– मञ्जु गुरुङ

कोरियन पतिले कुटेर शरिर नै अपांग भएको समाचारकी पात्र बनेकी लक्ष्मी तामाङको वास्तविकता भने अर्कै रहेको पछि पुष्टी भयो  । म्यारिज व्यूरो मार्फत कोरियन नागरिकसंग विवाह गरी कोरिया भित्रिएको तीन महिना भित्रै अस्पताल भर्ना भएकी लक्ष्मीले आपूmलाई पतिले कुटेर शरिर नै नचल्ने भएको मिडियालाई बताउदै आएपछि उनी हट न्यूजकी पात्र बनिन् । त्यसैले नेपालबाट आएका मानवअधिकार कर्मिहरुसंग पनि उनको त्यही बयानका कारण कोरियामा विवाह गर्ने नेपाली चेलीहरु पिडित रहेको एक प्रत्यक्ष उदाहरण बनिन् । जसले गर्दा नेपालको संचारमाध्यममा पनि निकै हट न्यूज बन्यो लक्ष्मी ।
उनलाई कोरिया स्थित नेपाली राजदूताबासको प्रत्यक्ष संलग्नतामा छोडपत्र गरे बापत पतिबाट एक करोड वन (करिब रु.दश लाख) दिलाइयो । त्यसैले एक पीडित चेलीको रुपमा नेपालीहरुको सामूहिक आर्थिक सहयोग पनि जुट्यो । तर पछि अस्पतालले पतिले कुटेर उनी अपांग बनेको हैन उनको शरिरमा पहिलादेखि नै रहेको रोगका कारण त्यस्तो भएको भन्ने रिपोर्ट अस्पतालले दिएको यस घटनासंग सम्बन्धीत एक समाजसेवीले खुलाइन । तैपनि आर्थिक अधिकार दिलाइदिने विभिन्न सहयोगी संस्थाको आश्वासनमा उनी नेपाल पुगेर फेरी कोरियामै फर्कीन । कोरियामा दाताहरुबाट केही आर्थिक सहयोग पाएपछि नेपाल फर्किन ।
त्यस्तै गोर्खाकी एक गुरुङ थरकी युवतीले पनि कोरिया आएको केही महिनामै कोरियन पतिले कुटेर घरमा बस्नै नदिएको भन्दै सेल्टरमा शरण लिन पुगिन । गर्भवति समेत रहेकोले उनलाई पनि धेरै नेपालीहरुले कठै भन्दै लत्ता कपडा र पैसाको  सहयोग जुटाई दिए । नैपालीहरुकै सहयोगमा उनले अस्पतालमा बच्चा पनि जन्माइन । अन्तत श्रीमानसंगको मनमुटाव कोरियाली पारिवारीक अदालतमा पुग्यो अनि बच्चा कोरियन पतिको नभएको निर्णय गर्दै छोडपत्र गरिदियो । ती युवती अहिले पनि कोरिया मै रहेकी छिन् ।
कोरियामा विवाह गर्ने नेपाली चेलीले दुःख पाएको समाचारका यी दुई प्रत्यक्ष पात्रहरु हुन्  । यी युवतिहरुले जे जे भने त्यो नै समाचार बन्यो । तर वास्तविक्ता केहो… ? पछि समयले बतायो । यसरी कोरियन पतिले कुट्ने, सासुले गाली गर्ने, घरमा राम्रो नगर्ने भन्दै घर छाडेर भाग्ने अझ कोही त बच्चा नै छाडेर भाग्ने धेरै नेपाली युवतीहरुको बारे समाचार नबने पनि नेपाली समुदाय माझ प्रसस्तै चर्चा हुने गर्दछ । यस्ता चर्चा कोरियामा मात्रै सिमित नभइ नेपाल र विश्वकै नेपाली समुदाय माझ फैलिएको छ । जसले नकरात्मक छाप छाड्न सहयोग पुराइरहेको छ ।
कोरियन नागरिकसंग विवाह गरेर आएकी केही युवतिहरुले  आत्माहत्या गरेको घट्ना पनि छन् । किन गरिन त्यो रहस्य उनीहरुले आफैसंग लिएर गइन तर त्यो दुखत समाचारले पनि कोरियनसंग विवाह गर्ने चेलीहरुको अवस्था बारे शंका उब्जायो । धेरैले पतिकै कारण आत्माहत्या गरिन भन्ने अनुमान गरे । यी समाचारहरुले कोरियनसंग विवाह गर्दा महिलाहरु धेरै पीडित हुने सन्देश देश विदेशका नेपाली समुदायमाझ फैलायो । र नेपाली समाजमा कोरियन ज्वाईहरुप्रति सशंकीत बनायो । साथै धेरै अभिभावकलाई चिन्तित पनि । कोरियनसंग सुखद दाम्पतय जीवन विताइरहेका चेलीहरुप्रति पनि समाजको शसंकीत नजर तेर्सिन थाल्यो । साथै अनावश्यक प्रश्नहरुले मानसिक तनाब नै उत्पन्न गरायो । अझै पनि यो स्थिती कायमै छ ।
यसरी कोरियन पतिबाट आपूmले धेरै दुःख पाएको पीडा मिडियामा पोखेर दयाकी पात्र बनेकी उनीहरुले किन पीडित हुन पुगे भन्ने सन्दर्भको कतै पनि उल्लेख गरिएको छैन । मिडियाले पनि त्यो कारणको खोजी गर्न सक्दैन । कोरियाको पत्रकारिताको समय अभाव, भाषिक समस्या र पीडकप्रतिको पहुचका कमिले पनि यस्ता कारणको खोजी गर्न मिडियकर्मीलाई कठिन छ । पीडित र पीडक दुवै पक्षको भनाई राखेर बनाइने संतुलित समाचारको अभावका कारण पनि यस्ता नकरात्मक छाप पर्न सहयोग पुगेको अनुमान गर्न सकिन्छ ।
