बोस्टन, अमेरिका – बुद्धजयन्तीको अवसर पारेर लालगोपाल सुवेदीको नविनतम कृति राहुल यसोधरा (गितीनाटक) बिमोचन भएको छ । अमेरिकाको बोस्टन सहरमा वरिष्ठ साहित्यकार तुलसी दिवसले गत २३ गीतिनाटकको लोकार्पण गरेका हुन् ।

आवरण प्रकाशनले २०७९ सालको अन्त्यतिर बजारमा ल्याएको उक्त कृतिमा बुद्धदर्शन, जातक कथा, बौद्ध मिथक र योगमायाले समाजबाट जातीय भेदभाव हटाई मानव मानवबीचको समानतालाई राज्यधर्मका रूपमा स्थापना गर्नुपर्ने माग राणाशासकहरू समक्ष राखेको सन्दर्भलाई नेपाली लोकलयका गीतिगुच्छाद्वारा नाटकीकरण गरिएको छ । राहुल-यशोधरा संवाद पूर्णांकी गीतिनाटक हो भने थप दुई गीतिनाटक अंगुलिमाल र यशोधरा तथा धर्मसभा एकांकी गीतिनाटकहरू हुन् ।

तुलसी दिवसले विमोचन तथा कविताबारेको प्रवचनक्रममा लालगोपालजस्ता प्रतिभाशाली स्रष्टाको कलमले मात्र मिथक र इतिहासमा लुकेका तथ्यलाई वर्तमान समयका जल्दाबल्दा समस्यासंग सन्दर्भित गरी मार्मिक र जीवन्त बनाएर प्रस्तुत गर्न सक्छ भन्दै बालअधिकार , पूर्वीय नारीवाद र समाजिक समस्यालाई जनलयमा प्रस्तुत गरिएकैले पनि उक्त कृतिले नेपाली साहित्य जगतमा उच्च महत्त्व पाउनेछ भन्ने धारणा व्यक्त गरे ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिका अध्यक्ष गोबर्धन पूजाले कृति विमोचनको संस्थागत संयोजकका हैसियतले मन्तव्य राख्ने क्रममा स्रष्टा सुवेदीले अन्तर्मनबाटै गहिरो लगाब राखेर लेखिएको यो कृतिको साहित्यिक मूल्य उच्च छ भन्दै यसबाट डायस्पोरा जगतका स्रष्टा प्रेरित भई साहित्यकर्ममा जाँगर चलाउनुपर्ने धारणा व्यक्त गरे ।

मुख्य वक्ता अनेसास बोस्टनका पूर्व अध्यक्ष तथा चर्चित कवि हरिप्रसाद काफ्ले शैवले स्रष्टा सुवेदीको साहित्यिक जीवनी , व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्दै जम्मा तिसवटा लामा छोटा गीतले बुद्धको मात्र नभई बुद्ध परिवारको जीवनी, बुद्ध दर्शन , हाम्रो पूर्वीय ज्ञान गौरवलाई आजको समसामयिकतासँग जोडेर प्रस्तुत गर्न सक्नु भनेको गागरमा सागर भर्नुजस्तै हो भन्ने धारणा व्यक्त गरे ।

अनेसास बोस्टनका अध्यक्ष महेश्वर पन्तले राहुल- यशोधरा संवाद गीतिनाटक कृतिभित्रका केही गीति पंक्तिहरू सस्वर वाचन गर्दै सुवेदीका पूर्व प्रकाशित दुईवटा गीत संग्रहमा गरिएका अनेक नयाँ नयाँ प्रयोगसँग आफू परिचित भएकाले र सर्सर्ती पठनक्रममा यस कृतिमा पनि नयाँ नयाँ भेटेकाले यस कृतिले सिंगो नेपाली साहित्यबाटै उच्च सम्मान पाउनेछ भन्ने अपेक्षा आफूले राखेको धारणा व्यक्त गरे ।

आफ्नो कृतिको बारेमा बोल्ने क्रममा गीतिनाटककार लालगोपाल सुवेदीले बुद्धजीवनीका आधा दर्जन पुस्तक , जातक कथा , रवीन्द्रनाथ टेगोर र हिन्दी साहित्यका बौद्धदर्शनसम्बन्धी कृति र विपश्यना ध्यानबाट समेत प्रेरित भई यस कृतिको रचना गरिएको र इतिहास र मिथकको कंकालमा वर्तमान नेपालका जल्दाबल्दा समस्यालाई नाटकीय विशेषतासहित लोकलयको सरलता र लालित्यमय निजी मौलिकतामा उतार्ने प्रयत्न आफूले गरेको कुरा व्यक्त गरे ।
पूर्वअध्यक्ष यम पौडेल, साहित्यकारहरू कवि मिलन गुरुंग, ममता कर्माचार्य , अनु शाह ,प्रतीक रावल , प्रकाश खड्का लगायतले पनिनया कृति प्रकाशन भएकोमा खुसी व्यक्त गरे। कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट बोल्दै अनेसास बोस्टनका उपाध्यक्ष विजय शर्माले सुवेदीको निरन्तरको साधनाशैलीबाट बोस्टनको साहित्यजगत् निकै प्रेरित रहेको धारणा राखे ।

कार्यक्रमको दोस्रो चरणमा प्रमुख अतितीय प्रवचनलाई कविताको शक्ति र रचना प्रकृयासंग जोडे । प्रधानमन्त्री, मन्त्री वा उच्च पदस्थ व्यक्ति कार्यकाल समाप्तिपछि भूतपूर्व हुने तर कवि हजारौं वर्षपछि पनि भूतपूर्व नहुने भन्दै कवितालाई सामान्य अर्थमा लिन नमिल्ने धारणा व्यक्त गरे।प्रवचनको अन्त्यमा आफ्ना पौने दर्जन जति कविता प्रभावकारी शैलीमा वाचन गरेर सुनाए । सहभागी स्रोताहरूले साहित्यकार तुलसी दिवस र विमोचित कृतिका सर्जक लालगोपाल सुवेदीको प्रस्तुति आफूहरूका लागि प्रेरणाप्रद र उपलब्धिमूलक रहेको धारणा व्यक्त गरे ।कार्यक्रमको अन्त्यमा आयोजक संस्था अनेसास बोस्टन च्याप्टरले सम्पूर्ण साहित्यकारहरूको सम्मानस्वरूप रात्रीभोजको समेत आयोजना गरेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर