समाजसेवी यूवा अच्युतराज ढकाल जोसिला यूवा क्लबको संस्थापक अध्यक्ष हुन् । राष्ट्रका लागि यूवा (युथ फर नेशन), दारी ग्याङ उपाध्यक्ष तथा बिभिन्न युवा समूह जसमा डाक्टर, इन्जिनियर, वैज्ञानिक, कलाकार, राजनीतिकर्मीहरूसङ्ग आबद्ध भएर जनचेतना बढाउने कार्यमा संलग्न भई समाज विकासका लागि अघि बढी रहेका छन् ।

उनले क्लबमार्फत विभिन्न सरकारी र गैरसरकारी संस्थाबाट महिला ,बालबालिका र वृद्ध वृद्वाहरूलाई निशुल्क स्वास्थ शिविर ,न्यानो कपडा वितरण र सूर्यगढी – ५ का सम्पूर्ण विद्यालयहरूमा शैक्षिक सामग्री तथा खेलकुद साम्राग्री वितरण गरेर होस् या अन्य कारणले स्थानीयबासीहरूलाई सहयोग गरिरहका छन् । ढकालले नेपाली कांग्रेसबाट स्थानीय तहको निर्वाचन २०७९मा सूर्यगढी –५,गणेशस्थानमा वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। उनै उम्मेदवार ढकालसँग सेतोमाटो डटकमका लागि मनु विद्रोहीले गरेको कुराकानीको सारांश यस्तो छः

स्थानीय चुनाव मुखैमा आयो । यहाँ वडाअध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । तयारी कस्तो छ ? जित्नुहुन्छ ?

चुनावको तयारी त संघर्षपूर्ण छ । हार्ने जित्ने भन्दा नि नयाँ पिढि नयाँ सोचको कुरा छ । त्यसैले जित्ने नै तयारी हो यदि हाम्रा कुरा जनतालाई चित्तबुझेको खण्डमा जित्न सकिन्छ कि भन्ने चै छ ।

टिकट पाउन पैसा लाखौँ बगाउनु पर्छ भन्छन्, साँच्चै हो ? तपाईँले पनि टिकट पाउन पैसा खर्च गर्नु पर्यो कि ?

खर्च भनेको पैसा नि हो अनि समय पनि । सक्नेले पैसा खर्च गर्छन् समय जोगाउन अनि अरुले समय खर्च गर्छन । मैले विगत ५÷६ वर्षदेखि निरन्तर सामाजिक कार्यमा क्रियाशील रही समय दिएको छु । त्यसैले टिकटको लागि पैसा त खर्च गर्न परेन तर दौडधुप र मिहिनेत चाहि धेरै गर्न पर्यो ।

के कारणले उम्मेदवारी दिनुभयो । यो पदको लागि आफू योग्य छु भन्ने आधारहरू के के छन् तपाईँसँग ?

विगतको काम र काम गर्ने सोचहरू देख्दा यो पालो हाम्रो नयाँ सोच ल्याउन मन लागेको थियो । अरुले गरेका कामहरू नियाल्दा खासै चित्त नबुझेको कारण आफै केहि गरम भन्ने उद्देश्य लिएर उम्मेदवारी दिएको हुँ। सामाजिक काममा रुचि भएको कारण नि यो उम्मेदवारी मेरो लागि झन् धेरै सामाजिक काम गर्ने एक प्लेटफर्म हो ।

यहाँको चुनावी एजेन्डा के के छन् ? तपाईँले जित्नु भएमा वार्डको लागि के त्यस्तो काम गर्नुहुनेछ जो अरुले गरेनन् ?

एजेण्डाहरू खासै धेरै त छैन तर पनि कुरालाई भन्दा कामलाई महत्व दिने ट्रेन्ड बसाल्नु छ । सबैभन्दा पहिला शिक्षा र स्वास्थ्यलाई नै प्राथमिकतामा राखेर काम गर्छु । कृषि र लोकल व्यवसायलाई अघि बढ्ने माहोल बनाउन वातावरण बनाउने विचार छ । यही केहि गर्छु भन्ने युवालाई टिक्ने वातावरण नि बनाउनु छ । त्यसको लागि पुराना र नयाँ सोच मिलाएर अघि बढ्छु ।

चुनावी एजेन्डाहरू त हरेक उम्मेदवार राम्रा नै हुन्छन् । मतदातालाई यस्तो लागिसक्यो कि, यी सब भ्रामक कुरा हुन्, चुनाव जित्ने दाउ मात्र हो । मतदाताको यो कुरालाई कसरी चिर्नुहुन्छ ? एजेन्डा पूरा गर्न सक्ने आधार के के हुन् ?

