अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले राष्ट्रकवि माधव घिमिरेको १०३ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरेको ‘अनेसास कविता प्रतियोगिता’ सम्पन्न भएको छ ।

प्रतियोगितामा जापानका शरद पोखरेलको ‘एउटा चराको सूसाइड नोट’ कविता प्रथम भएको छ।

प्रतियोगी ३०१ कविको कवितालाई पछि पार्दै उनको कविताले प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको हो ।

यसैगरी नेपालका कवि शुभचन्द्र राईको कविता द्वितीय भएको छ भने अफ्रिकाका कवि गणेश खड्का,अमेरिकाका कवि केशवराज ज्ञवाली र नेपालका कवि वन्दना भट्टराईका कविता तृतीय भएका छन्।प्रतियोगीतामा प्रथम हुनेले ५ सय अमेरिकी डलर,द्वितीय हुनेले ३ सय डलर र तृतीय हुनेले जनही दुई/ दुई सय डलर नगद र प्रमाणपत्र प्राप्त गरेका छन्।

वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा बिहीबार आयोजित कार्यक्रममा वाचनका लागि चयन भएका ३५ मध्ये ३२ जना कविले कविता वाचन गरेका थिए। कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टी सभापति गीता खत्रीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरिन् भने डा। गोविन्दसिंह रावतले राष्ट्रकवि घिमिरेको वारेमा मन्तव्य राखेका थिए।

अनेसासको केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्णायकत्रय प्रा.डा.सावित्री मल्ल कक्षपती,डा. राम्जी तिमल्सिना र साहित्यकार सुरेन्द्र अस्तफलले कविताको मूल्याङ्कनका बारेमा प्रकाश पारेका थिए।

अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजकत्वमा गठित
महासचिव सर्वज्ञ वाग्ले तथा सदस्यहरू डा.रेणुका सोलु,प्रमोद सारंग र महेश्वर शर्माको संयोजन समितिले प्रारम्भिक चरणको कविता चयन गरेको थियो।

अनेसासले राष्ट्रकवि घिमिरेको जन्मजयन्तीको अवसर पारेर प्रत्येक वर्ष आयोजना गर्ने घोषणा गरेको अनेसास कविता महोत्सवको यो पहिलो संस्करण हो।

प्रतिक्रिया

सम्बन्धित खवर