काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिवारबाट मोहियानी हक हस्तान्तरण भई प्रतिष्ठानका नाममा हकभोगमा आएको घर ‘कविकुञ्ज’ लाई ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ बनाउने काम सुरु भएको जनाएको छ ।

काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा परिवारको नाममा मोहियानी हक रहेको उक्त घर ‘कविकुञ्ज’ र उक्त घरले चर्चेको १२ आना एक दाम जग्गा नेपाल सरकारको सहयोगमा देवकोटा परिवारलाई रु दुई करोड ५० लाख उपलब्ध गराई ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि प्रतिष्ठानको हकभोगमा ल्याइएको थियो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले आज विज्ञप्ति जारी गरी सो सङ्ग्रहालय निर्माणबारे कुनै भ्रममा नपरी आवश्यक सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।

देवकोटा परिवारका अनुसार २००० सालमा बनेको र सोही वर्षदेखि प्रयोगमा आएको उक्त घरको तेस्रो तला २०१४ सालमा थपिएको थियो ।

विगत १५ वर्षदेखि प्रयोगमा नभएको र २०७२ सालको विनाशकारी भूकम्पबाट थप क्षतविक्षत भएको उक्त घर प्रतिष्ठानको हकभोगमा आए लगत्तै पटकपटक विशेषज्ञ प्राविधिकहरू र सरोकारवालाहरूसँग बसेर सबलीकरण गर्न सकिने÷नसकिने विषयमा स्थलगत अवलोकनसहित छलफल गरिएको थियो ।

“अवलोकन गर्दा भग्नावशेषमा परिणत हुन लागेको उक्त घरको गारोमा प्रयोग भएका धेरै इँटाहरू काँचा र टुक्रा भएको, सग्ला इँटा अत्यन्त कम मात्र भएको, त्यहाँ प्रयोग भएको काठ धमिराले खाएको र मक्किइसकेको, भित्र पस्दा तला तलामा भ्वाङ नै भ्वाङ भएको र भ्वाङ नभएका ठाउँमा समेत पाइला टेक्दा धसिने गरेको अनि उभिएका ठाउँमा समेत माथिल्ला तलबाट मक्किएका दलिन र माटो खस्ने गरेको त्रासपूर्ण अवस्थाको थियो”, विज्ञप्तिमा उल्लेख छ ।

उक्त घरलाई यथावत् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि साबिकको घरको बाह्यस्वरूप आउने गरी प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणको प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रस्तावित सङ्ग्रहालय निर्माण प्रयोजनका लागि साबिकको घर भत्काउनु बाध्यात्मक अवस्था हो ।

प्रस्तावित सङ्ग्रहालय भवन विभिन्न उमेर अवस्थाका अवलोकनकर्ताहरूलाई दृष्टिगत गरी सुविधाका दृष्टिले आधुनिकता र कलाका दृष्टिले नेपाली मौलिकता कायम हुने गरी निर्माण गर्न लागिएको जनाइएको छ ।

सङ्ग्रहालय निर्माण गर्ने क्रममा प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको प्रतिमा राखिने छ । प्रतिमा स्थापना गरिएको क्षेत्रमा हरियालीयुक्त सानो उद्यानसमेत रहने छ । प्रतिमासँगैको पश्चिमतिरको भागमा पानीको फोहोरा रहने छ ।

विज्ञप्तिमा उल्लेख भए अनुसार परिसरमा अवलोकनकर्ताहरूले प्रयोग गर्ने दुई÷तीन वटासम्म हलुका सवारी साधन पार्किङ गर्न मिल्ने गरी व्यवस्था गरिने छ ।

सङ्ग्रहालयको भुइँतलामा स्वागत कक्ष, प्रतीक्षा कक्ष र देवकोटासँग सम्बन्धित श्रव्यदृश्य सामग्री रहने छन् । पहिलो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध भएसम्मका सामग्रीहरू रहने छन् ।

दोस्रो तलामा देवकोटाका प्रकाशित कृतिहरू, प्राप्त भएसम्मका अप्रकाशित पाण्डुलिपिहरू र स्वदेशी तथा विदेशी विद्वान्हरूद्वारा देवकोटाका विषयमा लेखिएका उपलब्ध भएसम्मका कृतिहरू÷शोधपत्रहरू रहने छन् ।

तेस्रो तला अर्थात् अन्तिम तलामा सङ्ग्रहालय अवलोकन गरिसकेपछि देवकोटाको जीवन, व्यक्तित्व र कृतित्वका विषयमा विचार–विमर्श, अन्तरक्रिया तथा गोष्ठी गर्न एउटा सभाकक्ष रहने छ । सो भवनमा अशक्त अवस्थाका अवलोकनकर्ताहरूका लागि लिफ्टको व्यवस्था गरिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर