
काठमाडौँ – पुष्पपराग साहित्य प्रतिष्ठानले विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । प्रत्येक वार्षिकोत्सवमा प्रतिष्ठानले विभिन्न विधामा प्रदान गर्दै आएको पुरस्कार तथा सम्मान यस बर्ष पनि प्रदान गर्ने घोषणा गरेको हो ।
यही चैत २६ गते लेखनाथ पौडेल सभाकक्षमा एक कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कार वितरण गरिने प्रतिष्ठानले जानकारी दिएको छ ।
संस्थाले पुष्पपराग वर्ष सम्मान पुरस्कार – २०७८ का लागि साहित्यकार बखतबहादुर थापालाई प्रदान गर्ने भएको छ ।
संस्थाले नियमित रूपमा पुरस्कार प्रदान गर्दै आएका विभिन्न दाताले पुष्पपराग साहित्य प्रतिष्ठानका छाताभित्र रहेर प्रदान गर्ने पुरस्कारहरू पनि प्रदान गर्ने घोषणा गरेका छन् ।
यसअन्तर्गत तिलकुमार खड्का स्मृति पुरस्कार भगिरथी श्रेष्ठलाई, नील–गंगा भाषा साहित्य पुरस्कार प्रा. डा. योगेन्द्र यादवलाई, पद्मावती गीतसंगीत पुरस्कार, गायिका लोचन भट्टराईलाई, शुक्रमन्दिर लोक साहित्य पुरस्कार संगीतकार बादल लिम्बूलाई प्रदान गरिने भएको छ ।
त्यस्तै, मुना स्मृति आख्यान तथा काव्य पुरस्कार साहित्यकार बी. के. पाल्पालीलाई (मरणोपरान्त), कृष्णलाल गोपिनी शिवाकोटी स्मृति पुरस्कार गीतकार तथा गायक सुरेश शाहीलाई, परममाया र कृष्णप्रसाद थपलिया स्मृति पुरस्कार भाषाविद् मुकुन्दशरण उपाध्यायलाई प्रदान गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष डा. प्रदीप मैनालीका अनुसार पुरस्कार छनोट समितिले भिन्न भिन्न विधामा प्रस्ताव गरेका ३÷३ वटा प्रस्तावित नाममध्ये एक÷एक जनाको नाम पुष्पपराग साहित्य प्रतिष्ठानको कार्यसमितिले पारित गरेको र यसैगरी गीत, संगीत, कला, भाषा तथा साहित्यमा विशिष्ट योगदान पुर्याउँदै आएका एक जनालाई प्रदान गरिने मानार्थ सदस्य गायिका ज्ञानु राणालाई र पुष्पपराग युवा साहित्य सम्मान गजलकार तथा कथाकार मन्दिरा ‘मधुश्री’लाई प्रदान गरिने भएको छ ।
पुरस्कार छनोटका लागि निश्चित मापदण्ड र कार्यविधि प्रतिष्ठानका कार्यसमितिले तय गरेको संस्थाले जनाएको छ ।
सोही मापदण्ड र कार्यविधिभित्र बसेर नै पुरस्कारका लागि सिफारिस गरिएका छनोट समितिका संयोजक तथा प्रतिष्ठानका सचिव कवि तथा उपन्यासकार टी. एन. भट्ट ‘विश्वामित्र’ले बताए ।
उल्लेखित पुरस्कार, सम्मान तथा मानार्थ सदस्यता प्रतिष्ठानको वार्षिकोत्सवको दिन प्रदान गरिनेछ । २६ चैतमा नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ पौडेल सभाकक्षमा दिनको ठीक १ बजे उक्त कार्यक्रम गरिने कार्यक्रम संयोजक कवि तथा गीतकार राजबाबु श्रेष्ठ ‘सागर’ले बताए ।
प्रतिक्रिया
-
४