मिडियामा अथवा मानव अधिकारको रिपोर्टमा यस्ता घटनाका चर्चा भएता पनि कोरिया भित्रिएका पीडित धेरै नेपाली बुहारीहरुको वास्तविकता अलिक फरक पाउछौ । यहाँका कतिपय नेपाली बुहारीहरु कोरिया छिर्न मात्र विवाहको माध्यम अपनाएका हुन्छन् । उनीहरुको मुख्य उद्येश्य घरजम गर्ने सफल दाम्पत्य जीवन जिउने भन्दा पनि पैसा कसरी कमाउने र नेपाल पठाउने भन्ने नै हुन्छ ।  अझ कोही त  म्यारिज ब्यूरोलाई भारी रकम  बुझाएर ऋण बोकी आफै किनिएर कोरिया भित्रिएका हुन्छन् । यस्ता युवतिहरुले न त पतिको उमेर कै ख्याल गर्छन न अन्य । उनीहरु कोरिया भित्रिन साथ काम गर्न खोच्छन र ऋण तिर्ने अनि यो गर्ने र उ गर्ने  सपना बुन्न थाल्छन् ।
तर कोरियन पुरुषहरु भने नेपालका युवतिहरु सोझा र इमान्दार हुन्छन् भन्ने सोचेर भारी रकम तिरी जीवनको साहारा खोज्दै विवाह गरेर ल्याएका हुन्छन् । त्यसैत अन्तरदेशिय विवाह अझ फरक भाषा र  संस्कृतीको कठिनाइ त छदैछ । यस्ता कठिनाइका बाबजुद गाँसिएको दुई मन एउटै भएर अघि बढ्दै सफल दाम्पत्य जीवनको उदाहरण बन्नु कम चुनौति पूर्ण छैन । यस्ता चुनौतिको सामना गर्न दुवै पक्षबाट एक अर्काको संस्कृती र इच्छालाई बुझदै सम्मान गर्न आवश्यक छ । तर दुवै पक्षको सोचाई नै फरक भएपछि परिवारमा मनमुटाव आउनु स्वाभाविक हो । जसले विभिन्न हिंसा पनि निम्ताउछ ।  नेपाली चेलीहरु पनि यस्तै हिंसाको शिकार हुन पुग्छन् । र कतिपय यस्ता घट्नाहरुले मिडियामा समाचारको रुप लिन्छ ।
कतिपय युवतिहरु भने शुरुमा पतिसंग राम्रै गरेर बसे जस्तो गरे पनि कोरियन नागरिकता लिएपछि पतिसंग छोडपत्र गरी नेपाली युवासंग घरजम गर्ने सोचमा पनि बसेका पाउछौ । यस्ता युवतिहरु कोरियन नागरिकताको लागि एउटा बच्चा बनाए पनि थप बच्चा जन्माउन चाहदैनन् । अचानक गर्भ रहेपनि गर्भ तुहाउदै बसेका हुन्छन् । यस्ता महिलाहरु कोरियामा  आर्थिकरुपमा, भाषा र संस्कृतीमा पनि बलिया भइसकेका हुन्छन । कतिपय युवतिहरु विवाह गरेपनि पतिलाई संगै लिएर हिड्न चाहदैनन् । अनि नेपाली समुदायमाझ सार्वजनिक हुन चाहदैनन् । कतिपय भने मोटर बगंलाको मालिक भएको धाक देखाउदै अन्य महिलाहरुसंग प्रतिस्पर्धात्मक भावनाले ग्रसित हुन्छन् ।
कोरियामा छोडपत्र गर्दा नेपालमा जस्तो श्रीमतिलाई अनिवार्य सम्पत्ति दिनुपर्ने प्रावधान छैन। कस्को गल्ती हो त्यो छुटाएर गल्ती गर्नेले जरिवाना तिर्नु पर्छ । यदी बच्च आमाको साथमा रहे पालनपोषणको रकम पाउनेछ ।  तर विदेशी केटीहरुको मामलामा केटी पक्षबाट बोल्दीने दरिलो प¥यो भने विदेशबाट कोरिया ल्याएर अलपत्र पारेको कारण देखाएर कसैले ठूलै रकम पाएका छन् । तर यदी केटीको गल्ती देखिएमा विदेशी केटीसंग जरिवाना तिर्ने पैसा नहुने भएकाले खाली हात छोडपत्र गरेको उदाहरण पनि छन् ।
एक पटक मात्र देखेकै भरमा विवाह गरी आएका पुरुषहरु कतिपय भने साँच्चै खराब व्यवहार भएका पनि पर्छन् । त्यसो त पति राम्रै परेपनि परिवारको अन्य सदस्यका कारण पनि नेपाली चेलीहरु पीडित हुन पुग्छन् । तर यस्ता पीडित युवतीहरु प्राय सार्वजनिक हुन चाहदैनन् । तैपनि कोरियामा वैवाहिक भिषामा आउने नेपाली चेलीहरुको संख्या दिन दिनै बढ्दै गइरहेको छ । त्यसैले यस्ता अन्तराष्ट्रिय वैवाहिक सम्बन्धमा व्यक्ति र समाजका बाबजुद राष्ट्रिय पहिचान पनि जोडिने भएकाले अझ सचेत र सजग हुन आवश्यक छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर