समाज सेवामा सक्रिय तथा नेपालमा सबैभन्दा धेरै पटक रक्त दान गरेर रेकर्ड बनाउने व्यक्ति प्रेम सागर कर्माचार्य हुन् । कर्माचार्य रक्तदाता समाजको केन्द्रिय अध्यक्ष हुन् । हाल उनले स्थानीय निर्वाचन २०७९मा नेपाल उन्नत पार्टीबाट काठमाडौँ महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका छन् । उनै कर्माचार्यसँग सेतोमाटो डटकमका लागि मनु विद्रोहीले गरको कुराकानीको सारांशः
स्थानीय चुनाव मुखैमा आयो । काठमाडौ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनुभएको छ ।तपाईंको बालेन शाह र केशव स्थापितको जस्तो चर्चा छैन किन ? तयारी कस्तो छ ? जित्नुहुन्छ ?
चुनावमा सहभागी हुनु भनेकै जित हात पार्न हो भने हार स्वीकार्ने हो भन्दा फरक नपर्ला । कुरा रह्यो चर्चाको । चर्चा कस्तो भन्नेमा भर पर्छ । महानगरबासीहरू हिजोको जस्तो सस्तो लोकप्रियता हासिल गर्न खोज्नेहरूलाई बुझ्न र चिन्न सक्ने भईसकेको अवस्था छ ।
के कारणले उम्मेदवारी दिनुभयो । यो पदको लागि आफू योग्य छु भन्ने आधारहरू के के छन् तपाईँसँग ?
व्यक्ति बिशेषमा केन्द्रीत हुन आवश्यक ठान्दिन म । हिजोका दिनदेखि चुनावलाई नजिकबाट हेर्दै सघाउँदै आएको थिए । उम्मेदवारी किन भन्नेमा केन्द्रीत हुन चाहन्छु । समाव सेवा र राजनीति दुई भिन्न अर्थ राख्ने पाटा हुन् । तर, समाज सेवा स्थानीयदेखि राष्ट्रिय स्तरसम्म गैर सरकारी संस्थाको रूपमा आफ्नो बिधान सम्मत कार्य सम्पादन गरि सेवा प्रदान गर्ने हो भने राजनीति जनताको मत प्राप्त गरि वैधानिक रूपमा सेवा उपलब्ध गराउने थलो हो । तसर्थ, समाज सेवाको आधिकारिक थलो भनेको जनमत प्राप्त गरि निर्वाचित भई जनप्रतिनिधिको तर्फबाट सरकारी नेतृत्व लिनु नै हो ।
यहाँको चुनावी एजेन्डा के के छन् ? तपाईँले जित्नु भएमा काठमाडौँ महानगरपालिकाको लागि के त्यस्तो काम गर्नुहुन्छ जो अरुले गरेनन ?
महानगरपालिकामा भइरहेको बेथिति र आम महानगरबासीले विवशता बस भोगिरहेका समस्याबिरूद्ध हाम्रो उम्मेदवारी हो । भइरहेका समस्याहरू र बेथितिहरूको पहिचान गर्ने र समाधानपत्रमा उल्लेख गर्न सक्ने महानगरबासी के सक्षम र योग्य छैन र !
हाललाई समाधान पत्रमा उल्लेखित ३२ बुँदा नै काफि छ ।
तपाईंले १६९ पटक रक्त दान गरिसक्नु भएको छ । रक्तदान गर्दैमा महानगरपालिकाको मेयर बन्न पाइन्छ जस्तो लाग्छ कि चर्चाको लागि मात्रै उठ्नु भएको हो ? भोलि तपाईंको धरौटी जफत भएन भने के गर्नु हुन्छ ?
तपाईंको बुझाई नै गलत जस्तो लाग्यो । मैले गर्ने रक्तदान र रक्तदान गर्न/गराउने मेरो निरन्तर चलिरहने नित्य कर्म नै हो । चर्चा के को लागि जफत नहुनु त राम्रै हो नि होइन र ?
चुनावी एजेन्डाहरू त हरेक उम्मेदवार राम्रा नै हुन्छन् । मतदातालाई यस्तो लागिसक्यो कि, यी सब भ्रामक कुरा हुन्, चुनाव जित्ने दाउ मात्र हो । मतदाताको यो कुरालाई कसरी चिर्नुहुन्छ ? एजेन्डा पूरा गर्न सक्ने आधार के के हुन् ?
त्यसैले त हामीले घोषणा पत्रको ढोंगी प्रचार बन्द गरौं भनेका छौं । हामीले समाधान पत्र भनेर सार्वजनिक गरेका छौं ।
हामीले उल्लेख गरेका ३२ बुँदाहरू पूरा गर्न केहि समस्या छैन । यसका लागि दीर्घ ईच्छा शक्ति, समर्पण, त्याग र तपस्या हुन जरुरी छ ।
चुनाव अघि गरेका वाचा पूरा नगर्ने, भोट माग्दा नमस्कार गर्ने हातहरू काम पर्दा फोन समेत नउठाउने जस्ता गुनासा जताततै सुनिन्छ चुनावपछि । तपाईँले कसरी आश्वस्त पार्नुहुन्छ आफ्ना मतदातालाई ?
अरूको कुरासँग मतलब नराखि हाम्रो व्यवहारप्रति केन्द्रीत हुन आग्रह गर्न चाहन्छु ।
तपाईंलाई नै चुनाव किन जिताउने ?
आफूप्रति केन्द्रीत भएर हार जीतको अपेक्षा नगरौं । समाज सेवा गर्ने माध्यमहरू थुप्रै छन् राजनीति नै किन रोज्नु भोरु
अघि नै माथि उल्लेख गरिसके कि । जनमत लिएर आधिकारिक तवरले सरकारी संयन्त्रको नेतृत्व लिनु र जनसेवा गर्नु नै वास्तविक समाज सेवा हो ।
*अन्तर्वार्ताको शीर्षकमा कर्माचार्य हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । सम्पा.
प्रतिक्रिया
-
४
