काठमाडौँ – गजलकार वसन्त ओली ‘वसन्ती’को गजल सङ्ग्रह ‘बोई’ सार्वजनिक भएको छ । चैत १२ गते शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक विशेष समारोहकाबीच ओलीका बाजे (हजुरबुवा) मानबहादुर ओलीलगायतले ‘बोई’ विमोचन गरेका हुन् ।

लामो समयदेखि नेपाली साहित्य क्षेत्रको विशेषतः गजल विधामा निरन्तर लागि परेका दाङका गजलकार ओलीको उक्त गजल सङ्ग्रह हजुरआमा ‘बोई’को सम्झनामा आधारित रहेको छ ।

शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा वरिष्ठ सञ्चारकर्मी तथा बुलबुल पब्लिकेशनका सञ्चालक अच्युत घिमिरे‘ बुलबुल’को अध्यक्षतामा सञ्चालन गरिएको उक्त समारोहमा वरिष्ठ कलाकार सन्तोष पन्त, गजलकार डा. घनश्याम परिश्रमी, गजलकार शीतल, करुण थापा, बाबु त्रिपाठी, घनेन्द्र ओझालगायतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन ‘बोई’को संस्मरणसहितको प्रोमो बजाएर गरिएको थियो । प्रोमोसनल भिडियोमा बोइप्रतीको प्रेम झल्काउने गीतसँगै बोईका लागि लेखिएको लेख पनि समावेश गरिएको छ ।

बोईमा गजलका अलवा आफ्नी बोईलाई सम्झेर लेखिएको मार्मिक लेख पनि छ । उक्त लेख लेख्दै गर्दा बोईलाई सम्झिँदै भक्कानिएर लेख्न लामो समय लागेको उनले बताए । “बोई, मेरा लाथि धेरै थोक हुनुहुन्थ्यो, उहाँलाई प्लेन चढाउने धोको थियो त्यो सम्भव भएन ।” उनले भावुक हुँदै भने ।

ओली भन्छन् “मैले ‘बोई’साथमा रहुन्जेल केही प्रण गरेको थिएँ , त्यो पूरा गर्न सकिनँ । जसले मलाई पोलिरहन्छ । कागजमार्फत पूरा गर्न लागिरहेको छु ।”

सो अवसरमा गजलकार ओलीले गजलमार्फत बोईका मृत्युपश्चात् आफ्नो मस्तिष्कमा ओहोरदोहोर गरिरहने यादहरू, सपना, योगदान र इच्छाहरू व्यक्त गरेको बताए ।

“पीडा, अभाव, चोट, अधुरा सपना, फुटबलले दिएको धोका, बोई छुटेपछिको समय ,अझ बढी बोईका केही अधुरा सपना, तपाईंहरूको माया, हौसला र आशिर्वादले म गर्भवती भएको छु। मेरो सामान्य गजलचेतको पेटमा भएको सन्तानको नाम ‘बोई’ राखेको छु,” ‘बोई’को नामाकरणबारे उनले भने ।

सो अवसरमा गायक राज सागरसहितको समूहले उक्त सङ्ग्रहभित्रका दुई ओटा गजलसमेत गाएका थिए । विमोचन समारोहमा डा. घनश्याम परिश्रमीले वसन्तीका गजल बहरको सुन्दर मालाभित्र उनिएको भन्दै प्रशंसासमेत गरेका थिए ।

त्यस्तै, भविष्यमा शसक्त गजल लेख्नका लागि शुभकामना व्यक्त गर्दै वरिष्ठ गजलकार घनेन्द्र ओझाले ‘बोई’का गजलहरू पनि उत्तिकै शसक्त भएको बताएका थिए ।

बुलबुल पब्लिकेशनद्वारा आयोजित उक्त कार्यक्रमको प्रायोजक न्यू हिरा पुस्तक एण्ड स्र्पोटस् सेन्टरलगायत रहेको थियो भने मिडिया पार्टनरको रूपमा सेतोमाटो मिडिया, साहित्यपोष्ट र नेपाल राइबार रहेका थिए ।

बुलबुल पब्लिकेशनले प्रकाशन गरी बजारमा ल्याइएको उक्त गजल सङ्ग्रहभित्र प्रेम, देशभक्ति र सामाजिक यथार्थतालगायत विषयका १०१ ओटा गजलहरू सङ्ग्रहित छन् ।

हार्ड कभर र सफ्ट कभर गरी दुई खालको कभर रहेको उक्त गजल सङ्ग्रहको वितरणको जिम्मेवारी सफल पब्लिकेशनले लिएको छ भने विमोचन अघि प्रि–बुकिङ्समेत भइसकेको बताइएको छ ।

वि.सं २०६९ सालमा उपन्यास ‘तिर्सना’बाट नेपाली साहित्यमा प्रवेश गरेका वसन्त ओली वसन्तीको ‘बोई’एकल रूपमा आएको दोस्रो कृति हो । यसअघि ओलीको ‘तिर्सना’ (उपन्यास–२०६९), ‘कोशेली’ (संयुक्त मुक्तक सङ्ग्रह), ‘इन्द्रेणी –४’ (संयुक्त गजल सङ्ग्रह) बजारमा आइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर