काठमाण्डौ – नेपाली साहित्यको महत्वपूर्ण पुरस्कार मध्ये एक मानिएको मोती पुरस्कार घोषणा भएको छ । पुरस्कारबाट कवि समालोचक महेश पौडेल, कवि साहित्यकर्मी प्रकाश पौडेल माईला, कवि, उपन्यासकार हेम प्रभास र कवि एवम् पत्रकार मिनकुमार नवोदित पुरस्कृत भएका हुन् ।

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत प्रदान गर्दै आइएको युवा वर्ष मोति पुरस्कार यी चार स्रष्टालाई दिइने मोती पुरस्कार निर्णायक समितिले जनाएको छ । कोभिड-१९ का कारण गत वर्ष रोकिएको मोती पुरस्कारको घोषणा यसै वर्ष गरेका कारण एकै साथ चार जना युवा स्रष्टाले उक्त पुरस्कार पाएका हुन् ।

निर्णायक मण्डलले २०७७ सालका लागि कवि, आख्यानकार, समालोचक एरवं साहित्य अन्वेषक महेश पौडेल र कवि एवं साहित्यिक पत्रकार मिनकुमार नवोदितलाई प्रदान गर्ने निणर्य गरेको हो । त्यसैगरि २०७८ सालका लागि संसारभरिका नेपाली भाषा र साहित्यकारको साझा संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष, वर्ड हाइकु एसोसिएसनका कार्यकारी सदस्य एवं हाइजिन प्रकाश पौडेल माइलालाई प्रदान गर्ने निणर्य गरिएको हो । पौडेलका साथमा काठमाडौँलाई कार्य क्षेत्र बनाएका कवि एवं गीतकार हेम प्रभासलाई पनि मोती पुरस्कार प्रदान गर्ने निणर्य गरिएको हो ।

पुरस्कारको राशी पचास हजार रुपैँया र प्रमाणपत्र रहेको छ ।

मोतीराम भट्टको सम्झनामा ४० वर्ष ननाघेका युवा साहित्यकारहरुलाई प्रदान गरिने यो पुरस्कार युवा पुस्तालाई प्रेरणा दिने महत्वपूर्ण पुरस्कार मानिन्छ । युवा वर्ष मोति पुरस्कार नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले सन् १९८७ लाई युनाइटेड नेसनले युवा वर्ष भनेर घोषणा गरेको वर्षलाई सम्झना गर्दै सुरु गरेको हो ।

पुरस्कार प्राप्त गर्ने महेश पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापक हुन् । साहित्यतर्फ उनी बालसाहित्यकार, कवि, कथाकार, उपन्यासकार, गीतकार, नाटककार, समालोचक र अनुवादक पनि हुन् । पूर्वीय र पाश्चात्य साहित्य र सिद्धान्तका अध्येता पौड्यालका मौलिक १२ वटा कृति तथा स्कुलका दुई दर्जन पाठ्यपुस्तक प्रकाशित छन् भने उनका अनुवाद र सम्पादनमा आएका कृतिको संख्या करिब ३ दर्जन छ ।

“पुरस्कारमा मोतिराम भट्टको नाम जोडिएको हुनाले यसले मैले पनि मोतिरामको जस्तै काम गर्नुपर्छ भन्ने प्रेरणा दिएको छ ।”, पौड्याल थप्छन्, “मोतिराम भट्टको जस्तो काम भनेको नेपथ्यका लेखक, साहित्यकारहरुको पाठकका माझ ल्याउनु हो ।”

मीनकुमार नवोदित नेपथ्य (विराटनगर) मा बसेर नेपाली साहित्यमा योगदान गरिरहेको नाम हो । विशेषतः कविता विधामा कलम चलाउने उनका फूलबारीभित्रका भमराहरु र झरीले रुझेको गाउँ गरी दुई कविता संग्रह प्रकाशित छन् । साथै, केही पुस्तकहरूको सम्पादनसमेत गरिसकेका नवोदितका सिर्जनाहरु राष्ट्रिय स्तरका दैनिक पत्रिकाहरूमा प्रकाशित छन् ।

“अक्सर नेपथ्यले केन्द्रलाई सम्झिरहन्छ”, नवोदितले भने, “अहिले म नेपथ्यमा बसेर साहित्यकर्म गरिरहेकोलाई केन्द्रले सम्झिएको छ । पुरस्कारले अगाडिको यात्राका लागि उर्जा संचारित गराएको छ ।”

प्रकाश पौडेल माइला संसारभरिका नेपाली भाषा र साहित्यकारको साझा संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष, वर्ल्ड हाइकु एसोसिएसनका कार्यकारी सदस्य एवं हाइजिन हुन् । उनी अनेसासकाे अध्यक्षमा निर्विरोध चयन भएका हुन् भने वर्ल्ड हाइकु एसोसिएसनका पहिलो र एक्लो नेपाली कार्यकारी सदस्य हुन् । विशेषतः हाइकु लेखनमा कलम चलाउने पौडेलका तीन कृति प्रकाशित छन् । जापानमा बसेर नेपाली भाषा साहित्य सेवा गर्दैआएका उनी व्यवसायी हुन् ।

“डायस्पोरामा बसेर पनि नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान गर्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।” पौडेलले भने, “इमान्दार भएर काम गर्दा अवश्य पनि कामको मुल्यांकन कुनै न कुनै रुपमा हुन्छ । मैले नेतृत्व गरेको संस्था अनेसासको सम्पूर्ण अभियन्ताहरुलाई यो बेला सम्झिन चहान्छु ।”

पुरस्कार प्राप्त गर्न अर्का साहित्यकार हेम प्रभास मुख्यतः कवि हुन् । उनको पहाड बोकेर पहाडतिर, गीतै गीतको गाउँ लगायत कविता सङ्ग्रह, उल्झन उपन्यास प्रकाशन छ । पछिल्लो समय फिल्म तथा म्युजिक भिडियो मेकिंग (निर्देशन) सक्रिय उनी राष्ट्रिय कविता महोत्सव, २०७६ का विजेता पनि हुन् ।

“राष्ट्रिय युवा परिषद्ले मलाई पनि पुरस्कृत गरेछ, पुरस्कारले उत्साहित बनाएको छ ।”, कवि हेम प्रभासले भने, “म जस्तो युवालाई यो एक ठूलो प्रोत्साहन हो । पुरस्कारले अझै थप सृजनशील कर्ममा लाग्नको लागि उर्जा थपिदिएको महसुस गरिरहेको छु ।”

प्रतिक्रिया

सम्बन्धित खवर