कर्णाली – दश वर्षअघिसम्म पनि तिला गाउँपालिका–४ जुम्लाको साँपुल्ली गाउँको उर्वर जमीनमा रैथाने अन्नबाली उत्पादन हुने गर्थ्यो । हिउँदे र वर्षे बालीले जताततै हरियाली दृश्य हेर्न पाइन्थ्यो । हिउँदमा जौ, गहुँ र उवा फल्ने त्यो उर्वर जमीनमा वर्षेयाममा कतै कोदो, चिनो, कागुनो त कतै मकै, सिमी, मार्से, लट्टे, भट्टजस्ता अन्न लटरम्म फलेको देखिन्थ्यो ।
अहिले भने त्यो उर्बर जमीनमा अन्नबाली होइन, घर फलेको पाइन्छ । अन्न उत्पादन हुने जग्गामा जताततै घरहरु बनेका छन् । ती पनि जस्तै जस्ता पाताले छाएका घरहरु ।
मानव स्वास्थ्यका लागि अत्यन्तै उपयोगी मानिने माटोका घरहरु वर्षैपिच्छे जस्तापाताले छाएका घरहरुमा परिणत भइरहेका छन् । अन्न उत्पादन गर्ने भूमि सकिएर जानै लाग्दा पनि संरक्षण तथा सम्वद्र्धन गर्नुपर्दछ भन्ने हेक्का कसैले राखेको पाइँदैन ।
आधुनिकताको विकाससँगै भएको परिवर्तनले हिजोका सुन्दर गाउँ ठाउँहरु आज अव्यवस्थित बस्तीमा परिणत भएका छन् । जनसङ्ख्या तीव्ररुपमा बढ्दै गएको छ ।
अव्यवस्थित बसोबास, जताततै फोहरैफोहर र योजना बिनाको विकासले मान्छे स्वयंलाई विभिन्न समस्याले झेल्ने गरेको दृष्टान्त खोज्नु पर्दैन । यसको पहिलो असर बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई पर्दै गएको छ ।
नवयुवा पुस्ताले काम गर्न छोडिसकेको छ । गाउँ बस्तीमाथि लेकमा रहेका जमीनहरु बाँझो हुँदै गएका छन् । केही युवाहरू जागीरका लागि आफ्नो थलो छोडेका छन् । धेरैजसो युवाहरू रोजगारीका लागि भन्दै खाडी मुलुकतिर हानिएका छन् । युवा विदेशिने लहड पहिलेभन्दा अहिले झन् बढ्दै गएको छ ।
युवा बाहिरिँदा जमिन बाँझो हुँदै जाने र घर नजिकको जमिनमाथि बस्ती विस्तार भएपछि उत्पादनमा कमी आउन थालेको छ । यसले यहाँका नागरिकको परनिर्भरता बढ्दै गएको स्थानीयवासीले बताउन थालेका छन् । हिजो नूनका लागि भोट मधेस धाउने यहाँका नागरिकहरुको जीवन अहिले हरेक थोक आयातमै निर्भर छ ।
हावापानी, आवास र खानपिनका दृष्टिले निकै गुणात्मक मानिने परम्परागत माटाका घरहरु टिनका पाताले बनेका घरबाट विस्थापित हुँदा मानिसलाई छाला, मुटु, बाथरोग, प्यारालाइसिस र शीतरोग बढी देखिने गरेको स्थानीय अगुवा बीरबहादुर सिंहले बताए ।
उनले भने, “हिजो ढुङ्गा र माटोले बनेको घर जहाँ दाउरा बालेर खाना पकाउने चुल्हो नजिकै मैडो (बस्ने ठाउँ) जोडिएको हुन्थ्यो र त्यहीँ बसेर न्यानो लिने गरिन्थ्यो । आज त्यो ठाउँमा सिमेन्ट प्लास्टर हुँदा बस्नै सकिन्न । छत जस्ताले ढाकेको छ । खाना ग्यासमा पकाइन्छ ।”
“खानेकुरामा पनि त्यतिबेला हामी फापर, मकै, कोदो, चिनो, कागुनो, जौं र उवा खान्थ्यौँ”, सिंहले भने, “अहिले चाउचाउ, चटपटे, पास्ता, पाउरोटीलगायत अधिकांश मैदाबाट बनेका परिकार र विदेशबाट आयतित वर्षौंसम्म थन्किएका वस्तु खाइरहेका छौँ ।” यो मूलतः हाम्रो उत्पादनको अभावमा पेट भर्न खानैपर्ने बाध्यता भएको उनले बताए ।
