काठमाडौँ – लामो समयदेखि साहित्य तथा समाजसेवामा समर्पित लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले शनिबार विभिन्न विधाका आठ स्रष्टालाई सम्मान गरेको छ ।
वैज्ञानिक महावीर पुन आबद्ध राष्ट्रिय आविष्कार केन्द्रलाई गंगादेवी चौधरी स्मृति सम्मान, साहित्यकार प्राध्यापक चूडामणि रेग्मीलाई सरस्वती गद्य सम्मान, इतिहास–संस्कृतिविद् प्रा.डा. वीणा पौडेललाई इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान, चित्रकार प्राज्ञ रागिनी उपाध्यायलाई अरनिको ललितकला सम्मान, कवि विश्वविमोहन श्रेष्ठलाई गोपालप्रसाद रिमाल काव्य सम्मान, देउडा गायक प्राज्ञ नन्दकृष्ण जोशीलाई नारायणगोपाल संगीत सम्मान, रंगकर्मी वीरेन्द्र हमाललाई बालकृष्ण सम रंग सम्मान र क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई नेपाल नवप्रतिभा सम्मान प्रदान गरिएको हो।
सम्मानित व्यक्ति तथा संस्थालाई साहित्यकला मन्दिरका अध्यक्ष वसन्त चौधरी तथा नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति संगीतकार रायनले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए । अध्यक्ष चौधरीले झन्डै तीन दशकदेखि निरन्तर हुँदै आएको कार्यक्रम यस वर्ष कोभिड महामारीका कारण सानो रूपमा आयोजना गर्नुपरेको बताए । ‘धेरै सम्मान र पुरस्कार पाइसक्नुभएका यहाँहरूका लागि यो सम्मान सानै होला तर यो हाम्रो हृदयसँग जोडिएको सम्मान हो,’ उनले भने ।
कार्यक्रममा बोल्दै सम्मानित कवि विश्वबिमोहन श्रेष्ठले नेपालमा रहेका करिब तीन सयजति यस्ता संस्थामध्ये साहित्यकला मन्दिरले नेपाली भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा अतुलनीय कार्य गरेको धारणा राखे । उनले थपे, -‘अब विश्वभर फैलिएर रहेको डायस्पोरिक नेपाली साहित्य-कलालाई पनि समेटेर लानु पर्छ ।’
संगीतकार रायनले प्रतिकूल अवस्थामा पनि स्रष्टाहरूले गरेको सिर्जनाको प्रशंसा गरे । संस्थाका उपाध्यक्ष एवम् नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले सम्मानित स्रष्टाले सम्मानलाई नै सम्मानित पारेको भनाइ राखे ।
पुरस्कार तथा सम्मान गत बैशाखमै घोषणा गरिएको थियो ।
प्रतिक्रिया
-
४