द. कोरिया सउल – नेपाल मुक्तक प्रतिष्ठानले कोरियामा बृहत साहित्य मेला सम्पन्न गरेको छ । शनिबार दोङ्देमुनमा कविता, गजल र मुक्तकलाई बिशेष वाचन सहित कार्यक्रम गरेको हो ।

बिशेष कविहरूको रुपमा उपस्थित जीवन खत्री, दिपा मेवाहाङ, बिजयता भण्डारी ले आआफ्ना आधा/आधा दर्जन कविता सुनाए । बिशेष गजलकारहरू सरोज सर्वहारा, राज विसर्जन, डिएनके कुँवरले पनि आ-आफ्ना आधा/आधा दर्जन गजलहरू प्रस्तुत गरे । मुक्तक लागि पनि कविता र गजलजस्तै तीन मुक्तकहरूले आफ्ना एक एक दर्जन मुक्तकहरू सुनाए । मुक्तक सुनाउने बिशेष मुक्तकाहरु शुसिल अर्याल, प्रचण्ड सापकोटा, विवेक रिजाल थिए ।

दुई चरणमा सुनाईएको कार्यक्रमको सुरुवातमा कवि जीवन खत्रीले कविता सुनाए ।

जल्नु, जलाउनु मेरो धर्म
तर, किन उठायौ मेरो गलत फाईदा?
र किन सल्कायौ मलाई फूलहरूको घाँगरमा?
किन जलायौ मलाई? चराहरूका गुँडमा?

उनले दुई चरण गरी ‘मुग्लान एक अध्याय’, ‘समयको उपहार’, ‘हावा’ ‘आगोको वर्णमाला’ र ‘आमाहरूको गन्थन’ ‘एउटा अर्को प्यास’ शीर्षकका कविता सुनाए ।

अर्की कवि दिपा मेवाहाङ राईले पनि दुई चरण गरेर आफ्ना आधा दर्जन कविता प्रस्तुत गरिन् ।

जीवन नहुन सक्छ
म नहुन सक्छु सोचेजस्तो कसैले…

उनले ‘बोधले छामेर’, ‘आशिर्वाद’, ‘अभिष्ट स्केच’, ‘भेटिनु छ’, ‘आधा आकृति’ शिर्षकका कविताहरू सुनाईन ।

कवि बिजयता भण्डारीले पनि देश प्रेम, समसामयिक भावका आधा दर्जन आफ्ना कविता सुनाईन ।

म बगरजस्तै न हुँ
भेल जतिबेलै आउन सक्छ
म नदीजस्तो कहाँ हुन सक्छु ?

उनले ‍’भीडबाट छुट्टिएको म’, ‘प्रेम फुलेको दिन’, ‘सम्झिन्छु देश’, ‘मौनताभित्रको पर्खाई’ शिर्षकका कविताहरू सुनाईन ।

कार्यक्रममा गजलकारहरूले भिन्न माहोल बनाए । तीन गजलकारहरूले डेढ दर्जन बढी गजलहरू सुनाउँदा माहोल वाह वाहमय बनेको थियो ।

सपनामा बनाएको घर कहिल्यै मिलेन
मिलाउन खोजेँ हाम्रो थर कहिल्यै मिलेन…
– राज विसर्जन

मुलुक छाडी हिड्यो भन्ने छ आरोप सर्वहारालाई
यी भागेका हुँदै हैनन हो सत्ताले धपाएका
-सरोज सर्वहारा

अब के के कुरा हुन्छ भनिदिनुहोला
मेरा दुई कानले सुन्छ भनिदिनुहोला
– डिएनके कुँवर

तेस्तै मुक्तककारहरू शुसिल अर्याल, प्रचण्ड सापकोटा र विवेक रिजालले पनि आआफ्ना दमदार मुक्तकहरू सुनाए ।

देखेसि तिम्रा माधवी नयन, कसरि बसुँ म सिधा बनेर
भोग तिमी श्रृङ्गारिक ऐश्वर्य, बस्छु तिम्रो सुबिधा बनेर
उच्चारण गर्दै प्रणयका ऋचा बैंशको आहुती दिनु तिमी
जल्न मन छ तिम्रै प्रेमको अग्नी कुण्डमा समिधा बनेर
– शुसिल अर्याल

तृष्णाहरुले सताउँछन् पलपल मेटौँ कसरी
सम्झनामा आउँछ्यौ झलझल मेटौँ कसरी
नयनका प्यास मेट्न तस्बिर काफी हुन सक्ला,
तिम्रो त्यो अङ्गालोको तलतल मेटौँ कसरी
– विवेक रिजाल

नपाएर सुनको भारी आगो लगाइदियो
इष्टमित्र जम्मा पारी  आगो लगाइदियो
महिलाहकको बारे बोल्दै हिड्ने ससुराले
दाइजो नल्याउने बुहारी आगो लगाइदियो
– प्रचण्ड सापकोटा

कार्यक्रममा जितेन सोताङ, नरेन्द्र मलिमलाल, शुसिल विश्वकर्मा, दीपक स्पन्दन, दुर्लभ काईँला, रुसन सुवेदी, सञ्जय, लोकराज न्यौपाने, आरपिसी संगम, जीवन भण्डारी लगायतले पनि आआफ्ना एक एक कविता, गजल, मुक्तकहरू सुनाए ।

नेपाल मुक्तक प्रतिष्ठानका कार्यबाहक अध्यक्ष निर्दोष सभापति रहेको यस कार्यक्रममा नेपाली दुतावासबाट नियोग प्रमुख पुष्पराज भट्टराई प्रमुख अतिथिका रुपमा थिए । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोरियाका अध्यक्ष ह्यारी बोण्ड, नेपाल पत्रकार महासंघ कोरियाका अध्यक्ष किशन गौतम, आदीवासी जनजाति साहित्य महासंघका नरेन्द्र मलिमलाल, संस्थाकै पूर्वअध्यक्ष रामचन्द्र शर्मा, कविहरू शकुन आँसु, सुष्मा रानहँमा लगायतको उपस्थिती थियो ।

कार्यक्रममा बिशेष कविहरू, गजलकारहरू र मुक्तककारहरूलाई कार्यक्रममा उपस्थित भई रचना सुनाउनुका साथै प्रवासमा बसेर नेपाली भाषा साहित्यको  श्रृविद्धीका लागि योगदान दिएको भन्दै खादा लगाई सम्मान गर्दै सम्मान पत्र समेत प्रदान गरेको थियो ।

कोरियामा लामो समय रहेर साहित्यका लागि कलम चलाई रहने कवि शकुन आँलाई बिदाई सम्मान समेत गरेको थियो । आँसु केही दिनमै नेपाल फर्कँदै छिन् ।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानले प्रकाशन गरेको संयुक्त मुक्तक सङ्ग्रह झिल्को, सुनिल अधिकारीले सम्पादन गरेको संयुक्त मुक्तक संग्रह विजयोपहार, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोरियाले प्रकाशन गरेको संयुक्त कविता संङग्रह कोरियामा नेपाली कवि र कविता, निर्दोष जीवनको उपन्यास नोस्टालजिया र मैँया दिदी पनि कोरिया बिमोचन भएको थियो ।

दीपक बञ्जाडेले सञ्चालन गरेको कार्यक्रममा रुसन सुवेदीले स्वागत मन्त्वय दिएका थिए । झण्डै ३ घण्टा चलेको कार्यक्रममा कोरिया साहित्यमय बनेको थियो । कार्यक्रमलाई सेतोमाटो डट कम मिडिया पार्टनर थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर