काठमाण्डौ – कौसी थिएटरमा आशान्त शर्माको परिकल्पन तथा निर्देशनमा नाटक ‘काँचो धागो’ मन्चन हुँदैछ । यही भाद्र ०६ गते देखि २९ गते सम्म मञ्चन हुने यो नाटक युवा रंगकर्मी मुक्तिले लेखेका हुन् ।

मानवीय स्वभाव, संवेदना, सम्बन्ध, भावना, चाहनालाई प्रकृति तथा वातावरणसँग जोडेर नाटक काँचो धागो बनेको छ । गण्डकी क्षेत्रको कुनै गाउँमा घटेको घटना, घटनासँग सम्बन्धित मानव तथा मानवेत्तर पात्रहरूको कथा भए पनि नाटकले नेपालका अधिकांश पहाडी गाउँहरूको वर्तमान अवस्थालाई चित्रण गर्ने प्रयास गरेको छ । जसमा कतै न कतै हरेक नेपाली मनले आफ्नो कथा भेट्न सक्छ ।

साथी-साथी आइदेऊ न नाटक पछि लगभग २० महिना निर्देशकीय विश्राम लिएर यो नाटक आएको निर्देशक अँन्त शर्माल् बताए । उनले भने,-‘ व्यक्तिगत जीवनमा पनि थुप्रै उतारचढाव आए । अर्को मौलिक कृति लेख्न नभ्याई रहेको बेलामा मुक्तिले “काँचो धागो”को पहिलो ड्राफ्ट पढ्न दिए । छोयो ! आकंक्षा कार्कीको नि आग्रह थियो दाजु नाटक गरौँ न ! नाटकमा संलग्न सबै कलाकार साथीहरूको उत्साह र हौसलाले बल गर्‍यो र यो “काँचो धागो” नामको नाटक तयार भएको छ ।“ नाटकमा शैली रचनाको प्रयास रहेको कुरा उनले थपे।

“रङ्गमञ्चमा छिरेदेखि नै नाटक लेख्ने इच्छा जागेको हो । एक हिसाबले त्यो पूरा भएको छ तर, यो नाटक मेरो भन्दा पनि बढी कथाका पात्रहरूको लागि प्रेरणा बन्नेहरूको हो ।” लेखक मुक्तिले बताए ।

नाटकमा मुक्तिका साथै आयुश्मा मगर,सागर दाहाल, निशान खत्री, रसिक राज, सम्राट भुजेल, निष्ठा त्रिपाठी, पूर्णिमा आचार्य, मिरा खड्का, कविर काफ्का र कृष राईको अभिनय रहेको छ ।
“कथा एक्सप्रेस ” , “दरौंदीको पानी ” “ढल्केको सालैजो”, “साथी, साथी आइदेऊ न” जस्ता समसामयिक विषयमा नाटक प्रस्तुत गरिसकेको वेज प्रा.लि.को प्रस्तुति र  कथा घेराको सहकार्यमा काँचो धागो नाटक मञ्चन हुदैछ ।

नाटक मंगलबारबाहेक हरेक दिन साँझ ०५:१५ बजे र शनिवार ०१ बजे अतिरिक्त शो सहित टेकु स्थित कौशी थिएटरमा भाद्र ०६ देखि २९ गते सम्म नियमित मञ्चनमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर