अस्पताल भर्ना भएकी थिइन् ।
शल्यक्रिया गरी जुम्ल्याहा बच्चा जन्मिएपछि असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको तर अस्पताललाई रु एक लाख १० हजार उपचार खर्च बुझाउन नसक्दा चार दिनदेखि उनी शय्या छाड्न पाएकी थिइनन् ।
जन्मेपछि पनि एनआइसीयूमा राखेर नवजात शिशुको उपचार गर्नुपरेकाले उपचार खर्च बढेको अस्पताल प्रशासनको भनाइ छ ।
उक्त विषयमा सुत्केरी अस्पतालमा बन्धक श्रीमान् पैसाको खोजीमा भौँतारिँदै’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । त्यसको केही घण्टाभित्रै प्रधानमन्त्री पत्नी शाक्यलगायत मनकारीहरूबाट आवश्यक पहल शुरु भएको थियो ।
“तपाईँहरूले मेरो परिवारलाई ठूलो गुन लगाउनुभयो, जिन्दगीमा भुल्दैनौँ, एउटा समाचारले हाम्रो लागि दुनियाँ नै बदलिएको महसुस ग¥यौँ”, अस्पताल परिसरबाट जुम्ल्याहा बच्चासहित श्रीमती लिएर घर फर्कने क्रममा उनले भने ।
उनले झण्डै ६० देखि ७० हजार तिर्नु नपरेको जानकारी दिए । दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका समिरको न आफ्नो घर छ र न त काम । दैनिक ज्याला मजदुरी गरी हातमुख जोर्ने गरेका उक्त परिवारलाई धेरै दिन निषेधाज्ञाका कारण काम नपाएर छाक टार्न मुस्किल परेको थियो ।
कोरोना महामारीबाट प्रभावित भइरहेका बेला अस्पतालको उपचार खर्च जुटाउन नसक्दा उनमा दोहोरो पीडा थियो ।
उता समयमै पैसा सङ्कलन नहुँदा अस्पताललाई तिर्नुपर्ने बिल दैनिक बढिरहेको थियो । समिर पैसा खोज्न चन्दा सङ्कलन गर्दैगर्दा उपचार खर्च मिनाहा गर्ने घोषणाले ठूलो राहत मिलेको समिरले सुनाए । आफूसँग भएको थोरै पैसा सकेपछि उनी चन्दा सङ्कलनमा लागेका हुन् ।
आर्या केयर अस्पतालका व्यवस्थापक उज्वल झाले शुरुमा कुनै जानकारी नभए पनि समाचार आएपछि खोजबिन गर्दा गरीब परिवारको मान्छे भएर पैसा मिनाहा गरेको बताए ।
“आर्थिक अभावमा चन्दा सङ्कलन गरिरहेको थाहा पाएँ, अनि लागेको खर्च छुट गरेर, घर पठाएका हौँ”, उनले भने ।
अस्पतालले समाजिक उत्तरादायित्व बहन गर्दै छुट गरेको जनाएको छ । बेगमले आवश्यक सहयोग प्राप्त हुँदा ठूलो खुशी मिलेको सुनाए ।
प्रतिक्रिया
-
४