काठमाडौँ – संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस (अक्टोबर २४) का अवसरमा नेपाली सेनाले आइतबार काभ्रेकोे पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विशेष कार्यक्रम गर्दैछ ।

विश्वका राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्ध कायम गरी अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा स्थापना गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको स्थापना २४ अक्टोबर १९४५ मा भएको हो ।

नेपालले भने सन् १९५५ डिसेम्बर १४ (विस २०१२ मङ्सिर २९)मा संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेको हो । हाल राष्ट्रसङ्घका १९३ सदस्य र दुई पर्यवेक्षक मुलुक छन् ।

राष्ट्रसङ्घ स्थापना दिवसका अवसरमा केन्द्र परिसरमा झण्डोतोलनका साथै शान्ति स्थापना कार्यमा खटिने क्रममा निधन हुनेको योगदानको स्मरण गरी सम्मान प्रकट गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

रक्षामन्त्री डा मीनेन्द्र रिजाल, प्रधानसेनापति प्रभुराम शर्मा, यहाँस्थित संयुक्त राष्ट्रसङ्का आवासीय संयोजक सारा बेइसोलो न्यान्ती, विभिन्न दूतावासका प्रमुख एवं प्रतिनिधिको सहभागीता हुने उक्त कार्यक्रममा राष्ट्रसङ्घको भूमिका र योगदानको चर्चा गरिनेछ।

शान्ति स्थापना कार्यमा कार्यस्थलमा खटिएकै अवस्थामा विद्रोही समूहको गोलीबाट निधन भएका मानार्थ प्रमुख सेनानी कविन्द्र थापालाई प्रदान गरिएको ‘ड्याग ह्यामर शोल्ड मेडल’ उनका परिवारबाट केन्द्रलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

संयुक्त राष्ट्रसङ्घ विश्वका सबै सदस्य मुलुकको साझा अन्तर्राष्ट्रिय संस्था हो । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा मुख्यालय रहेको राष्ट्रसङ्घमा हाल महासचिव एन्टोनियो गुटेरेस हुन् ।

संयुक्त राष्ट्रसङ्घको सबैभन्दा महत्वपूर्ण अङ्ग सुरक्षा परिषद्मा अमेरिका, चीन, रुस, बेलायत र फ्रान्स सदस्य छन् ।

नेपालसँग सन् १९६७–१९६८ र १९८८–१९८९ मा सुरक्षा परिषद्को अस्थायी सदस्यका रुपमा काम गरेको अनुभव छ । उक्त परिषद्मा १० मुलुक अस्थायी सदस्य छन् ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी पठाएर योगदान पु-याउँदै आएको छ ।

पूर्वराजदूत दिनेश भट्टराई संयुक्त राष्ट्रसङ्घ नेपालजस्ता मुलुकका लागि आफना धारणा निर्भिकताका साथ विश्वसमुदायलाई सुनाउने महत्वपूर्ण मञ्च भएको बताए ।

उनले भने, “नेपालले शान्ति स्थापनाका लागि गरेको योगदानको विश्व समुदायबाट मुक्त कण्ठले प्रसंशा हुँदैआएको छ, बडापत्र, सिद्धान्त र उद्देश्यप्रति समर्पित भएर काम गरेकाले राष्ट्रसङ्घमा योगदानअनुरुपको हैसियत र प्रतिनिधित्व बढाउन प्रयत्न गर्नुपर्ने देखिन्छ ।”

द्वन्दरत मुलुकमा स्थापना भएका ४३ शान्ति मिसनमा रही एक लाख ३५ हजार ३९९ नेपाली शान्ति सैनिकले योगदान दिइसकेका छन् ।

हाल विश्वका १२ शान्ति मिसनमा रही १८१ महिलासहित पाँच हजार १६८ नेपाली शान्ति सैनिक परिचालित छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तर्फबाट पनि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यमा गौरव गर्न लायक योगदान भइरहेको छ ।

शान्ति स्थापनाका सिलसिलामा ६८ नेपाली सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६६ गम्भिर घाइते भएको सेनाले जानकारी दिएको छ ।

अहिले शान्ति सैनिक धेरै सङ्ख्या पठाउने मुलुकको सूचिमा नेपाल दोस्रो वरियतामा छ । राष्ट्रसङ्घबाट माग भई आएमा नेपालले १० हजारको सङ्ख्यामा सैनिक पठाउन सक्ने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ ।

सदस्य राष्ट्रलाई अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक विकास र सामाजिक निष्पक्षतामा आपसी सहयोग गर्ने उद्देश्यले राष्ट्रसङ्घ स्थापना भएको हो । वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी भन्छन्, “संयुक्त राष्ट्रसङ्घको आह्वानअनुरुप शान्ति स्थापनामा नेपालको प्रशंसनीय योगदान रही आएको छ ।”

संयुक्त राष्ट्रसङ्घले नेपालको शिक्षा, स्वास्थ्य, गरीबी निवारण, क्षमता अभिवृत्तिलगायत मानवीय सहायताका क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर