काठमाण्डौ – नेपाली आख्यानको माध्यमबाट नारी संवेदनाका विविध रूपको चर्चा गर्ने सिद्धहस्त कथाकार माया ठकुरीको ७७ औं जन्मोत्सव कथा यात्राका यात्रीहरूले ठकुरीको ललितपुर धोविघाटस्थित निजी निवासमा आज असार १९ गते कथाकारको कथनी श्रवण गरी मनाए । उक्त अवसरमा कथाकार ठकुरीले आफ्नो यथार्थ र अनुभूतिहरू मिश्रित कथा “पचास वर्षपछि’ रोचक पारामा वाचन गर्नु भएको थियो ।

कथाकारको कथनीमा सिद्धहस्त कथाकार माया ठकुरीले आफ्ना दुखदायी बाल्यकालका स्मृति, कथा लेखन र प्रकाशनको शुरुआती संघर्ष, कथा लेखनमा प्रेरणा र प्रभावको सिलसिला कथा लेखनमा प्राप्त स्थान र पाठकहरूको मायाको फेहरिस्त सुनाउनु भयो ।

कथाकार माया ठकुरीले आफ्नो बाल्यकल र युवा अवस्था भारतीय भूमी शिलोङ्गमा बिताएको र त्यहाँको नेपाली सङ्गीत कला समितिबाट भेटिएका गोपीनारायण प्रधान, डि़आर सुब्बा आदिको प्रभावका कारण साहित्यमा प्रवेश गर्दै आफ्नो कथा यात्राको शुरूआत गरेको स्मरण गर्नु भयो । कथाकार ठकुरीले कथाकार सङ्गीनीद्वय पद्मावती सिंह र भागिरथी श्रेष्ठसँगको साहित्यिक दोस्तीको प्रेमील स्मरण गर्दै गुञ्जनले नेपाली साहित्यमा पुर्याएको योगदानको पनि कथाकारको कथनीमा व्यक्त गर्नु भयो ।

उपन्यास अनन्त यात्रा हो भने कथा एउटा सुन्दर बगैँचा हो भन्ने धारणा राख्नु हुने माया ठकुरी बगैँचाकै विविध फूलहरूलाई नै कथाको विषय बनाई कथामा रमाउनु हुन्छ । ‘नजुरेको जोडी’ कथालाई वि़.सं. २०३० सालमा सार्वजनिक गरी नेपाली साहित्यको कथा क्षेत्रमा प्रवेश गर्नु भएको ठकुरीका ‘आमा जानुहोस्, प्रियंवदा, माया ठकुरीका कथाहरू नामक कथासंग्रहहरू प्रकाशनमा आएका छन् । निरन्तर कथा लेखिरहने मायाका आख्यानहरूमा समाज र वस्तुलाई नजिकबाट देखी वा छोई अतियथार्थको नजिकबाट लेख्ने स्वभाव रहेको छ ।

कथा यात्राले प्रत्येक महिना एक सिद्धहस्त कथाकारको जन्मोत्सव मनाउँदै कथाकारको कथनी श्रवण गर्ने कार्यक्रमको थालनी गरेको छ । कथाकार माया ठकुरीको जन्मोत्सव असारको दोस्रो साता पर्ने गर्छ । यही बैशाख महिनाबाट आरम्भ गरिएको कथाकारको कथनीको यो तेस्रो कदमका कथा यात्रीहरूमा दीपक लोहनी, प्रमोद प्याकुरेल, डा. हिमलाल श्रेष्ठ, कुमार काफ्ले, विश्व कुइकेल, हरिश कल्पित र पवित्रा अधिकारी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर