साहित्यकार गणेशकुमार जिसीद्वारा लिखित अरनिको एसिया एक प्रस्तावना पुस्ताकमाथि विमर्श भएको छ । कुश्मा कला परियोजनाको आयोजनामा माझगाउँस्थित शताब्दी घरमा आयोजित पुस्तकमाथि विमर्श र लेखक तथा पाठकबीच संवाद गरिएको छ ।

कार्यक्रममा साहित्यकार इन्द्रमान खत्रीले लेखकले गम्भीर र मौलिक विषयमा कलम चलाएको र नयाँ पुस्ताले अरनिको विषयमा पढ्न र बुझन् पुस्तक गहकिलो सन्दर्भ सामग्री हुने विचार व्यक्त गरे ।

नेपालका ७९ जना कालिगढको नेतृत्व गरी सुरुमा तिब्बतमा रहेको शाक्य गुम्बाको स्वर्ण चैत्य र पछि मङ्गल साम्राज्यका राजा कुब्लाई खानकामा गएर अरनिकोले गरेको कला प्रदर्शनको गहिरो अनुसन्धान गरी लेखकले पुस्तकमा उतारेको साहित्यकार जिसीले बताए ।

मध्यकालीन काठमाडौँ उपत्यकामा जन्मेर राजा जयभीमदेवको पालामा सन् १२६१ मा तिब्बत र चीन गएर अरनिकोले भित्तेचित्र, चैत्य, बौद्ध बिहार, दरबार र मन्दिर निर्माण गरी एसियाभरमा कलाको प्रसार गरेको विषय लेखेकले पुस्तकमा मेहनतसाथ उतारेको साहित्यकार तथा नयाँ विश्वका सम्पादक मुकेश राजभण्डारीले प्रकाश पारेका थिए ।

लेखक गणेशकुमार जिसीले अरनिकोको बारेमा धेरै सामग्री खोज्दा विसं २०४४ मा सत्यमोहन जोशीले प्रकाशन गरेको अरनिको जीवनीबाहेक अन्य प्रकाशन सामग्री फेला नपारेपछि अरनिको बारेमा जान्ने र बुझ्ने हुटहुटीले लेखनयात्रा अगाडि बढाउँदा पुस्तक तयार भएको अनुभव सुनाए ।

अरनिको सामान्य कलाकार मात्र नभइ उनको कला यात्रा बृहत् भएको, चित्रकला, वास्तुकला, मूर्तिकला तथा वैज्ञानिकसमेत भएको हुनाले अरनिकोलाई हामीले बृहत्रूपमा बुझ्नुपर्ने र खोज्नुपर्ने बेला आएको लेखक जिसीले पुस्तक विमर्श कार्यक्रममा धारणा राखे ।

अमेरिकन लेखक आनिजिङ आफ्नो अनुसन्धानपत्रमा अरनिकोलाई ‘बुनिलेस्सी’, ‘माइकेलएन्जेलो’ र ‘लियोनार्दोदा भिन्ची’सँग तुलना गरेको हिसाबले अरनिको प्रतिभा र योगदान अतुलनीय भएको पुस्तक लेख्ने क्रममा आफूले अनुभूति गरेको साहित्यकार जिसीले बताए ।

विसं २०३१ मा पर्वत जिल्लाको गिज्याङ गाउँमा जन्मिएका जिसीले नेपाली कला, साहित्य, संस्कृति, इतिहास, पुरातत्व र अन्तरसांस्कृतिक अध्ययनमा रुचि लिने स्रष्टा हुन् । उनको अहिलेसम्म चारवटा एकल प्रदर्शनी, देश–विदेशमा गरी तीन दर्जन कला प्रदर्शनी, २०६४ सालमा ‘अग्नि यात्रा कविता सङ्ग्रह’ र २०६८ मा ‘सीमान्त अक्षर’ संयुक्त कविता सङ्ग्रह प्रकाशित छन् ।

पुस्तक विमर्श कार्यक्रममा लेखक, साहित्य अनुरागी, कलाप्रेमी र जिज्ञासु विद्यार्थीले पुस्तक र लेखकसँग प्रश्न र जिज्ञासा राखेका थिए । तीन दशकदेखि साहित्य क्षेत्रमा संलग्न जिसी हाल युर्निभर्सल कलेज काठमाडौँको ललितकला विभागसँग आवद्ध छन्। कार्यक्रम कुश्मा कला परियोजनाका अध्यक्ष आरके आदिप्त गिरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर