बागलुङ – कोभिड–१९ ले थलिँदा जसोदा शर्माले श्रीमान् सूर्यप्रसादलाई सम्झिए। दुई सातासम्मको एकान्तबासमा पानीसमेत दिने कोही नभएपछि घरमा प्रियजन नहुँदाको पीडाले उनलाई सताए ।

बलपूर्वक बेपत्ता पारिएका नागरिकको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित अन्तरक्रियामा अप्ठ्यारो परिस्थतिमा सहाराविहीन हुनुको दुःख शर्माले सुनाए ।

बागलुङ नगरपालिका–२ का सूर्यप्रसाद विसं २०५८ देखि बेपत्ता छन्। तत्कालीन सशस्त्र द्वन्द्वमा राज्यपक्षबाट उनी बेपत्ता पारिएका थिए ।

बीस वर्ष बित्न लाग्दासमेत बेपत्ता श्रीमान्को स्थिति पत्ता नलागेपछि शर्मा निराश छन् ।

अन्तर्राष्ट्रिय अदालतसम्म धाउँदा पनि न्याय नपाएको उनको गुनासो छ । “राज्यले हाम्रो आवाज सुनेन, कहिलेसम्म न्यायको लागि लडिरहने ?”, शर्माले प्रश्न गरे। शर्मा उनको बेपत्ताजनका परिवार वर्षौदेखि आफ्ना प्रियजनको पखाईमा छन् ।

वर्सेनी दिवसका दिन उनीहरू एकाआपसमा दुःख बाँड्छन्, अरुलाई सुनाउँछन् । माग नसुनेकामा राज्य यन्त्रप्रति दुःखेको व्यक्त गर्छन् । विगतको दश वर्षे द्वन्द्वमा यहाँका २५ जना बेपत्ता छन् ।

निसीखोला गाउँपालिका–४ का खुमलाल शर्मा पनि न्यायको पर्खाइमा हुनुहुन्छ । विसं २०६२ मङ्सिरमा श्रीमती सुशीलालाई तत्कालीन विद्रोही पक्षले बेपत्ता पारेको थियो ।

शर्माले पनि द्वन्द्वमा भएका अपराधजन्य घटनाको छानबिन हुनुपर्ने र अपराधीले सजाय पाउनुपर्ने बताए ।

शर्माले आइतबार मात्रै जिल्ला प्रहरी कार्यालयमा बेपत्ता श्रीमतीको खोजी गरिदिन माग गर्दै जोहेरी दिएका छन् ।

उनीसँगै जैमिनी नगरपालिका–१० का बिमल केसीले पनि आफ्ना छोरा गणेश अहिलेसम्म नभेटिएको भन्दै बेपत्ता पार्ने विरुद्ध जाहेरी दिएका छ ।

केसीका छोरा गणेश विसं २०५८ मा राज्यपक्षबाट बेपत्ता पारिएका थिए ।

द्वन्द्वपीडितसँगै मानवअधिकारीवादी संस्था, नागरिक समाजलगायतले बेपत्ताको स्थिति सार्वजनिक गर्न र बलपूर्वक बेपत्ता पार्ने कार्यमा संलग्नलाई कानुनी कठघरामा ल्याउन माग गर्दै आए पनि अहिलेसम्म सुनुवाई हुन सकेको छैन ।

सरकारले बेपत्ता छानबिन आयोग बनाएको सात वर्ष भइसके पनि परिणामुखी काम भएको छैन । न्यायका लागि द्वन्द्व पीडित समाज नेपालका केन्द्रीय उपाध्यक्ष बद्रीबहादुर केसीले द्वन्द्व पीडितलाई न्याय दिने सवालमा राज्य मौन बसेको आरोप लगाए ।

“तपाईँ, हाम्रो कोही आफ्नो मान्छे २४ घण्टा मात्र सम्पर्कविहीन हुँदा के हुन्छ होला ? एकछिन सोचौँ त”, उपाध्यक्ष केसीले भने, “यतिका वर्षसम्म बेपत्ताको स्थिति सार्वजनिक नहुँदा उहाँहरूका परिवारजन अन्यायमा हुनुहुन्छ ।”

उनले द्वन्द्व पीडितको न्याय प्राप्तिका लागि आफूहरुले अन्तिमसम्म सङ्घर्ष गरिरहने बताए ।

सोही कार्यक्रममा बोल्दै बागलुङ बारका अध्यक्ष हरिप्रसाद शर्माले राज्यले द्वन्द्व पीडितको आवाज सुन्नुपर्ने धारणा राखे। “नागरिकको जीवनरक्षाको दायित्व राज्यको हो, त्यो जिम्मेवारीबाट च्यूत हुन मिल्दैन ।”

वकालत मञ्चका धवलागिरि संयोजक अधिवक्ता राम शर्माले मानिस बेपत्ता पार्ने काम मानवता विरुद्धको अपराध भएको उल्लेख गरे ।

“गम्भीर प्रकृतिका मुद्दामा आममाफी दिन मिल्दैन”, उनले भने, “बेपत्ताबारे सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।”

न्यायका लागि द्वन्द्व पीडित समाज बागलुङले दिवसमा अन्तरक्रियासहित बेपत्ताजनको तस्वीर प्रर्दशन र दीप प्रज्ववलन गरेको अध्यक्ष हरि सुवेदीले जानकारी दिए। यसपालिको दिवस ‘हाम्रा मान्छेहरू कहाँ छन् ?’ शीर्षकको ब्यानरमुनी आयोजित थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर