– भेषराज बुढाथोकी

२०७० सालमा एमालेको एउटा चुनावी सभा घुम्दै फिर्दै पङ्क्तिकारको गृहनगर डोगडीमा बस्यो । ‘बस्यो’ यस अर्थमा भनेको हो की चुनावी सभा भनेको ‘बसाई सराई गरीरहने मौसमी चरा’ जस्तै हो । जसलाई एक ठाउँ बसीरहन फुर्सद हुँदैन । हिँडीरहनु पर्छ । डुलीरहनु पर्छ ।

त्यो सभाको एक कुनामा यो पङ्क्तिकार उपस्थित थियो अब यसलाई ‘बुढाथोकी वाज वाचिङ साइलेन्ट्ली फर्म दि कर्नर’ भन्न पनि सकिन्छ । त्यहाँ एक जना नेता बोल्दै थिए । उनी त्यो सभाका सबभन्दा ‘अग्लो कद’ का नेता थिए ।

उनी भन्दै थिए -समाज परिवर्तन केवल कम्युनिष्टहरूबाट मात्रै सम्भव छ । किनकी कम्युनिष्टले समाज पढेको हुन्छ । कुनै पनि समाज बनाउनु अघि त्यसलाई ‘वस्तुपरक ढङ्ग’ले अध्ययन गर्न जरूरी छ । जसले अध्ययन गर्छ ,उसलै ‘नमुना समाज’को नक्सा कोर्न सक्छ । त त्यसो भएको हुनाले आधुनिक समाज निर्माणका लागि हामी एकताबद्ध हुनुपर्छ।

तीनै नेता हुन् – लालबहादुर थापा । पछि थाहा भयो । लालबहादुर थापाको ‘शारीरिक उचाई’ मात्रै अग्लो छैन । बाजुराको कम्युनिष्ट आन्दोलनमा , त्यहाँको विकास निर्माणमा पनि उनको योगदान शारीरिक उचाई भन्दा कम अग्लो छैन ।

कमरेड लालबहादुर थापाबाट यो पङ्क्तिकार केही कुराबाट प्रभावित छ । एउटा हो उनको भाषण कला । उनको भाषणमा सबभन्दा बढी दोहोरिने केही शब्दावली छन् । त्यो मध्य एक हो – ‘वस्तुपरक ढङ्ग’ले । उनी भनी रहन्छन् – हामीले वस्तुपरक ढङ्गले अध्ययन गर्नुपर्छ। वस्तुपरक ढङ्गले समाज रूपान्तरण गर्नुपर्छ । वस्तुपरक ढङ्गले समाज परिवर्तनका लागि योगदान गर्नुपर्छ। वस्तुपरक ढङ्गले कार्यकर्ता परिचालन गर्नुपर्छ।’

उनले भाषणमा दोहोर्याईरहने अर्को शब्द हो- ‘त त्यसो भएको हुनाले’ , ‘त त्यस कारण’ !

‘कम्युनिष्टहरू अरूभन्दा फरक हुन्छन् । अरूभन्दा फरक देखिन्छन् । एमाले अरूभन्दा फरक छ । त त्यसो भएको हुनाले हामीले बोलेर होइन गरेर देखाउनुपर्छ। त त्यसो भएको हुनाले नमुना टोल, नमुना समाज, नमुना नगर , नमुना जिल्ला हुँदै हामीले नमुना देश बनाउनुपर्छ।’

तपाईँ स्वर्गीय जननेता ‘मदन भण्डारी’को राम्रो अनुयायी हो भने उहाँका भाषण सुन्नु भएकै होला । जननेता भण्डारीले पनि आफ्नो भाषणमा बारम्बार दोहोर्याई रहने शब्द हुन्- ‘वस्तुपरक ढङ्गले , त त्यसो भएको हुनाले।’ आदी ।

ठ्याक्कै लालबहादुर थापाको भाषण सुन्दा मदन भण्डारीको झल्को आउँछ । यसर्थ अन्त थाहा छैन, बाजुराको सन्दर्भमा मदन भण्डारी सम्झाइरहने नेता हुन्- लालबहादुर थापा । भाषणले मात्रै होइन उहाँ संगठन निर्माणका हिसाबले पनि मदन भण्डारीको झल्को दिन्छन् । यसर्थ विचारका हिसाबले , संगठन निर्माणका हिसाबले ,जन परिचालनका हिसाबले नेता लालबहादुर थापालाई ‘बाजुराका एमाले’का मदन भण्डारी भन्दा अत्युक्ति हुन्छ जस्तो मलाई लाग्दैन ।

