ओम कार्की स्मृति साहित्य प्रतिष्ठानले कात्तिक १८ गते गीत, गजल र शीतलको १९ औं शृङ्खला चितवनमा सम्पन्न गरेको छ । घोस्ट राइटिङ नेपालले काठमाडौँमा सञ्चालन गर्दै आएको उक्त कार्यक्रमको १९ औं शृङ्खला भने चितवनमा शनिबार सम्पन्न भएको हो ।

यस कार्यक्रमको संयोजक शीतल कादम्बिनी हुन् । आफ्नो सम्बन्ध चितवनको माटोसँग गहिरो रहेकोले यो कार्यक्रम चितवनमा गर्ने धोको आज पूरा भएको कुरा उनले बताइन् ।
उक्त कार्यक्रमको अध्यक्षता शीतल कादम्बिनीले गरेकी थिइन् । प्रमुख अतिथिमा गोविन्दराज विनोदी र विशिष्ट अतिथिहरू क्रमशः केशवराज आमोदी, धनराज गिरि, प्रभाकर पण्डित, प्रकाश चापागाईं, कृष्णहरि ढकाल र गायत्री श्रेष्ठ थिए ।

कवि तथा गजलकार सिमरन क्षेत्रीले स्वागत मन्तव्य दिएपछि प्रमुख अतिथि, कार्यक्रम संयोजक र ओम कार्कीको धर्मपत्नी अम्बिका कार्कीले ओम कार्कीको तस्वीरमा माल्यार्पण गरेर कार्यक्रमको उद्घाटन भएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा आसन ग्रहण, स्वागत मन्तव्य र शुभकामना मन्तव्यमा सकिएको थियो । मन्तव्यमा सबै विशिष्ट अतिथिले सहिद ओम कार्कीको स्मरण गर्दै राम्रो कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरेका थिए ।

पहिलो सत्रको कार्यक्रम सुजाता देवकोटाले संचालन गरेकी थिइन् ।
कार्यक्रमको दोस्रो सत्रमा मन्चमा गजलकारहरू अम्बिका कार्की, सरला जोशी, उषा तिवारी र प्रशान्त सागर उक्लिएका थिए । यो सत्रको सहजीकरण शीतल कादम्बिनीले गरेकी थिइन् । चारैजना गजलकारले पालैपालो दुई दुइटा गजल तिनपटक वाचन गरेका थिए । गजलकारहरूको गजल सुनेर स्रोताले ताली बजाएर वाहीवाही गरेका थिए ।

अन्त्यमा हारमोनियममा चन्द्र घले, तबलामा सुरज बज्राचार्यको साथ लिएर गायक वसन्त सिलवालले तीनवटा गीत सुनाए । गीत र गजलले शनिबार चितवनको माहोल तातेको थियो । गायक वसन्त सिलवाललाई ओम कार्की स्मृति साहित्य प्रतिष्ठानले दोसल्ला ओढाएर अभिनन्दन पत्र सहित सम्मान समेत गर्‍यो ।

सहयोगी संस्थाहरू भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान, हाम्रो मझेरी साहित्य प्रतिष्ठान, गजल मञ्च चितवन, सम्पूर्ण किताब नारायणगढ र काव्यकुञ्ज साहित्य प्रतिष्ठान सहयोगी रहेको उक्त कार्यक्रममा सहयोगी सबैलाई मायाको चिनो प्रदान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर