चितवन – कथाकार सूर्य लाकोजूको पहिलो कथासङ्ग्रह सत्याग्रहमाथि विमर्श चितवनमा सम्पन भएको छ । अक्ष्रर समूह चितवनको आयोजनामा भएको सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार केदार खनालले सत्याग्रहमा सरल र सरस भाषाशैलिको प्रयोगले कथालाई जीवन्त र पठनीय बनाएको धारणा पोखे । एक अर्को प्रसंगमा आफू नेवार भएर पनि लाकोजूले नेपाली भाषा र साहित्यमा सफलतापूर्वक कलम चलाइरहेको बताए । परिचर्चाका टिप्पणीकार सुरेन्द्र अस्तफलले कथाहरू सामाजिक, राजनैतिक, प्रेम प्रणय, वैदेशिक रोजगार जस्ता विषयमा लेखिएको र पाठकलाई आकर्षण गर्ने क्षमताका कथा रहेको र केही कथामा मनोविज्ञान प्रयोग भएको बताए । अर्का टिप्पणीकार अविरल यात्रीले कथाहरू अर्गानिक रहेको बिचार प्रकट गरेका थिए ।

उक्त कार्यक्रममा कथाकारहरू शान्ति शर्मा र टीकाराम रेग्मी, कवि रेशम विरही, साहित्यकार रामहरि श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए भने स्रष्टा रामसुन्दर देउजाले लेखक सूर्य लाकोजुका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रमको अध्यक्षता अक्षर समूहका सदस्य उदय अधिकारीले गरेका थिए भने सहजीकरण समूहका अध्यक्ष रमेश प्रभातले गरेका थिए ।
संस्कृति र काव्य क्षेत्रमा स्थापित स्रष्टा एवं अक्षरमार्गका सम्पादक सूर्यप्रसाद लाकोजूले समाजका विविध समस्यामा कथाहरू लेखेका छन । राजनीतिप्रति समाजको दृष्टिकोण र राजनीतिमा इमानदारी उपेक्षित बनेको, वैदेशिक रोजगारीमा जानेहरूप्रति राज्यले चासो नदिंदा नेपालीहरूले दुःख पाएको, विकासको नाममा आम मानिसले भोग्नुपरेको समस्या लगायतका विषयलाई कथाकार लाकोजूले प्रभावकारी रूपमा उठाएका छन ।

ट्रान्स-वर्ल्ड पब्लिकेसनबाट प्रकाशित सत्याग्रहमा विविध विषयमा लेखिएका समसामयिक एघार कथा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर