पोखरा – युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक भएको छ । सगरमाथा साहित्य प्रतिष्ठान, गण्डकी प्रदेश शाखाको आयोजनामा पोखरा स्थित हिमालयन रिडर्स कर्नरमा सम्पन्न एक समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरूभक्तले सो कविता कृतिको विमोचन गरेका हुन् ।

सागरमाथा साहित्य प्रतिष्ठान, गण्डकी प्रदेश शाखाका अध्यक्ष तथा साहित्यकार शम्भु अर्यालको सभापतित्व तथा बिम्ब कवि तथा प्राज्ञ रमेश श्रेष्ठको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा डा. भूमिराज बास्ताकोटीले कृतिको समीक्षा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै डा. बास्तकोटीले कविता लेखनमा साधना आवश्यक रहेको र सो कृति दुई खण्डमा बाँढिएको उल्लेख गर्नु भयो । सङ्ग्रहभित्रका कविताहरुमा निकै सबल पक्ष रहे पनि कविताहरू पक्षधरता, प्रकृति र  आध्यात्मिक विषय बस्तुमा  लेखिएसँगै  अझै केही सुधार्न सक्ने पाटोहरू रहेको उनले बताए ।

कार्यक्रममा सङ्ग्रह प्रकाशकको तर्फबाट नरेन्द्रकुमार नगरकोटी, प्रमुख अतिथि सरुभक्त, विशेष अतिथि रमेश श्रेष्ठ लगायतले शुभकामना मन्त्तव्य राखेका थिए ।

सगरमाथा साहित्य प्रतिष्ठान, गण्डकी प्रदेश शाखाकी सदस्य तथा कवि टुकादेवी आचार्यले कार्यक्रमबारे प्रकाश पारिन भने कार्यक्रमको सञ्चालन शाखाकी सचिव तथा कवि लिली अधिकारीले गरेकी थिईन ।

कलम प्रकाशनले बजारमा ल्याएको यो कविता सङ्ग्रहमा लामा छोटा गरि  ५३ ओटा कविताहरू रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर