काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले आगामी वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि सञ्चालनमा ल्याउने जनाएको छ ।

आज प्राधिकरणको २४औँ वार्षिकोत्सव समारोहमा प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले आगामी वैशाखदेखि नेपालमा सञ्चालित अवैध फोन नियन्त्रणमा ल्याउने प्रविधि सञ्चालनमा ल्याइने बताए।

प्राधिकरणले गत साउन १ गतेदेखि आंशिक रूपमा अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको थियो ।

सो अवधिदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरे पनि पूर्ण रूपमा प्रविधि जडान हुन सकेको छैन ।

उनले एमडिएमएसका लागि आवश्यक पर्ने सफ्टवेयर आयात गरी जडानको काम सम्पन्न भएको भन्दै वैशाख १ गतेदेखि सो प्रविधि सञ्चालनमा ल्याइने बताए ।

“सर्भिस प्रोभाइडर छनोट गरी हाल इम्पोटर मोडल सञ्चालनमा आइसकेको छ, अब कस्टम मोडल सञ्चालनको तयारीमा हामी छौँ, अब बाँकी केही काम सकेर वैशाखदेखि नै सञ्चालनमा ल्याउँछौँ”, उनले भने ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुष्ठ अर्यालले प्राधिकरणले एमडिएमएस जडानका लागि धेरै भाका (जडानको समय) सार्ने गरेको बताए ।

“एमडिएमएस लागू गर्ने भाका धेरै सार्नुभयो, अब भाका नसारी छिटो अवैध फोन नियन्त्रणमा ल्याउनेतर्फ लाग्नुस्”, उनले अध्यक्ष खनाललाई भने।

एमडिएमएसको सफ्टवेयर तथा हार्डवेयर राख्न प्राधिकरणले चाबहिलमा भवन निर्माण गरेको छ ।

निर्माणाधीन भवन प्राधिकरणलाई हस्तान्तरण भएसँगै एमडिएमएसका सम्पूर्ण कार्य सोही स्थानबाट हुने प्राधिकरणले जनाएको छ ।

एमडिएम सिस्टमले कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने काम गर्छ ।

प्राधिकरणले विसं २०७६ असारमा ६ महिनाभित्र उक्त सिष्टम जडान गर्न भन्दै ओएसआई कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम प्रालि सिङ्गापुरको ज्वाइन्ट भेन्चर छनोट भएको थियो ।

उक्त कम्पनीलाई एमडिएमएस जडान गर्न ८० करोड बराबरको ठेक्का दिएको थियो ।

क्यूइए एप सार्वजनिक

प्राधिकरणले २४औँ वार्षिकोत्सवको अवसरमा एनटीए क्यूइए एप सार्वजनिक गरेको छ । मोबाइल सेवा गुणस्तरसम्बन्धी सर्वसाधारणलाई जानकारी दिनका लागि सो एप सार्वजनिक गरिएको जनाइएको छ ।

आज सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरेसँगै प्राधिकरणले सो एप प्ले–स्टोरमा उपलब्ध भएको जनाएको छ ।

एपमा प्रयोगकर्ता ३४५६७ सर्टकोड डायल गरी आइभीआर आधारित सर्वेक्षणमा र स्टार ३४५६७ ह्यास डायल गरी युएसएसडीमा आधारित सर्वेक्षणमा सहभागी हुन सक्नेछन् ।

साथै प्रयोगकर्ता वेबमा आधारित सेवाबाट समेत सर्वेक्षणमा सहभागी हुन सक्ने छन् । वार्षिकोत्सवको अवसरमा प्राधिकरणमा २० वर्ष काम गरेका दुई निर्देशकलाई दीर्घ सेवा पदक वितरण गरिएको छ ।

वि.सं २०५८ मा प्राधिकरणमा प्रवेश गरी २० वर्ष सेवा काम गरिसकेको भन्दै प्राधिकरणका निर्देशक सन्तोष पौडेल र डा सुरेन्द्र लालहाडालाई सो पदक दिइएको हो ।

वर्षभरिको उत्कृष्ट कर्मचारी अवार्ड प्राधिकरणका सहायक निर्देशक सगुन श्रेष्ठलाई दिइएको छ । उनलाई नगद रु १५ हजारसँगै दुई ग्रेड वृद्धि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर