एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल निष्कर्षविहीन भएको छ । ओली र नेपालबीच दुई घण्टा भएको छलफलमा कुनै सहमति जुट्न नसकेको हो ।

बैठकमा अध्यक्ष ओली पावर सेयरिङमा सहमत नभएपछि एमाले विवाद समाधानमा कुनै प्रगति हुन नसकेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । ‘खासगरी अध्यक्ष ओली पावर सेयरिङमा सहमत नभएपछि वार्ता निष्कर्षविहीन​ बन्यो,’ ती नेताको भनाइ छ ।

मेरियट भेटवार्ताअघि बुधबार दिउँसो ओली र नेपालबीच फोन संवादसमेत भएको थियो । उक्त भेटमा ओलीले गम्भीर सङ्कट आइलागेको नेता नेपाललाई बताएका थिए । तर साँझको भेटमा ओलीले पूर्ववत् अडानबाट पछि नहट्ने अडान राखे पछि सहमति हुन सकेन । मेरियटमा नेताहरुबीच भएको छलफलपछि नेता भीम रावल र सुरेन्द्र पाण्डेले भेटवार्ताले समस्या समाधान गर्न सहज हुने प्रतिक्रिया मात्रै दिए ।

होटल मेरियटमा ओली र नेता नेपाललाई पार्टी विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरूले कार्यदल तहमा भएका सहमति र हुनसक्ने प्रगतिबारे ब्रिफिङ गरेका थिए । ओली र नेपाललाई कार्यदलका नेताहरू नेपाल पक्षका कार्यदल संयोजक भीम रावल, सदस्य सुरेन्द्र पाण्डे तथा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ छलफलमा सहभागी भएका थिए ।

बैठकस्थलबाट बाहिरिने क्रममा बरिष्ठ नेता नेपालले पत्रकारलाई केही पनि प्रतिक्रिया दिन मानेनन् । नेता नेपालभन्दा केही ढिलो गरी राति ९ बजेर ५२ मिनेटमा होटलबाट बाहिरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मिडियालाई कुनै प्रतिक्रिया दिएनन् ।

कार्यदलका सदस्य भीम रावलले पत्रकारहरुसँग भने, ‘कार्यदलका तर्फबाट कुराकानी गरिरहेको यहाँहरुलाई थाहा छँदैछ, शीर्ष नेताहरुवीच कुराकानी भयो । सकारात्मक दिशामा कसरी लैजाने भन्नेमा कुराकानी भइरहेको छ । फेरि कुराकानी हुनेछ । कुराकानीलाई गहिराइमा लानुपर्ने महसुस भएको छ ।  फेरि पनि कुराकानी गर्ने छौं । जति पनि वार्ता भइरहेको छ, समस्या समाधानका लागि भइरहेको छ ।’

कार्यदलका अर्का सदस्य सुरेन्द्र पाण्डेले  ओली र नेपालवीच एक्लाएक्लै कुराकानी भएको र त्यो सकारात्मक भएको बताए । अब विहीबार पुनः कार्यदलको बैठक बस्ने नेता पाण्डेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर