काठमाडौँ – नेपालले मनाइरहेको अन्तर्राष्ट्रिय पर्वतीय वर्ष समारोहको समापन गरिएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२२ लाई अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष घोषणा गरेको थियो । त्यसैगरी हरेक वर्ष डिसेम्बर ११ मा विश्व भरी अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउने गरिन्छ ।

नेपालले अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्षलाई विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । वर्षभरि नै पर्वतीय अर्थतन्त्र, पर्वतीय संस्कृति, पर्वतीय जैविक विविधता, पर्वतीय महिला, पर्वत–समथर अन्तरसम्बध र पर्वतीय जलवायु परिवर्तन गरी विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो ।

समापनका अवसरमा वन तथा वातावरण मन्त्रालयले आज यहाँ आयोजना गरेको अन्तरक्रिया गोष्ठीमा अन्तर्राष्ट्रिय पर्वतीय दिवसका उपलक्ष्यमा आयोजित दिगो पर्वतीय समाधानका लागि महिला विषयक अन्तरक्रिया गोष्ठीसमेत आयोजना गरिएको थियो ।

अन्तर्राष्ट्रिय पर्वतीय वर्ष मनाउने क्रम गत वर्ष चैत ९ र १० गते काठमाडौँमा दिगो पर्वतीय समाधानका लागि क्षेत्रीय नीति संवाद कार्यक्रम आयोजना गरी पर्वतीय वर्ष कार्यक्रमको उद्घाटन गरिएको थियो ।

त्यसैगरी गत साउन ६ गते काठमाडौँमै सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतक र सबै संसदीय समितिका सभापतिहरुसँग नेपालका पर्वतीय मुद्दाहरुका सन्दर्भमा अन्तरक्रिया गरिएको थियो ।

गत भदौ १७ गते काठमाडौँमै नेपालका विभिन्न मुलुकका आवासीय राजदूत, दातृ निकायका प्रतिनिधि र विकास साझेदारका प्रमुखहरुसँग नेपालको पर्वतीय महत्व र यसका समस्याका बारेमा छलफल आयोजना गरिएको थियो ।

यसैगरी पर्वतीय वर्ष कार्यक्रम मनाउने सिलसिलामै गत असोज ५ र ६ गते मुस्ताङमा दिगो पर्वतीय समाधानका लागि अन्तर्राष्ट्रिय मुस्ताङ सम्मेलनको आयोजना गरिएको थियो ।

मुस्ताङ सम्मेलनबाट दिगो पर्वतीय समाधानका लागि मुस्ताङ घोषणापत्रसमेत जारी गरिएको थियो ।

उक्त घोषणापत्रको सन्देशलाई असोज १० देखि १३ गतेसम्म संयुक्त राज्य अमेरिकाको कोलोराडोमा आयोजित अन्तर्राष्ट्रिय पर्वतीय साझेदारीको छैटौँ अन्तर्राष्ट्रिय बैठक र गत कात्तिक २० देखि यही मङ्सिर २ गतेसम्म इजिप्टमा भएको जलवायु सम्मेलनमा नेपालका तर्फबाट प्रस्तुत गरिएको थियो ।

‘पर्वत हाँक्ने महिला’

संयुक्त राष्ट्र सङ्घले यस वर्षको अन्तर्राष्ट्रिय पर्वतीय दिवसका नारा ‘पर्वत हाँक्ने महिला’ तय गरेको छ । संसारभरि नै पर्वतीय क्षेत्रमा वातावरण संरक्षण र दिगो सामाजिक आर्थिक विकासका लागि महिलाहरुको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।

पर्वतीय साझेदारीका अनुसार पर्वतीय क्षेत्रको ५० प्रतिशतभन्दा बढी कृषि कार्यमा महिलाहरू नै संलग्न छन् ।

महिलाहरू पर्वतीय स्रोतहरूको प्राथमिक व्यवस्थापक हुनाका साथै जैविक विविधताका अभिभावक, परम्परागत ज्ञानका संवाहक, स्थानीय संस्कृतिका रक्षक र रैथाने औषधिका ज्ञाता हुन् ।

हाम्रो देशको सन्दर्भमा पनि पशुपालन, वन व्यवस्थापन, घरेलु उद्योग, पर्यापर्यटन, जडीबुटीको संरक्षण, सङ्कलन तथा दिगो उपयोगलाई महिलाले नै धान्दै आएका छन् भने प्रथाजनित अनुपम संस्कृतिको जगेर्ना पनि उनीहरूले गरिरहेका छन् ।

गोष्ठीका सहभागीहरूले पर्वतीय देश नेपालको सभ्यता, संस्कृति, जैविक विविधता, कृषि, उद्योग र पर्यटनलाई महिलाहरुले नै हाँकेका उल्लेख गर्दै पर्वतीय भेग र त्यससँग जोडिएका भूभागका महिला जलवायु परिवर्तन, गरिबी, अशिक्षा, पुरुषप्रधान कुसंस्कार र वातावरण विनाशबाट तुलनात्मक रुपमा बढी प्रभावित रहेको समेत सुनाए।

दिगो पर्वतीय विकास गर्ने हो भने पर्वतीय महिलाले झेल्नु परेका आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय चुनौती र समस्याको समाधानमा नीतिगत, कानुनी, संस्थागत, कार्यक्रमिक तथा व्यवहारगत प्रयास हुनुपर्ने उनीहरूको सुझाव छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष, २०२२ लाई मनाउन गरेका प्रयास, तिनका र उपलब्धिका बारेमा जानकारी गराइएको थियो ।

साथै, पर्वतीय अर्थतन्त्रको प्रवद्र्धन, संस्कृतिको जगेर्ना र वातावरण संरक्षणमा महिलाहरुले निर्वाह गरेको भूमिका एवं जलवायु परिवर्तनले महिलालाई पारेको असरबारे प्रकाश पार्दै दिगो पर्वतीय विकासका लागि लैङ्गिक समानताको महत्वबारे छलफल गरिएको थियो ।

गोष्ठीमा अर्थतन्त्र, जैविक विविधता, संस्कृति, नीतिनिर्माण, न्याय, कूटनीति, सामाजिक अभियानलगायत पर्वतीय विषयका विविध पक्षमा अगुवाइ गर्ने प्रेरणादायी महिला नेतृत्वहरुले आफ्ना विचार राखेका थिए ।

सर्वोच्च अदातलका न्यायाधीश सपना प्रधान मल्लको प्रमुख आतिथ्यमा र मन्त्रालयका निमित्त सचिव डा बुद्धिसागर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभाका सदस्य डा विमला राई पौड्याल, राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंह, प्रधानमन्त्रीका जलवायु परिवर्तन सल्लाहकार डा माधव कार्कीलगायत सहभागी थिए ।

कार्यक्रममा, रेड कार्यान्वयन केन्द्रका प्रमुख डा रामचन्द्र कँडेल, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका सदस्यसचिव डा सिन्धुप्रसाद ढुङ्गाना, मन्त्रालयका उपसचिव विनिता गुरागाईं, अधिकृत दीपा ओली, किर्डाक नेपालका गीता पाण्डे लगायतले दिगो पर्वतीय समाधानमा महिलाको भूमिकालगायत विषयका विभिन्न प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर