काभ्रे∕ साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूको पनौतीका केही जात्रापर्वहरूको दोस्रो संस्करणको लोकार्पण भएको छ । सो पुस्तक हालै एक समारोहका बीच संस्कृतिकर्मी तथा इतिहासकार प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ, पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी, निवर्तमान नगर प्रमुख भीम न्यौपाने र लेखक सूर्य लाकोजूले संयुक्त रुपमा विमोचन गरेका छन् ।
कार्यक्रमका विशिष्ट अतिथि डा. पुरुषोत्तमलोचन श्रेष्ठले नेपालको इतिहासमा पनौतीको स्थान उच्च रहेको र पनौती जस्तो ऐतिहासिक स्थानको बारेमा खोज गरेर लेखिएको पुस्तक पनौतीका केही जात्रापर्वहरू सान्दर्भिक पुस्तक बनेको प्रतिकृया मन्तव्यका क्रममा दिएका छन् । अर्का विशिष्ट अतिथि तथा पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले पनौतीलाई चिनाउने काम लेखकले विचार व्यक्त गरे । निवर्तमान नगर प्रमुख भीम न्यौपानेले राष्ट्रकै गहनाको रुपमा रहेका लाकोजूको पुस्तक पनौती बासीका लागि मात्र होइन सबैका लागि सङ्ग्रहणी रहेको विचार पोखे । टिप्पणीकार तुयुकाजी ताम्राकारले पुस्तकले हाम्रो मौलिक संस्कृतिको वकालत गर्दै संस्कृतिको संरक्षणका लागि प्रेरणा दिने पुस्तक बनेको विचार प्रकट गरे । त्यस्तै समाजसेवी तथा पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषेत्तम कर्माचार्य, वडा अध्यक्ष सविन ताम्राकार, पुरुषोत्तम अधिकारी, शम्भुलाल श्रेष्ठ लगायतले पुस्तक पठनीय र सङ्ग्रहनीय रहेको बताए । कार्यक्रममा पुस्तक तयार पार्नका लागि आवश्यक सुझाव, सल्लाह तथा सूचना प्रदान गर्ने महानुभावहरूलाई कदर पत्र प्रदान गरिएको थियो ।
साहित्यका विविध विधामा कलम चलाउँदै आएका लाकोजूको यस पुस्तकमा पनौतीको परिचय, ऐतिहासिक पृष्ठभूमि, पनौतीमा वर्षभरिमा मनाइने जात्राहरू, पर्वहरू, केही नाचहरू आदि विषयबस्तुहरू समेटिएका छन् । पुस्तक परिचय, जात्राहरू, पर्वहरू, नाचहरू गरी विविध पाँच खण्डमा विभाजन गरिएको छ । पनौतीको इतिहास, संस्कृति, जात्रापर्व बारे जानकारी लिन, अध्ययन गर्न र बुझ्न चाहनेहरूका लागि पुस्तक उपयोगी रहेको छ । प्राचीन नगर पनौतीमा वर्षभरिमा थुप्रै सांस्कृतिक पर्वहरू, जात्राहरू मनाइने परम्परा रहेको छ । सोही विषयलाई निबन्धकारले उजागर गर्ने प्रयास गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर