दक्षिण कोरिया – नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले विश्वव्यापी खुला मुक्तक प्रतियोगिता गर्ने भएको छ । कोरिया शाखाले एक सूचना प्रकाशन गर्दै उक्त कुरा जनाएको हो ।

प्रतियोगितामा ३ जना पुरस्कृत हुनेछन् । प्रथम हुनेले पुरस्कार स्वरुप नगद रु ३३,३३३ र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्तै द्वितीय हुनेलाई नगद रु २२,२२२ र प्रमाणपत्र, तृतीय हुनेले नगद रु ११,१११ र प्रमाणपत्र दिने बताईएको छ ।

आयोजकले बताए अनुसार मुक्तक पठाउँदा शुद्ध नेपाली भाषा (देवनागरी लिपि) मा टाइप गरी चतुष्पदीय शैली(AABA) को संरचनामा पठाउनुपर्ने छ । मुक्तक पठाउँदा आफ्नो पूरा  नाम, ठेगाना र सम्पर्क नम्बर सहित संस्थाको इमेलमा भाद्र २० गतेसम्म (सेप्टेम्बर ५,२०२१) पठाइसक्नुपर्ने बताईएको छ ।

मुक्तक पूर्णतः मौलिक, कुनै पनि छापा तथा अन्य माध्यमबाट प्रकाशित र प्रसारित नभएको, अन्य कुनै पनि प्रतियोगितामा सहभागी नभएको पठाउनु पर्नेछ । प्रतियोगी मुक्तकको कुनै अंश वा पूरा भाग कसैको रचनालाई तोडमोड गरी लेखिएको पाइएमा रचना अयोग्य मानिनेछ ।

मुक्तक पठाउँदा एकजना प्रतियोगीले देशप्रेममा आधारित १, सामाजिक विकृतिमा आधारित १, र स्वतन्त्र विषयमा (उल्लिखित बाहेक अन्य) – १ गरी जम्मा ३ मुक्तक पठाउनुपर्ने छ ।

नियमअनुसार नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाका कार्यसमिति पदाधिकारी र सदस्यहरू बाहेक विश्वको जुनसुकै ठाउँमा रहनुभएका इच्छुक नेपालीभाषी मुक्तककारहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्ने बताईएको छ । मुक्तक पठाउँदा कुनैपनि जाति, धर्म, वर्ग सम्प्रदाय तथा राष्ट्रिय एकतामा चोट पुर्‍याउने खालका मुक्तकहरू आएमा प्रतियोगितामा समावेश नगरिने बताईएको छ ।

प्रतियोगी मुक्तक npmuktakkr@gmail.com मा ईमेल गर्न सकिने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर