
पोखरा – स्थानीय तहको निर्वाचनमा सामाजिक सञ्जालबाट आफूखुसी नगर प्रमुखका लागि उम्मेदवारी घोषणा नगर्न नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिले आग्रह गरेको छ ।
कार्यसमितिका सचिवद्वय गणेशबहादुर थापा र टुवराज बाँस्तोला ‘विशाल’ले आज विज्ञप्ति जारी गर्दै पार्टीको गरिमामा आँच नपुगोस् भन्नेतर्फ सजक हुन आग्रह गरेका छन् ।
स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै कांग्रेसका तर्फबाट पोखरा महानगरमा नगर प्रमुख पदका लागि उम्मेदवारमा आकांक्षी बढेका छन् भने कतिपय कार्यकर्तामार्फत नाम सार्वजनिक गराएका छन् । त्यस्तै कतिपयले सामाजिक सञ्जालमार्फत स्वघोषणा गरेका छन् ।
कांग्रेसको विधान, २०१७ तथा नवौँ संशोधन, २०७५ तर्फ कार्यकर्ताको ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा “नेपाली कांग्रेसको सम्बन्धित समितिको सिफारिसमा केन्द्रीय कार्यसमितिले उम्मेदवारको अन्तिम टुङ्गो नलाग्दासम्म कसैले पनि पार्टीको नामसँग जोडेर कुनै पनि पदका लागि सामाजिक सञ्जाल तथा समाचारमार्फत उम्मेदवारी घोषणा गर्न गराउन र नगर्न नगराउन हुन पोखरा महानगरपालिका कार्यसमिति अनुरोध गर्दछ” भनिएको छ ।
घोषणापत्र तयार गर्न सुझाव
नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिले आसन्न स्थानीय निर्वाचनका लागि घोषणापत्र तयार गर्दै गरेको सन्दर्भ जनाउँदै आम नागरिकसहितबाट सुझाव माग गरेको छ ।
घोषणापत्र महत्वपूर्ण राजनीतिक दस्तावेज भएको उल्लेख गर्दै पार्टीले कार्यकर्ता, युवा, विद्यार्थी, पत्रकार तथा नगरप्रेमी बुद्धिजीवीको सक्रिय सहभागिता रहोस् भन्ने उद्देश्यले नीति तथा योजना तयार पार्न सहयोग मागेको हो ।
“पोखरा महानगरका लागि कस्ता नीति तथा योजना तयार पारी कार्यक्रम सञ्चालन गर्दा पोखरा महानगरवासीलाई मानव विकास सूचकाङ्कको अग्रणी स्थानमा सूचीकृत गर्न सकिन्छ”, विज्ञप्तिमा भनिएको छ ।
त्यस्ता योजनाबारे स्थानीयस्तरमा छलफल गरी आवश्यक नीति, योजना तथा कार्यक्रमबारे कार्यसमितिलाई जानकारी गराउन आग्रह गरिएको छ ।
प्रतिक्रिया
-
४