काठमाण्डौ – जेष्ठ १५ सोमबार, बेलुकी ३ बजे एक एक गर्दै जम्मा हुन थाले साहित्यकारहरू । काठमाडौंको नयाँबानेश्वरमा । सोर्हौँ गणतन्त्र दिवसको अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिमपट्टी नयाँबानेश्वर पार्कमा शिखर कवि शैलेन्द्र साकार, कवि मणिराज सिंह, कवि महेशराज खरेलसहित साहित्यकारहरूको उपस्थितिमा चियाको चुस्कीसंगै कविताको कार्यक्रम सुरु भैपनि हाल्यो ।
सभापति मणिराज सिंहले सबैलाई स्वागत गरेर सोर्हौँ गणतन्त्र दिवसको शुभकामना दिदै डा. विप्लव ढकालको रेकर्डेड कविता सुनाएर कार्यक्रम सुरु गरे ।
कार्यक्रममा विशिष्ट अतिथि कवि महेशराज खरेलले आफ्ना २ वटा कविता वाचन गरे । पार्कमा गरिने यस्ता कार्यक्रमले पार्कमा आउनु भएका सबै व्यक्तिहरूमा साहित्यप्रति रुचि बढ्ने भएकोले चिया कविता टीमलाई धन्यवाद दिए । उनले साहित्यकारसित बसेर गौरवान्वित हुने अवसर प्राप्त हुने भएकोले चिया कविताको कार्यक्रम मन परेको बताए ।
उक्त अवसरमा जेष्ठ नागरिक प्रताप थापाले गणतन्त्र ल्याउन हामीले पनि आन्दोलन गरेका थियौँ तर अहिलेका नेताहरूले हाम्रो त्यसबेलाको प्रयासको कदर गरेकोजस्तो अनुभूति जगाउने जेष्टा नगरेकोमा आक्रोश पोखे ।
चिया कविता कार्यक्रममा उपस्थित भएर वरिष्ठ कविहरूको माझमा रचना वाचन गर्न पाउँदा खुशी लागेको अनुभूति व्यक्त गरे रविना स्वार र बिमला स्वारले । साहित्यकारसित संगै बसेर गौरवान्वित हुने अवसर प्राप्त भएकोले चिया कविताको कार्यक्रम मन परेको बताए ।
शिखर कवि शैलेन्द्र साकारले ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराजजीले मेरो आफ्नै क्षेत्र नयाँबानेश्वरमा कार्यक्रम गरेकामा खुशी व्यक्त गर्दै गणतन्त्र दिवसको शुभकामना दिए । प्रमुख अतिथि समेत रहेका साकारले प्रजातन्त्र र गणतन्त्र ल्याउन सडक कविता क्रान्ति, बूट पालिस आन्दोलनमा सहभागी भएको स्मरण गर्दै जनताको काँधमाकाँध जोडेर, जागिरको माया मारेर आन्दोलनमा लागेका बिगत सम्झिए । कवि साकारले एक कविता वाचन गरे ।
चियाको सुर्कोसँगै सुरू भएको कार्यक्रममा हरिप्रसाद न्यौपाने, बालानन्द थपलिया, शम्भू खनाल, दिलिपकुमार थापा, जयसिंह भण्डारी, विजय रोकाया, बद्री खत्री लगायत उपस्थित साहित्य अनुरागीहरूले रचना वाचन गरे ।
गणतन्त्र दिवसको सन्ध्यामा कार्यक्रमका अध्यक्ष मणिराज सिंहले ज्योति साहित्य प्रतिष्ठान काठमाडौंको १९५औँ शृङ्खला र चिया कविताको तेस्रो कार्यक्रम यसरी खुला रूपमा सार्वजनिक पार्कमा गरेर समाजसंग प्रत्यक्ष रूपमा जोडिदैँ गणतन्त्र दिवस मनाउन पाएकोमा खुशी व्यक्त गरे । एक कविता वाचन गर्दै सिंहले कार्यक्रम समापन गरे ।
प्रतिक्रिया
-
४