आफ्नो उमेरका हाँगाहरूले राम्ररी आकार नलिँदै,ओठ माथि जुङ्गाका रेखी नबस्दै कमरेड लालबहादुर थापा एमालेको ‘लाल झण्डा’ बोकेर समाज बनाउँछु भन्दै हिँडे । छोटो समयमै मदन भण्डारीको भाषणबाट बहुत प्रभावित थिए- लालबहादुर थापा । श्रमजीविको संघर्षको भट्टीबाट आकार पाएका नेता हुन्- लालबहादुर थापा ।

एउटा ‘पड काष्ट’मा पत्रकार तथा लेखक विजय कुमारले भनेका थिए- बालुवाटारका भित्ताले पनि गिरीजा बाबुलाई र मलाई एकनास चिन्छ होला । कारण बालुवाटारका भित्तामा गिरिजा बाबु संगै मैले पनि ‘पिएर छादेको’ छु । भित्ताका पनि आँखा हुन्छन् भन्छन् , त्यही भएर यो कुरा बालुवाटारका भित्तालाई पनि थाहा होला ।

ठ्याक्कै त्यस्तै बाजुराको दक्षिणी भेग बाह्रबिस देखि उत्तरी भेग बिच्छ्याका प्रत्येक ढुङ्गा माटोले लालबहादुर थापा त के उनको पैतला पनि चिन्छन् होला । जिल्लाको कुनै बाटो नहोला- जहाँ लालबहादुर थापा नहिँडेको । कुनै खोला नहोला- जहाँ लालबहादुर थापा नतरेको । कुनै गाउँ नहोला- जहाँ लालबहादुर थापा नबसेको । कुनै टोल नहोला- जहाँ लालबहादुरका खुट्टाले नटेकेको । थापा जिल्लाका अरू नेताको तुलनामा गाउँ आइरहने , गाउँ टेकीरहने , गाउँ डुलीरहने नेतामा पर्छन् । लालबहादुर थापाको वास्तविक परिचय नै यही हो । उनको वास्तविक छवि नै ‘गाउँको नेता’ हो । ‘जनताको नेता’ हो । तल भुईँमा बसेर , भुईँमै बसेका जनताको लागि काम गरीरहने उनको ‘अच्छा स्वभाव’ हो । यही स्वभावका कारण उनी अरू भन्दा फरक छन् ।

लालबहादुर थापाले आफ्नो बामपन्थी यात्रा २०४५ सालमा नेपाल ल क्याम्पसबाट सुरू गरे । ‘नेपाल ल क्याम्पस’ लाई तत्कालीन समयमा ‘राजनीतिको उर्वर नर्सरी’ मानिन्थ्यो । त्यही नर्सरीबाट फूलेको सुन्दर फूल हो – लालबहादुर थापा । थापाले ल क्याम्पसमा अखिलको प्रारम्भिक कमिटी सचिव हुँदै उपाध्यक्ष सम्मको काम गरे । त्यसपछि बाजुरा-काठमाण्डौ सम्पर्क मञ्चको अध्यक्ष भए। जसबाट थापाले आफ्ना विचार, योजना , दृष्टिकोण ,सिद्धान्त र नीतिको सञ्जाललाई थप मलजल गरे । आफू हिँड्ने राजनीतिको बाटो थप फराकिलो बनाउँदै लगे । थप मजबुत बनाए ।

त्यसपछि थापा जिल्ला फर्के । तत् पश्चात २०५३ सालमा एमाले बाजुराको सचिव भई काम गरे । उनी एमाले बाजुरा जिल्ला कमिटी सचिव भईसके लगत्तै मुलुकभर स्थानीय चुनाव भयो । २०५४ सालको स्थानीय चुनावमा बाजुरालाई ‘एमालेमय’ बनाए । फलस्वरुप २६ बर्षको कलिलो उमेरमा बाजुरा जिल्ला विकास समिती सभापति भए । सायद उनी देशकै कान्छो जिविस सभापति होलान् ।

