महोत्तरी – महोत्तरीको बर्दिवासमा रम्तेलडाँडा वन अतिक्रमणको एक वर्ष ननाघ्दै अर्को अतिक्रमणको घटना सार्वजनिक भएको छ ।

पछिल्लो पटक बर्दिबास–१ र ३ मा पर्ने चिहानडाँडा सामुदायिक वनको पानी खोल्सीको मुहान नै थुनेर वन अतिक्रमण भएको घटना सार्वजनिक भएको हो ।

बर्दिबास–३ का बासिन्दा हरि बस्नेतले वन क्षेत्रभित्रको जरुवा पानीको मुहान रहेको पानी खोल्सीको करिब दुई कठ्ठा जग्गा अतिक्रमण गरेको बताइएको छ ।

सवडिभिजन वन कार्यालय बर्दिवास, चिहानडाँडा सामुदायिक वन र बर्दिवास नगरपालिकाका पदाधिकारी तथा प्रतिनिधिले आजै अतिक्रमित क्षेत्रको अनुगमन गरी अतिक्रमण हटाएका छन् ।

“बस्नेतले पानीखोल्सीको मुहान नै थुनेर करिब दुई कठ्ठा वनक्षेत्रको जग्गा बिराएर खेत बनाएका रहेछन्” चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष घनश्याम न्यौपानेले भने, “हामीले आज सवडिभिजन वन कार्यालय, नगरकार्यपालिका र सामुदायिक वन उपभोक्ता समितिका तर्फबाट अनुगमन गरेर अतिक्रमण हटाएका छौँ ।”

अब समितिका आम उपभोक्ताको भेलाबाट अतिक्रमण गर्ने बस्नेतविरुद्ध कार्वाही थालिने न्यौपानेको भनाइ छ ।

नगरक्षेत्रमा वन र अन्य सार्वजनिक जग्गा निकै हड्पिएको भएपनि यसको खोजीनीतिमा सम्वद्ध नगरपालिका र वनसम्वद्ध कार्यालयले चासो नदिएका यस भेगका सर्वसाधारण बताउँछन् ।

भर्खरै विघटित आयोगले अन्तिम पटकका लागि भन्दै १० वर्षदेखि जोतखन र घर बनाइ बसेकालाई जग्गाधनी प्रमाणपुर्जा दिने नीति सार्वजनिक गरेपछि बर्दिबास–१ र ३ मा पर्ने नेवारडाँडा कामीडाँडा सामुदायिक वनक्षेत्रमै सात हेक्टरभन्दा बढी जग्गा अतिक्रमण भएको छ ।

वनक्षेत्र उजाडेर जग्गा हड्पिनेमा राजनीतिक दलका उपल्लो तहका नेता, साँसद, उच्चपदस्थ कर्मचारी र टाठाबाठा भूमाफियाहरु रहेकाले वनसम्वद्ध कार्यालयले यसको खोजीनीति नगरेको बर्दिबास–१४ का सामाजिक कार्यकर्ता हरि दाहाल बताउछन्।

बर्दिवास–१ मा गतवर्ष मात्रै रम्तेलडाँडा सामुदायिक वनको करिब पाँच हेक्टर जग्गाको वन फाँडेर अतिक्रमण भएको थियो ।

सो घटनाको बर्दिवासवासीले चर्को विरोध गरेर दिनहुँ वन अतिक्रमण विरुद्ध प्रदर्शन गरेपछि अतिक्रमणकारी विरुद्ध मुद्दा चलेको थियो तर सो मुद्दाका प्रतिवादी सामान्य रकम धरौटी राखेर फर्केका छन् ।

अतिक्रमण विरुद्ध फितलो कारवाहीले भूमाफियाको मनोवल नतोडिएको यहाँका सर्वसाधारण बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर