अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारले आफ्ना नियमित रचना वाचन तथा स्रष्टा भेटघाटको १३०औँ डबली सम्पन्न गरेका छन्।

लामो समयदेखि कतारमा नेपाली भाषा साहित्यको उन्नयन हेतु यी संस्थाहरू सक्रिय रहेका छन्। हरेक महिनाको दोस्रो शुक्रबार नियमित सञ्चालन हुने सो डबली १३ जनवरी २३ शुक्रबारको दिन सम्पन्न भएको हो। कतारको दोहास्थित टर्किस साबा रेष्टुरेण्टको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाश पाठक ‘योगी’को गजल वाचनसँगै सुरु भएको वाचन शृङ्खलामा दिलिप पराजुली, धर्म सन्देश, लिलानाथ घिमिरे, अनवर अलि, शेखर बस्नेत, सुरेश परियार, खेम सुवेदी, माया के सी, लेख कार्की, टीका खड्का ‘राष्ट्रप्रेमी’, प्रेम प्रसाद भट्टराई, दीप मिलन, मणि पौडेल प्रभात त्रिपाठीलगायतकाले आ–आफ्ना रचना वाचन गरेका थिए।

कार्यक्रममा शिखर वैद्य अनेसास पुरस्कारका अघिल्ला अंकहरू नेपालमा हस्तान्तरण गरिएको जानकारी शिखर वैद्य स्मृति कोषका संयोजक प्रेमप्रसाद भट्टराईले जानकारी दिएका थिए। भट्टराईले तेस्रो अंकको पुरस्कारका लागि रूपन्देहीका कवि गिरी शिरीष मगरलाई छनोट भएको जानकारी गराएका थिए। मगरलाई शीघ्र पुरस्कार हस्तान्तरण विशेष कार्यक्रममार्फत गरिने अवगत गराएका थिए।

साथै, उक्त कार्यक्रममा अनेसासका केन्द्रिय अध्यक्ष गोवर्द्धन पूजाको कविता सङ्ग्रह ‘पीडा अवतार’ अनेसास नवोदितलाई हस्तान्तरण गरिएको थियो। कतारबाट अनेसासको आजीवन सदस्यता लिएका सदस्यहरूलाई सदस्यताको प्रमाणपत्र पनि यसै डबलीमा हस्तान्तरण गरिएको थियो।

भाषणरहित उक्त कार्यक्रममा हरेक शृङ्खलाका लागि भिन्नै संयोजक रहने विशेषता रहेको छ। यस् कार्यक्रममा एकजना मात्र विशिष्ट श्रोताको रूपमा आमन्त्रित रहने चलन छ। कार्यक्रम समयमा सुरु भएर समयमै सकिने विशेष विशेषता रहेको पाइन्छ। विशिष्ट श्रोता नदोहोरिने प्रावधान पनि यसै डबली रहेको छ। १३०औँ डबलीका लागि प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाठी रहेका थिए।

त्रिपाठी लामो समयदेखि कतारमा रहेर वैचारिक तथा सामाजिक संघ संस्थामार्फत नेपाली समुदायको सहयोगमा सक्रिय रहेका छन्। कार्यक्रममा बोल्दै गर्दा त्रिपाठी आफू पनि साहित्य र कला संगीतको साधक भएका बताएका थिए। समय मिलाएर कार्यक्रममा नियमित उपस्थितिका लागि प्रतिबद्धता पनि जनाएका छन्। यस् कार्यक्रमको संयोजकमा अनेसास कतारका सचीव दीप मिलन रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर