कावासोती – नारायणी नदीको उत्तरी भँगालोमा पानीको बहाव कम हुँदै गएपछि नवलपुरतर्फको नारायणी नदी तटीय क्षेत्रका सर्वसाधारण र संरक्षणकर्मीहरूका लागि चिन्ताको विषय बनेको छ ।

नारायणघाटमा रहेको नारायणी नदीको पुलदेखि केही किलोमिटर तल शिख्रौली घाटबाट नारायणी नदी दुई भँगालोमा बाँडिएर बगेको छ । नवलपुरतिर बग्ने भँगालोलाई उत्तरी र चितवनतर्फ बग्ने भँगालोलाई दक्षिणी भँगालो भन्ने गरिन्छ ।

यतिबेला नारायणी नदीको पानी अधिकांश भाग चितवनतर्फको दक्षिणी भँगालोबाट बग्न थालेपछि नवलपुरतर्फका संरक्षणकर्मी र सर्वसाधारणका लागि भविष्यमा यसले पुर्याउन सक्ने सम्भावित असर चिन्ताको विषय बनेको हो ।

चितवनतर्फ विकास निर्माण तथा नारायणी नदीको तटबन्धका लागि सेतिदेवी सामुदायिक वन आसपास अत्यधिक मात्रामा नदी उत्खनन गर्दा गहिरिएर नदीको बहाव दक्षिण भँगालोतर्फ सोझिँदा नवलपुरका तटीय क्षेत्र सुक्खा हुने अवस्थामा पुगेका हुन् ।

केही दिनअघि मात्रै चरा गणनाका लागि नारायणी नदी किनारमा पुगेको टोलीलाई पनि नवलपुरतर्फ पानीको बहाव कम हुँदा समस्या आएको संरक्षणकर्मी डिबी चौधरीले बताए। यतिबेला नवलपुरतर्फको उत्तरी भँगालोमा पानीको बहाव निकै कम हुँदा चरा गणनाको क्रममा पिठौली घाटदेखि शिख्रौली घाटसम्म डुङ्गासमेत चल्न नसकेको उनको अनुभव थियो ।

उत्तरी र दक्षिणी भँगालो अमलटारी घाटमा आएर मिसिने हुँदा अमलटारीदेखि शिख्रौलीसम्मको उत्तरी भँगालो लगभग सुक्खा हुने अवस्थामा पुगेको उनले बताए । “यतिबेला नारायणीको पानीको लगभग ९५ प्रतिशत पानी चितवनतर्फको दक्षिण भँगालोबाट बगेको छ, यसले गर्दा नवलपुरको तटीय क्षेत्र, जैविक विविधता र निकुञ्जको सुरक्षामा समेत चुनौती थपिएको छ”, चौधरीले भने।

धेरै मात्रामा नदीजन्य पदार्थ उत्खनन् गर्दा नदीले धार परिवर्तन गरेर दक्षिणी भँगालोतर्फ गएको अर्का संरक्षणकर्मी विष्णु अधिकारी बताउछन् ।

नारायणी नदीको उत्तरी भँगालो आश्रित भएर नवलपुरका तटीय क्षेत्रमा सञ्चालन भएका पर्यापर्यटनका गतिविधिसँगसँगै नदीमा आश्रित जलचर र थलचर प्राणीलाई यसले गम्भीर असर पार्ने उनको भनाइ छ । उत्तरी भँगालोमा नदीको पानी कम हुँदा निकुञ्जका वन्यजन्तु सहजै नवलपुर क्षेत्रका बस्तीमा प्रवेश गर्ने र यसले मानव वन्यजन्तु द्वन्द्व थप बढ्ने अधिकारी बताउछन्।

प्राकृतिक कारणले नदीले धार परिवर्तन गर्नु स्वाभाविक भए पनि मानवीय क्रियाकलापका कारण नदीको धार परिवर्तन हुनु दुःखद भएको शिशवार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डे बताउछन् ।

चितवनतर्फ विकास निर्माणका लागि अत्यधिक मात्रामा नदी उत्खनन् गरिँदा नवलपुर क्षेत्रको तटीय क्षेत्र सुक्खाग्रस्त हुँदै गएको र यसले भविष्यमा यस क्षेत्रमा गम्भीर नकारात्मक असर पुर्याउने पाण्डेले बताए। धार्मिक आस्थासँग जोडिएको नारायणी नदीमा हिउँदको समयमा नवलपुर क्षेत्रतर्फ नदी स्नानलगायत धार्मिक अनुष्ठानका लागि पानीको अभाव हुन लागेको पाण्डेले बताए ।

“यसरी नदीको पानी घट्दै जाँदा धार्मिक, आर्थिक, पर्यटकीय गतिविधिमा गम्भीर नकारात्मक असर पर्ने भएकाले नदीलाई प्राकृतिकरूपमा नै बग्न दिनुपर्छ”, पाण्डेले भने ।

नारायणी नदीको उत्तरी भँगालोमा पानीको सतह घट्दै गएपछि निकुञ्जको सुरक्षा चुनौती बढेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउछन् ।

“स्वाभाविकरूपमा उत्तरी भँगालोमा पानी कम हुँदा निकुञ्जको सुरक्षा चुनौती बढेको छ, आगामी दिनमा जैविक विविधता र नारायणी तथा निकुञ्ज आश्रित जनसमुदायमा यसले गम्भीर असर पुग्ने देखिएको छ”, तिवारीले भने ।

उत्खनन् भएको भनिएको क्षेत्र निकुञ्ज क्षेत्रभित्र नपर्ने भएकाले नदीको धार आफैँ परिवर्तन भएको हो या उत्खनन्का कारणले भएको यसै भन्न नसकिने उनको धारणा छ ।

नारायणी नदीको उत्तरी भँगालोमा पानी घटेपछि संरक्षणकर्मी मात्रै नभई नदी किनारका बासिन्दाका लागि भने यो ठूलो चिन्ताको विषय बनेको छ । नदीमा आश्रित भएर माछा मारेर जीविकोपार्जन गर्ने बोटे, माझी, मुसहर समुदाय मात्रै नभई नारायणी नदीमा किनारमा रहेका होमस्टे, होटल व्यवसायी तथा पर्यटन व्यवसयी चिन्तित बनेका छन् । सँगसँगै नदी किनारमा दाह संस्कार गर्न तथा अन्य धार्मिक गतिविधि सञ्चालन गर्न समस्या भएको सरोकारवालाको धारणा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर