काठमाण्डौं २४ जेठ । एक्काइस बर्षदेखि निरन्तर प्रकाशित हुदैँ आएको साहित्यिक द्वैमासिक पत्रिका कल्पतरुको शताङ्क समारोह सम्पन्न भएको छ । बौद्द रामहिटीमा अवस्थित साहित्य सदन नेपालको सभाकक्षमा वुधबार आयोजित समारोहमा विभिन्न साहित्यिक पत्रिकाका सम्पादक र साहित्यकारहरुको उपस्थिति रहेको थियो । २०४१ सालको मदन पुरस्कार विजेता बरिष्ठ साहित्यकार कञ्चन पुडासैनीको प्रमुख अतिथ्यमा सम्पन्न उक्त समारोहमा वियोगी बुढाथोकी, नगेन्द्रराज शर्मा , मोहन दुवाल, रामप्रसाद पन्त , रोचक घिमिरे, विजय चालिसे, वसन्त रिजाल र अन्य साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
समारोहमा अतिथीहरुद्वारा कल्पतरुको शताङ्क विमोचन गरिएको थियो भने कल्पतरुका प्रधान सम्पादक नवराज पुडासैनी ज्योत्स्नाको मुक्तक संग्रह ‘उन्मुक्त ज्योत्स्ना’को लोकापर्ण पनि गरिएको थियो । मुक्तक संग्रहका सम्बन्धमा प्रा. कपिल अज्ञातले भूमिका प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कल्पतरु द्वैमासिकमा २०७९ सालमा प्रकाशित रचनाहरुमध्ये उत्कृष्ट रचनाहरुका सर्जकहरुलाई नगदसहित सम्मान गरिएको थियो । सर्वोत्कृष्ट रचनाको लागि भोजराज रेग्मी मुखालेलाई सम्मान गरिएको थियो भने उत्कृष्ट रचनाका लागि इन्दिरा चापागाँई , मुरारी सिग्देल र जेबी खत्री सम्मानित हुनुभएको थियो ।
कार्यक्रममा कल्पतरु द्वैमासिकले यसै बर्ष घोषणा गरेको कल्पतरु अन्तराष्ट्रिय सम्मान २०७९ डा. ऋषि वस्ताकोटीलाई प्रदान गरियो । पचासको दशकदेखि नेपाली साहित्यका विभिन्न विधामा सक्रिय रही कल्पतरु द्वैमासिकको उत्तर अमेरिका संयोजकको जिम्मेवारी समेत सम्हालिरहनु भएका वस्ताकोटीलाई नेपाली साहित्यको श्रीबृद्दिका लागि उहाँले पुर्याउनुभएको योगदानको कदर स्वरुप कल्पतरु अन्तराष्ट्रिय सम्मान प्रदान गरिएको जानकारी सहभागीहरुमाझ गराइएको थियो । समारोहमा कल्पतरुका बिशिष्ट , आजीवन र विशेष सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।
समारोहको सभापतित्व कल्पतरु द्वैमासिकका प्रधान सम्पादक नवराज पुडासैनी ज्योत्स्नाले गर्नुभएको थियो भने कार्यक्रमको संचालन राजेशमान केसीले गर्नुभएको थियो ।
विकास शैलपुत्र

प्रतिक्रिया

सम्बन्धित खवर