काठमाडौँ / ललितकला क्षेत्रका विज्ञ तथा अग्रज कलाकारहरुले राष्ट्रिय विभूति अरनिकोका बारेमा धेरै खोज तथा अनुसन्धान जरुरी रहेको बताएका छन् ।

उनको आकृतिकै बारेमा पनि कलाकारले कल्पनाका आधारमा बनाउने गरेकाले यही नै मुहार हो भन्न सकिने अवस्था छैन । जन्मस्थान लगायतका धेरै गतिविधि अझै पनि यकिन भन्न सकिने अवस्था छैन । यद्यपि केही कुराहरु भने बाहिर आएका छन् ।

कलिलै उमेरमा तिब्बत र त्यसपछि चीन गएर बौद्ध वास्तुकलामा ख्यातिप्राप्त वास्तुकार थिए अरनिको । कतिपयले उनको जन्म पाटनमा भएको उल्लेख गरेका छन् ।

अरनिको राजा अभय मल्लको पालामा सन् १२४५ (कसैकसैले १२४४ भन्ने गरेका) मा पाटनमा जन्मिएका थिए भन्ने छ । मृत्यु भने १३०६ मा भएको थियो ।

पछि राजा जय भीमदेव मल्लको पालामा ८० जना वास्तु कलाकारको नेतृत्व गर्दै अरनिको तिब्बत पुगेको कलाकारहरु स्मरण गर्छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य भन्छन्, “अरनिकोलाई चिन्ने कसरी रु उहाँको चित्र कल्पनामा मात्रै बनाउन सक्छौँ, प्रतिभालाई ध्यानमा राखेर सिर्जना गर्नु परिसकेको छ ।”

उनले अरनिकोका बारेमा धेरै खोज जरुरी रहेको पनि औँल्याए।

विगतमा हुलाक टिकटमा राख्ने चित्र बनाउँदा पनि वर्तमान परिवेशमा चिन्न सक्ने गरी बनाएको उनले स्मरण गरे ।

अरनिकोको विषयमा धेरै मानिस अनभिज्ञ रहेको उल्लेख गर्दै कला क्षेत्रका एक अध्येता सञ्जय शाक्य धेरै अध्ययन अनुसन्धान गर्न बाँकी नै रहेको बताउछन् ।

आज मार्च ११ अर्थात् अरनिको स्मृति दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले उनको सम्झनामा विशेष कार्यक्रम आयोजना गरी स्मरण गरेको छ । सोही अवसरमा आजदेखि पाँचदिने परम्परागत हस्तकला प्रदर्शनीसमेत सुरु भएको छ ।

अरनिको प्यागोडाशैलीको मन्दिर निर्माणमा पोख्त थिए । उनले निर्माण गरेको श्वेत चैत्य चीनको बेइजिङमा पर्यटकको आकर्षणको केन्द्रविन्दु भएर रहेको छ ।

नेपाली वास्तुकला र नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम अरनिकोले गरेका थिए ।

नेपाल हस्तकला महासङ्घसँगको सहकार्यमा भएको आजको उक्त कार्यक्रमका संयोजक धर्मराज शाक्यले अब प्रतिष्ठानबाट अरनिकोका बारेमा थप अध्ययन र अनुसन्धान अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार आज नेपालीहरूले गौरव गर्ने दिन भएको उल्लेख गर्दै जसरी सगरमाथा, वीर गोर्खाली र बुद्ध जन्मेको देश भनेर गर्व गरिन्छ, त्यसरी अरनिको जन्मेको देश भनेर गर्व नगर्नु दुःखद हो भन्छन्।

कलाकार कालु कुमालेको प्रमुख आतिथ्यतामा भएको उक्त समारोहमा नेपाल हस्तकला महासङ्घका उपाध्यक्ष राजमान बज्राचार्य, प्रतिष्ठानका सदस्यसचिव विपिनकुमार घिमिरे लगायतले अरनिकोका विषयमा धारणा राखेका थिए ।

प्रतिष्ठानले अरनिको स्मृति दिवसका अवसरमा आज कलाकार कुमालेलाई सम्मान गरेको छ । नेपाली ललितकलाको क्षेत्रमा उनले गरेको योगदानको स्मरण गर्दै प्रतिष्ठानले उनलाई सम्मान गरेको हो ।

प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले उनलाई दोसल्ला ओढाई कदरपत्रसहित सम्मान प्रदान गरे ।

क्रोधकलाका सिद्धहस्त कुमाले वृद्धावस्थामा समेत आफ्नो कलाकारितालाई निरन्तरता दिइरहेका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर