
मधेस प्रदेश प्रदेशसभाको पाँच वर्षको अवधिमा नौ वटा अधिवेशनबाट ५५ वटा विधेयक पारित भएका छन् ।
मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले शनिबार पाँच वर्षको उपलब्धिबारे जानकारी दिँदै प्रदेशसभाको नौ वटा अधिवेशनमा दुई सय २८ बैठक, तीन सय ११ घण्टा १८ मिनेट ५६ सेकेन्ड सभा सञ्चालन भएको र प्रदेशसभामा दर्ता भएको ६१ वटा विधेयकमध्ये ५५ वटा पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भएको जानकारी दिए ।
उनले पारित हुन बाँकी छ विधेयक विचाराधीन अवस्थामा प्रदेशसभा सचिवालयमा रहेको बताए।
प्रदेशसभाको पहिलो बैठकबाट प्रदेशसभा कार्य सञ्चालन आन्तरिक कार्यविधिको रूपमा ‘प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५’ पारित गरी सभाको सञ्चालन एवं कामकारबाही व्यवस्थित हुँदै आएको सभामुख यादवले जानकारी दिए ।
सभामुख यादवले विचाराधीनमध्ये पाँच विधेयक विभिन्न समितिमा छलफल गरी प्रतिवेदन सभामा पेश गर्ने अवस्थामा रहेको भए पनि नवौँ अधिवेशन अन्त्य भइसकेकाले उक्त प्रतिवेदन पेश हुन नसकेको जानकारी दिए ।
प्रदेशसभाले आफ्नो कामकारबाही व्यवस्थित गर्न सात विषयगत समिति गठन गर्नुका साथै समय समयमा विशेष समिति गठन गरी आफ्नो कामकारबाही प्रभावकारी रूपमा व्यवस्थित गर्दै आएको सभामुख यादवले दाबी गरे ।
प्रदेशसभाले सरकारको छ नीति तथा कार्यक्रम, छवटा बजेट र दुई पटक विश्वासको मतको सम्बन्धमा छलफल गरी निर्णय गर्नुका साथै यसै अवधिमा प्रदेशको राजधानी र नामको प्रस्ताव २०७८ माघ ३ गते दुई तिहाइभन्दा बढी मतले पारित भएको जानकारी दिए ।
सभामुख यादवले प्रदेशसभाको आफ्नो र सुविधा सम्पन्न भवन नभएका कारणले कोरोना महामारीपछि प्रदेशसभाको बैठकमा पत्रकार तथा सर्वसाधारणलाई प्रवेश गराउन नसकिएको स्वीकार गर्दै नयाँ भवनको निर्माण भएपछि सबै कुराको व्यवस्था हुने बताए ।
नेपालको संविधान जारी भएपछि २०७४ साल मङ्सिर १० र २१ गते सम्पन्न प्रदेशसभा निर्वाचनपश्चात् निर्वाचित भएका प्रदेशसभा सदस्यको २०७४ साल माघ ७ गते सपथ भएर सोही महिनाको २१ गते प्रदेशसभाको पहिलो बैठकबाट प्रदेशसभाको कार्य थालनी भएको सभामुख यादवले जानकारी दिए ।
प्रतिक्रिया
-
४
-
१०