काठमाण्डौ – नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको अन्तिम नामावली तत्काल सार्वजनिक गर्न माग गरेका छन्।
संस्थापनइतर जिल्ला सभापतिहरूले क्रियाशीलको नामावली हेर्न र त्रुटि सच्याउने न्युनतम अवसर पनि नदिइएकोमा आपत्ति जनाउँदै केन्द्रीय सफ्टवेयरमा इन्ट्री गरेका क्रियाशील सदस्यको नामावली तत्काल सार्वजनिक हुनपर्ने माग राखेका हुन् ।
जिल्ला सभापतिहरूको तर्फबाट विज्ञप्ति निकाल्दै नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीले उल्लेख गरेका छन्, -‘नामावली हेर्न र गम्भीर त्रुटि सच्याउने न्युनतम अवसर समेत नदिई जवरजस्ती अघि बढ्न खोजिएमा यसले गम्भीर समस्या निम्त्याउनेतर्फ नेतृत्व वर्गलाई बेलैमा सचेत गराउन चाहन्छौँ ।’
साथै १४ औं महाधिवेशन सुनिश्चित गर्न पनि उनीहरूको माग छ । कांग्रेसको ७५ वर्षे जीवनकालमा पार्टी महाधिवेशनको विषयलाई लिएर अहिलेजति कहिल्यै पनि हिनताबोध नभएको उनीहरूको भनाइ छ।
केन्द्रीय समितिले घोषणा गरेको महाधिवेशन कार्यतालिका प्रभावित भएको पाँचौंपटक भइसकेको भन्दै उनीहरूले पार्टी संकटमा पर्न दिन नहुनेमा ध्यानाकर्षण गराएका छन्।
पार्टी कार्यालयमा बारा कांग्रेसले जायज माग राखेर धर्ना दिए पनि अझै नेतृत्वबाट सुनुवाइ नभएको उनीहरूले बताएका छन्।
‘मुलुकको संविधान र आफ्नो विधानको परिधिभित्र रहेर १४ औं महाधिवेशनका सन्दर्भमा अब कत्तिपनि ढिला नगरी उपयुक्त निकास निकाल्न जरूरी छ। यसका लागि नेताहरूबीच पारस्परिक सम्मान, खुला संवाद र हार्दिकता सहितको अभूतपूर्व एकता अहिलेको अनिवार्य आवश्यकता रहेकोतर्फ नेतृत्ववर्गको पुन: ध्यानाकर्षण गराउन चाहन्छौं,’ उनीहरूले भनेका छन्।
कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म छ। तर वडादेखि प्रदेश सभा क्षेत्रीय अधिवेशनको कार्यतालिका प्रभावित भइसके पनि नयाँ कार्यतालिका बनेको छैन।
कांग्रेसले यसबारे छलफल गर्न केन्द्रीय समिति बैठक साउन २८ गते २ बजे बस्ने गरी बोलाएको छ।
प्रतिक्रिया
-
४