सबैले आफ्नो ठाउँबाट सक्ने गर्ने हो भने केही हुने हो । म भन्दा अघि जो जसले वाचा गर्नु भो उहाँहरूले वाचा पुरा गर्नु भयो वा भएन त्यो त समयले बताउनेछ नै तर यसपाली चुनावी माहोल हेर्दा जनतामा चेतना बढिसकेको हुनाले कुरा गर्ने वा वाचा गर्ने भन्दा काम गर्नेलाई समर्थन गर्ने देखिएको छ ।

मैले विगतमा गरेको कामहरु धेरै ठूलो त छैन तर मसँग आउने समयमा अझै धेरै काम गर्ने योजना छन् जसको लागि मसंँग त्यो सोच्न सक्ने र त्यसको लागि लाग्न सक्ने टिम छन । त्यसैले मसँग त्यो आत्मविश्वास छ ।

चुनाव अघि गरेका वाचा पुरा नगर्ने, भोट माग्दा नमस्कार गर्ने हातहरू काम पर्दा फोन समेत नउठाउने जस्ता गुनासा जताततै सुनिन्छ चुनावपछि । तपाईँले कसरी आश्वस्त पार्नुहुन्छ आफ्ना मतदातालाई ?

म सबै कुरा गर्न सक्छु त भन्दिन तर मैले आफ्नो बलबुताले भ्याएसम्म गर्नेछु । सबैको गुनासोहरूलाई टिपेर भावी कार्ययोजना तयार गर्नेछु र त्यसको लागि आफुसँगै आफ्नो समुदायलाइ प्रेरित गर्नेछु।

तल्लो तहमा पनि भ्रष्टाचारले जरा गाडेका कारण ग्रामिण विकास कछुवाजस्तै गतिमा छ । भ्रष्टाचार शून्यमा झार्न के गर्नुहुन्छ ? आजका वाचा भुलेर तपाईँनै भोलि मुछिनु भयो भने ?

भ्रष्टाचार एक गरिब मानसिकताको परिणाम हो । सबैकुरा पुग्दा पनि मान्छेको इच्छा आकांक्षा सकिदैन । यसलाई कन्ट्रोल गर्न स्वयं आफैंबाट शुरु गर्न पर्ने हुन्छ ।

आफ्नो कहिले नसिद्धिने इच्छा आकांक्षालाई लगाम लगाउन नसके भ्रष्टाचार बढिरहन्छ र समाज नै ग्रसित हुन्छ । व्यवहारिक र आध्यात्मिक शिक्षाले चेतना बढाउन सके हामीले यसलाई लगाम लगाउन सक्नेछौ । चेतनाको विकाश भएपछी समाज आफै विकास हुनेछ नै । आजको हाम्रो वाचा जसरि नि पूरा गर्नु हाम्रो जिम्मेवारी हुनेछ ।

समाज सेवा गर्ने माध्यमहरू थुप्रै छन् राजनीति नै किन रोज्नु भो ?

सबैले सक्ने गर्ने हो र समाजसेवा झन् धर्मकर्मको विषय पनि हो । राजनीति गरेर समाजसेवासंगै देश सेवा र मानवसेवा नि हुने भएकोले मैले यो बाटो रोजेको हुँ ।

अन्त्यमा आफ्ना मतदातालाई केही भन्नु छ ?

अन्त्यमा, आफ्नो मतदाताहरुलाइ यहि भन्न चाहन्छु कि तपाइको १ मतले तपाइको भविष्य निर्धारण गर्छ । सहि मुल्याङ्कन गर्न सक्नु भो भने उज्ज्वल भविष्य निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर