काठमाडौँ / नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले पूर्वप्रधामन्त्री झलनाथ खनालको उपचार खर्च कुन कानूनको आधारमा सरकारले व्यहोर्ने निर्णय गरेको हो ? भन्दै प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न नमिल्ने भन्दै कुन कानूनको आधारमा पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च राज्यकोषबाट व्यहोर्ने निर्णय भएको हो भन्दै प्रश्न गरेका हुन् ।

उनले लेखेका छन् “उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले निर्णय गर्ने प्रचलन थियो । यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्‍यौँ र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौँ । तर पनि प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन।

कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा मैले नै ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने संशोधन प्रस्ताव राखेँ ।

यो संशोधन संसदले स्विकार्दै बनेको कानून २०७५/६/२ गतेदेखि लागू भयो । कानुनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न मिल्दैन।

प्रधानमन्त्रीज्यू अब भन्नुस् पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?”

प्रतिक्रिया

सम्बन्धित खवर