एमाले बाजुरामा लालबहादुर थापाको एउटा फरक संयोग छ । लालबहादुर थापा एमाले जिल्ला सचिव हुँदा स्थानीय चुनावमा पार्टीलाई पहिलो बनाए । उनी एमाले जिल्ला अध्यक्ष हुँदा संविधान सभा चुनावमा एमालेलाई जिताए । यसबाटै प्रष्ट हुन्छ कि लालबहादुर थापा एमाले बाजुराको ‘कर्मी मौरी’ हुन् , जसको काम अरूलाई ‘टोक्न’ जाने हैन , घारभित्र ‘मह बोक्न’ जाने हो । एमाले बाजुराको मह उत्पादन गर्ने ‘पावर हाउस’ हुन्- लालबहादुर थापा ।

थापाले जिल्ला विकास समिती सभापति हुँदा पुरातन विकास वादी सोचलाई बदलेर ‘आधुनिक विकास’ को बाटो समाते । उनले भने- जिल्लाको विकास सुगम गाउँबाट होइन , दुर्गम गाउँबाट सुरूवात गर्नुपर्छ । विकास सदरमुकामको पायक पर्ने गाउँबाट होईन , सदरमुकामबाट टाढा रहेको दूर गाउँबाट गर्नुपर्छ । यो उनको ‘आधुनिक विकास अवधारणा’ थियो । आज जिल्लामा जे जति विकासको अनुहार देखिन्छ । त्यसको सूत्रधार हुन्- लालबहादुर थापा । त्यो सपना साक्षी राख्ने एउटा योजनाकार हुन्- लालबहादुर थापा ।

जिविस सभापति हुँदा उनले ‘पञ्च बर्षिय योजनाको’ जगमा टेकेर ‘सन्तुलित विकासको अवधारणा’ अगाडि सारे । राजनीतिमा लालबहादुर थापाको एउटा फरक विचार छ- हावामा उड्नु भन्दा जमिनमा बलियो गरी टेक्नुपर्छ । यही फरक कामका कारण उनले जिल्लामा हैन देशभर चर्चा बटुले । कान्छो सभापति , काँचो उमेर तर परिपक्व काम र असाधारण कार्यक्षमताको मूल्याङ्कन तत्कालीन ‘जिविस महासङ्घ’ बाट भयो । यही कारण उनलाई तत्कालीन शाहीकालिन् पुरस्कार ‘गोरखा दक्षिण बाहु’ दिने कुरा राजाबाट हुकुम भयो । त्यो बेला मुलुकमा दलहरूलाई प्रतिबन्ध लगाइएको थियो ।

लालबहादुर थापाले दलहरू प्रतिबन्ध लगाएको समयमा दिईएको ‘गोरखा दक्षिण बाहु’ ठाडै अस्वीकार गरे र भने – म कुनै राजा महाराजबाट कुनै पुरस्कार थाप्दैन । म जनताको नेता हो । जनताले दिएको ताली र गाली मलाई स्वीकार छ । कुनै राजा महाराजाबाट होईन । मलाई जनताले दिएको दण्ड र पुरस्कार स्वीकार छ । राजा महाराजाबाट होईन ।

देशभर माओवादी जनआन्दोलन सुरू भयो । आन्दोलनको आगो गाउँ गाउँमा सल्क्यो । जिल्ला जिल्लामा सल्क्यो । यसबाट बाजुरा पनि अक्षुत रहेन । माओवादी संग अग्रभागमा रहेर डटेर लड्ने नेता हो – लालबहादुर थापा । गाउँ देखि वस्तीसम्म , टोल देखि समुदायसम्म लालबहादुर थापा माओवादी संग ‘वैचारिक युद्ध’ लडीरहे । माओवादीभन्दा एमाले फरक हो भन्ने कुरा व्यवहारिक रूपमै सिकाईरहे । जुन बेला अन्य नेता माओवादी संग डराउँथे।

नेता थापा संग एउटा फरक ‘खुबीलिटी’ छ । त्यो हो- कार्यकर्ताको संरक्षण । जसरी कुखुराको माउले बच्चा कोरल्न , आफ्नो पखेटाले सबै अण्डालाई समान रूपले छोप्छ। त्यस्तै लालबहादुर थापा आफ्ना कार्यकर्तालाई हेर्ने दृष्टिकोण समान राख्छन् । यसरी उनी कम्युनिष्ट आन्दोलनको अग्लो झरना हो- जसबाट धरतिले समान बाछिटा ग्रहण गर्छ ।

