काठमाडौं- फित्कौली अनलाइन मिडियाद्वारा प्रकाशित तथा विमोचित ‘खाइराइड हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह’माथि समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

वरिष्ठ समालोचक तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागका प्रमुख प्रा.डा. खगेन्द्र लुइँटेलको प्रमुख आतिथ्यमा समीक्षात्मक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । वरिष्ठ हास्यव्यङ्ग्यकार चट्याङ मास्टर, अग्रज व्यक्तित्व श्याम तमोट तथा चलचित्र निर्माता, साहित्यकार, प्रकाश सायमीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित पचास भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा साहित्यकार चन्द्र घिमिरे, केदार शर्मा, लक्ष्मण गाम्नागे, डा. रमेश शुभेच्छु र चूडा निर्भीकले कृतिमाथि आ-आफ्ना धारणा राख्दै अत्यन्त सूक्ष्म तरिकाले टिप्पणी व्यक्त गर्नु भएको थियो ।

‘खाइराइड’ कृति माथि टिप्पणीकारहरूले कृतिको नाम, शीर्षक चयन, विषयवस्तु छनोट, लेखनशैलीमा खोट लगाउने ठाउँ नभएकोले कृति सघन रहेको र कार्कीको यो पहिलो कृति भए तापनि स्थापित सिद्धहस्त लेखकको कृतिभन्दा कम नरहेको कुरा व्यक्त गर्नु भएको थियो ।

त्यस्तै अतिथिका तर्फबाट चट्याङ्ग मास्टरले शुभकामना मन्तव्य दिनुभएको थियो । व्यङ्ग्य निबन्धकार राजेन्द्र कार्कीका गुरु तथा ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ चर्चित गीतका रचनाकार श्याम तमोटले लेखकका परिचयसहित मार्मिक मन्तव्यद्वारा हौसला र आशीर्वाद प्रदान गर्नु भएको थियो ।

यसैगरी चलचित्र निर्माता, साहित्यकार, प्रकाश सायमीले ‘खाइराइड’ पढेपछि हरिशङ्कर प्रसाई, सूर्यबहादुर पिवाको झल्को दिने लेखनशैली रहेको कुरा बताउँदै लेखक कार्कीलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. खगेन्द्र लुइँटेलले ‘खाइराइड हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह’ माथि समालोचनात्मक विवेचना गर्दै खाइराइड हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह पढ्नै पर्ने किताब हो र तपाईं हास्यव्यङ्ग्य निबन्ध लेखनकार्यमा सफल व्यक्ति ठहरी सक्नु भएको छ तर अर्को अर्को पटकको कृतिमा यसको गुणात्मकता खस्किन नदिने गरी अघि बढ्नु पर्नेछ भन्नु भयो । डा. लुइँटेलले समकालीन साहित्यकारहरूका कमजोर पक्ष तथा नेपाली साहित्य तथा भाषामा देखिएका विकृतिमाथि रोचक तथा घोचक तरिकाले आफ्ना भनाइ प्रस्तुत गर्नुभएको थियो ।

कृतिका स्रष्टा राजेन्द्र कार्कीले आमन्त्रित एवम् समीक्षकहरू समीक्षा र टिप्पणी एवम् घनिभुत सहभागिताले आफूलाई अत्यन्त प्रोत्साहित गरेको बताउँदै उपस्थित सबैप्रति अभार व्यक्त गर्नु भयो ।

कार्यक्रम वरिष्ठ हास्यव्यङ्ग्यकार तथा फित्कौली अनलाइन पत्रिकाका प्रधान सम्पादक नरनाथ लुइँटेलको अध्यक्षता एवम् सहजीकरणमा सम्पन्न भएको थियो । लुइँटेलले कार्यक्रमको आरम्भमै हास्यव्यङ्ग्यको अभ्युत्थान र प्रवर्धनका लागि फित्कौली अभियानका बारेमा बताउँदै त्यसैको कडीका रुपमा यो कृति प्रकाशित गरेको जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर