गोदावरी- कैलालीको चुरे गाउँपालिका– ४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्क शम्शेर जङगबहादुर राणाले निर्माण गरेको दरबारको  संरक्षण नहुँदा  जीर्ण बन्दै गएको हो ।

एक सय वर्ष पुरानो दरबार कुनै तहबाट पनि पहल नभएको चुरे गाउँपालिका– ४ का वडाध्यक्ष कृष्ण मल्लले बताए । स्थानीय बासिन्दाले भने यसको  संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गर्दै आएका छन् ।

दरबार जीर्ण हुँदै गएकाले पछि लगाइएको टिनको छाना हावाले उडाएको छ भने प्रयोगविहीन हुँदा भवन भत्किँदै जानका साथै   कलाकृतिले भरिएको भित्ता पनि २०५५ सालदेखि भत्किन सुरू भएको वडाध्यक्ष मल्लको भनाइ थियो  ।

विसं २०३२ सम्म दरबारमा  चहलपहल हुँदै आएको  थियो ।   खड्कका छोरा बहादुर पछि उनका साहिला छोरा तेजप्रकाशको भागमा दरबार परेको स्थानीय जानकार बताउँछन् ।

विसं २०३३ पछि भने यहाँ कोही पनि बसेका छैनन् ।हावापानी, मौसम र भौगोलिक रुपमा उपयुक्त भएकाले राणा शासकले गर्भालाई रोजेको हुनसक्ने बुझाइ स्थानीय बासिन्दाको छ । पुराना कलाकृतिका दरबारमा ८३ झ्याल र ५३ ढोका छन् ।

दश रोपनी जमिनमा फैलिएको दरबारको तीन खण्ड र तीन तल्ला छ । सुरक्षाका लागि दरबारको भूइँतल्लामा सुरुङसमेत बनाइएकामा अहिले पुरिँदै गएको छ । उतिबेला राणा शासक खैरालाको दरबारबाट बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फूमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको बताइन्छ ।

चुरे गाउँपालिकाले यस दरबारलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सोच बनाएको अध्यक्ष धनबहादुर रोकामगरले बताए । दरबार संरक्षणका लागि पर्याप्त बजेट नभएकाले  आफूहरूले प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिरहेको उनको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले हरेक आर्थिक वर्षमा बजेट विनियोजन गर्दै आए पनि फ्रिज हुने गरेको भौतिक पूर्वाधारमन्त्री  दीर्घ सोडारीले बताए । आर्थिक वर्षको अन्तमा बजेट निकासा भएकाले  पर्याप्त समय नहुँदा फ्रिज हुने गरेको उनको भनाइ थियो ।

गत वर्ष पुरातत्व विभागको एक टोलीले दरबारको अवलोकन गरेकामा त्यसको प्रतिवेदन सरकारलाई बुझाएपछि काम शुरु गरिने बताइएको छ  ।

– मीन ठाकुर

प्रतिक्रिया

सम्बन्धित खवर