तयारी परिकार खाने बानीले आफ्नो उत्पादन गर्नुपर्नेमा कसैको ध्यान गएको देखिंदैन । यसले गर्दा रैथाने परिकार र त्यसको उत्पादन हुन सकेको छैन । जसले गर्दा नागरिकहरु पूर्णरुपले परनिर्भर भएको पाइन्छ । यो समस्या ठूलो रोगका रूपमा विस्तार हुँदै जानु भोलिको पुस्ताका लागि धेरै ठूलो चुनौतीको विषय बन्न जाने विज्ञहरू बताउँछन् ।
खेतीयोग्य जमिन मासेर घर बनाउने प्रतिस्पर्धा सहरी क्षेत्रमा त छँदै थियो, अहिले गाउँघरमा पनि हिजोका अन्न उत्पादन गर्ने खेत, गरा, आलीमाथि सडक बनाउने र घर निर्माण गर्ने कार्य तीव्ररूपमा चलिरहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन र जाँचबुझविना नै सडक खन्ने अनि आवास बनाउने काम निरन्तर छ । यसलाई विकास भनेर बुझ्ने गरिन्छ ।
पछिल्लो एक दशकमा माटोभन्दा जस्तापाताले बनेका घर निर्माण हुन थालेपछि त्यसले जलवायु परिवर्तनमा निकै असर पारेको देखिन्छ । घरमा राखिएको जस्तापातामा सूर्यको किरण सोझै पर्दा त्यसले तापमान बढाएको छ ।
त्यतिमात्र होइन, वर्षाको पानी सोझै टिनमा परी सो पानी एकत्रित हुँदा एकैचोटी बाढीको रुप लिने समस्या पनि त्यत्तिकै बढेको छ ।
जलवायु परिवर्तनका कारण बालीनालीमा रोग लाग्ने, अस्वभाविक न्यानो वृद्धि हुने, अनावृष्टि, अतिवृष्टि निम्तिने खतरा त बढ्दै गएको छ । त्यसमा पनि मानव स्वास्थ्य प्रतिकूल हुँदै जाने, सरुवाजन्य रोग तथा कुपोषण बढ्ने समस्या आइलागेको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिए ।
उनले भने, “जलवायु परिवर्तनले तराईमा हुने औलो पहाडमा हुन थाल्यो । लामखुट्टे हिमाली जिल्लाम्म पुग्दा डेङ्गु, कालाजार जस्ता सरुवाजन्य रोग बढिरहेका छन् । तराईमा तातो हावा र शीतलहर दुवैले मानव जीवन प्रभावित भएको छ ।” खडेरी बढ्दै जाँदा उत्पादन घट्ने, भोकमरी बढ्ने र त्यसले कुपोषणको समस्या निम्त्याउने गरेको उनको भनाइ छ ।
आवादी जमीन मासिएर जानु र पछिल्लो पुस्ताको व्यवहार एवं अभ्यास नैतिक र अनुशासित नहुनु चिन्ताको विषय बनेको तिला गाउँपालिका–४ जुम्लास्थित सेतीवाडा माविका पूर्व प्रधानाध्यापक गोरखबहादुर शाहीले बताए ।
“आवादी जग्गा मास्ने, खोला च्यापेर कसैले घर लगाउनु हुँदैन”, उनले भने, “यसो गर्दा एक दिन प्रकृतिले अवश्य बदला लिन्छ । आज जता पनि प्रँकृतिक विपद् भएको खबर सुन्छौँ, त्यसो हुनुमा यही कारण भएको पाइन्छ ।” मानवबस्ती व्यवस्थापन र आत्मनिर्भर समाज निर्माणका विषयमा तीनै तहका सरकारले बेलैमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
उनका अनुसार जनसङ्ख्या तीव्ररुपमा बढ्दै गएको छ तर उत्पादन घट्दै गएको छ । यसले भोलि भोकमरीको समस्या नआउला भन्न सकिदैन । बर्सेनि जनसङ्ख्या बढिरहँदा त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सरकारी नीति आए पनि कार्यान्वयन तहमा कुनै प्रभाव नरहेको प्रधानाध्यापक शाहीको भनाइ छ ।
राष्ट्रिय जनगणना २०६८ को त
