सउल ३२ साउन – अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरिया च्याप्टरले नेपाली समकालीन कविता विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गत आईतबार कवि डा. अमर गिरी, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, कवि निबन्धकार मोमिला, कवि उपन्यासकार भीष्म उप्रेतीका साथमा कवि जीवन खत्रीले छलफल गरेका हुन् ।
पहिलो चरणमा बोल्दै कवि डा. अमर गिरीले नेपाली कविताको राम्रो सम्भवना रहँदा रहँदै पनि साईबर संसारले आक्रमण गरेको प्रति चिन्ता व्यक्त गरे । वर्तमान पुस्ता साईबर संसारमा कविता अपलोड गर्ने र रमाउने प्रवृतिका कारण नेपाली कविता कमजोर हुन सक्ने चिन्ता उनको थियो ।
प्रा.डा. लक्ष्मणप्रसाद गौतमले नेपाली समकालीन कवितालाई समालोचकिय दृष्टिकोणबाट प्रष्ट्याए । समकालीन नेपाली कवि राम्रा कविता लेखेपनि आफ्नै खाले परिचय बनाउन नसक्नुप्रति चिन्ता व्यक्त गरे । कविहरूको भीडबाट एउटा कविलाई निकाल्दा उसको रिक्तता महशुस शुन्छ कि हुन्न ? भन्ने प्रश्न गर्दै कविता लेख्ने कविहरूले यो कुरामा सचेत हुनुपर्ने धारणा उनले राखे ।
कवि तथा निबन्धकार मोमिलाले कविहरूको कुनै लिङ्ग नहुने भन्दै कविहरूलाई महिला कवि पुरुष कवि भनेर छुट्याउनु आजको समयमा असमानता भएको जिकिर गरिन । नेपाली कविता प्रति पछिल्लो पुस्ताले असाध्यै सुन्दर कविता लेखेपनि सानै कुराले फुर्कने प्रवृति घातक हुने भन्दै युवा पुस्तालाई सचेत गराईन् ।
उनले आफ्नै मौलिक शैली निर्माण नगरेसम्म कविहरूको परिचय नहुने कुरामा पनि उनको जिकिर गरिन । उनले छलफलकै क्रममा प्रज्ञाप्रतिष्ठान राजनीतिक भर्ति केन्द्र हुन नहुने कुरा व्यक्त गरिन । उनले थपिन ,-“त्यो ठाउँमा साहित्य सेवामा समर्पितहरू पुगे मात्र नेपाली कविता र समग्रमा कला साहित्यको हित हुन्छ ।”
कवि तथा उपन्यासकार भीष्म उप्रेतीले नेपाली कविताको ईतिहास देखि वर्तमान अवस्थासम्मको चर्चा गरे । नेपाली समकालीन कविता सबै उत्कृष्ट नरहे पनि केही कविका केही कविता असाध्यै राम्रा भएर पनि अन्तराष्ट्रियकरण हुन नसकेको प्रति चिन्ता गरे । राम्रा अनुवादकको कमी, कला साहित्यप्रति सरकारको उदासिनताका कारण नेपाली कविहरू देशभित्र मात्र खुम्चिनु परेको उनको चिन्ता थियो ।
कार्यक्रमको दोस्रो चरणम कविहरू डा. अमर गिरी, मोमिला र भिष्म उप्रेतीले आफ्ना १ / १ कविता समेत वाचन गरे ।
अनेसास कोरियाका अध्यक्ष प्रमोद सारङ्ग, उपाध्यक्ष डिआर न्यौपाने ‘सूर्य’ लगायतले आफ्ना मन्तव्य राखे । आयोजक संस्थाले अनलाईन मार्फत सम्पन्न कार्यक्रमको छलफलमा सहभागी कविहरूलाई विशिष्ट सम्मान समेत गरेको थियो ।
प्रतिक्रिया
-
४