लालबहादुर थापाले २०६९ सालमा एमाले बाजुराको अध्यक्ष भएर काम गरे । काम मात्रै गरेनन् । उनकै नेतृत्वमा हो , ‘काङ्ग्रेसको गढ’ भत्काएर संविधान सभाको निर्वाचनमा एमालेले जित्यो । संविधान जारी भएपछिको पहिलो निर्वाचन २०७४ मा थापाले बाजुरालाई ‘एमालेले जीतेको जिल्ला’का रूपमा दोहोर्याई रहे । सांसदका रूपमा पहिलो पटक डेब्यु गरेका थापाले थुप्रै जनप्रिय काम गरे । नेतृत्वको रक्षा गर्दा गर्दै पनि चित्त नबुझेको कुरा फ्याट्ट भन्ने स्वभाव थापाको हो ।

आर्थिक बर्ष २०७६/७७ को बजेटमा बाजुरालाई उपेक्षा गरेको , प्राकृतिक विकासको सिद्धान्त अनुसार बजेटको समान वितरण नगरेको भन्दै , जनताले जिताएको जनप्रतिनिधिको रूपमा उनले संसदको रोष्ट्रममै ‘रातो किताब’ च्यातेर फाले । आफ्नै पार्टी अध्यक्ष प्रधानमन्त्री भएको बेला , आफ्नै पार्टीका सांसद यातायात मन्त्री भएको बेला , आफ्नै पार्टीको पूर्व उपाध्यक्ष राष्ट्रपति भएको बेला , जिल्ला विकासका लागि ‘रातो किताब’ च्यातेर फाल्ने ‘रातो मान्छे’ हुन्- लालबहादुर थापा ।

दशैँ ताका एक जना जिल्ला नेता संगको भेटमा यो पङ्क्तिकारले सोधेको थियो – लालबहादुर थापालाई त दशैँ तिहार पनि नलाग्ने रहेछ है । सबै नेता दशैँमा ‘घरमुख’ हुँदा लालबहादुर थापा पार्टीको संगठन विस्तारमा गाउँमा छन् ।

तीनले भनेका थिए- उनको जीवनमा यस्ता दशैँ तिहार कति गए गए । उनलाई पार्टी र संगठन नै ठिक्क छ ।

हुन पनि हो । दशैँको दुई दिन अघिसम्म पनि लालबहादुर थापा , पार्टी बनाउन जिल्लाको उत्तरी भेगमा जनताको घरदैलोमा व्यस्त थिए । दशैँ तिहारले घर बोलाउँदा पनि लालबहादुर थापा जनतालाई कार्यक्रममा बोलाउँदै थिए । चाडपर्व धपक्क बल्दा पनि लालबहादुर थापा पार्टी प्रति निभ्न लागेको जनताको विश्वास जोगाउदै थिए । घर उज्यालो बनाउने समयमा नेता थापा जनताको मन उज्यालो बनाउने अभियानमा थिए ।

लालबहादुर थापा ‘काम’ तिर बढी ध्यान दिने नेता हुन् । ‘नाम’ तिर होइन । यही कारण जिल्लाका , प्रदेशका समकालिन नेताले भकाभक पदको आफ्नो उम्मेद्वारी घोषणा गर्दा पनि लालबहादुर थापा चुपचाप छन् । उनलाई जनताकै कामको चिन्ता छ । पदको होइन ।

किसान महासंघको केन्द्रीय उपाध्यक्ष समेत भएर काम गरेका उनले नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा डेब्यु गरेका थिए । उनी यो आलेख लेख्दा सम्म केन्द्रीय सदस्यमै सक्रिय छन् । फरक भूगोल अछाम र आफ्नो भूगोल बाजुरा जिल्लाको ईञ्चार्ज भएर समेत उनले आफूलाई ‘संगठनका हिमायती’का रूपमा प्रस्तुत गरे । त्यसर्थ लालबहादुर थापा गुगलको नेता होइन । भूगोलको नेता हो । आसन्न एघारौँ महाधिवेशनबाट थापा केन्द्रीय सदस्यबाट बढुवामा पर्छन् या दोहोरिन्छन् ? त्यो प्रश्नको उत्तर महाधिवेशनको गर्भमै छ । लालबहादुर थापा जनताको नेता हुन् भन्ने कुरामा हामीलाई भने गर्व लागिरहोस् । नेता थापालाई एउटा जिल्लावासी शुभेच्छुकको हिसाबले मेरो हार्दिक शुभकामना ! हार्दिक शुभेच्छा !

( लेखक चिकित्साशास्त्रका विद्यार्थी हुन् । साहित्यमा रूचि राख्ने उनी कविता, गजल, संस्मरण र कथा लेख्छन् ।)

प्रतिक्रिया

सम्बन्धित खवर